Comments Add Comment

कथा : चिया, चुरोट र चमेली

‘साहुनी, एउटा चिया !’

‘कालो कि दूधको ?’

‘दूध हालेकै दिनुस् । २४सै घण्टा रक्सी पिउने त बाँचेका छन् । के नै होला र ! अँ साँच्ची, एउटा चुरोट पनि है !’

Pandey-Ashokrajयो प्रत्येक बिहान ७ बजेको रूटिन हो कमरेड साइँलाको । असली नाम श्यामबहादुर अधिकारी । सबैले साइँला दाइ, साइँला कमरेड यस्तै-यस्तै भन्थे ।

प्रत्येक बिहान यस्तै वार्तालाप हुन्थ्यो साहुनी र साइँलाको ! उनी कहिले कालो चिया पिउँथेँ त कहिले दूधको । त्यसैले साहुनी सधैं आउने ग्राहक भए तापनि कुन चिया भनेर सोध्थिन् । साइँला सधैं यसरी नै चुरोट पनि माग्थे ।

लाम्चो अनुहार । झुस्स दारी । सलक्क मिलेको कपाल । जनयुद्ध लडेको हुँ पनि भन्थे तर खासै पत्याइहाल्ने चाहिँ कोही थिएन । तैपनि चिया पसलमा जम्मा भएकालाई उनी दुई चारवटा युद्धको कहानी सुनाइहाल्थे !

आदर्शका कुरा एकदमै घतलाग्दो तरिकाले गर्थे ।

उनको पहिरन सधैँ एउटै हुन्थ्यो । सर्ट-पेन्ट र म्याजिक चप्पल । सात बजेदेखि १०/११ बजेसम्म कमरेड साइँला सधैँ कम्तीमा ५/७ कप कालो र दूध चिया पिउँथे । चिया पसलबाट निस्किँदा खातामा चढाउनू भन्दै निस्कन्थे ।

साहुनी अनुहार खिन्न बनाउँथिन् र साइँला कमरेड निस्किसकेपछि भुतभुताउँथिन् – ‘उधारो १२/१५ हजार भइसक्यो, सधैँ यसै गर्छ !’ उनी ‘यस्ता मान्छे किन आउनु, नदिऊँ भने माओवादी हो’ भन्दै अरु ग्राहकलाई पनि सुनाउँथिन् ।

साहुनीको यो गनगन साइँला कमरेड हिँडिसकेपछि मात्रै हुन्थ्यो । साइँला कमरेडको अगाडि उधारो माग्ने हिम्मत गर्दिन थिइन् । उनीमा पनि युद्धको त्रास थियो सायद ।

साहुनीको यो गनगन कोही मार्फत साइँला कमरेडको कानमा पक्कै परिसकेको हुँदो हो । तर, उनी भोलिपल्ट बिहान उही समयमा त्यहाँ पुग्थे, केही थाहा नपाए जसरी ।

११ बजेपछि उनी कोठामा पुग्थे । दुई वटा स-साना कोठा थिए । दुई सन्तान, श्रीमती र बूढी आमा थिए परिवारमा ।

छोराछोरी बोर्डिङ स्कूल पढ्थे । माओवादी नेताको छोराछोरी भनेर स्कूलले फ्री मा पढाएको छ भन्थे वरपरका छिमेकी ।

श्रीमती अरूको घरमा काम गर्थिन् । उनकै कमाइ र बाबुको नाममा आमालाई आउने पेन्सन थियो आर्थिक स्रोत ! परिवार निकै गाह्रोसँग चलेको थियो ! खाना खाएर उनी फेरि उही हुलिया र पारामा अर्को अड्डातिर लाग्थे ! अड्डा अर्थात् चिया पसलमा ।

त्यहाँ पनि उनी चिया र चुरोट मगाउँथे र बेरोजगारहरूलाई माओवादका दर्शन छाँट्थे । साँझसम्म ५/७ कप चिया र १०/१२ वटा खिल्ली चुरोट तानेपछि बिहानकै चिया पसलमा झैं खातामा लेख्न लगाएर निस्किन्थे । उनी पार्टीको गाउँ कि क्षेत्रीय कमिटीको सचिव थिए क्यार ! सचिव भनेको संगठन विभागको प्रमुख हुन्छ लेनिनवादी संगठनमा ।

उनको यो दैनिकी नै थियो । घरको अभाव र समस्या उनलाई मतलब थिएन वा मतलब नगरेको जस्तो गर्थे, त्यो उनलाई नै थाहा थियो ।

कहिले-कहिले उनी दुई-चार दिन नै हराउँथे । कसैले सोधिहाल्यो भने पार्टीको कामले उपत्यका बाहिर गएको थिएँ भन्थे । उनको यस्तो खालको गतिविधिले पार्टीको लोकप्रियता बढ्नु त परको कुरा, संगठन पनि एक इन्च बढेको थिएन ।

पार्टीका कार्यकर्ता उनको पछाडि पार्टीको संगठन विभाग प्रमुख यस्तो छ भन्दै निराशा व्यक्त गर्थे भने विरोधी पार्टीहरू उनलाई आदर्शवादी र निष्ठावान भन्दै खुबै होस्याउँथे । बेलाबेलामा त उनको चिया अड्डामा २/४ घण्टा बिताउँदै चिया चुरोटको पैसा समेत तिरिदिन्थे ।

उनी पार्टीका नेताहरू माझ चाहिँ लोकप्रिय थिए । मिटिङमा चाँडै पुग्थे र ठूला कुरा गर्थे । पार्टीले जिल्ला कमिटिमा लगेर जिम्मेवारी पनि थपिदियो । तर, कमरेड साइँला चिया अड्डामै व्यस्त हुन्थे । चिया पसलमा पैसा नतिरहेको बाहेक आर्थिक दाग कसैले लगाउन सकेको थिएन ।

संविधान सभाको पहिलो चुनाव आयो । माओवादीप्रति जनताको डर र आश दुवै थियो । उनलाई पार्टीले निर्वाचन क्षेत्रको आर्थिक प्रमुख बनायो । माओवादी डर र आश दुवैले गर्दा जनताले मनग्य चन्दा दिए । तर, उनी चुनावमा बिहानदेखि बेलुकासम्म खट्ने कार्यकर्तालाई दालमोठ, चिउरा र एक छाक सुख्खा खाना खुवाउँथे । कार्यकर्तामा मनोबल घट्दो थियो । पछाडि आलोचना गरे पनि अगाडि भन्न सक्ने कोही थिएन ।

कार्यकर्ता घरदैलो अभियानमा होमिँदा पनि उनी चिया पसल छोड्दैनथे । माथिल्लो नेता र उम्मेदवारले गर्ने घरदैलोमा चाहिँ उनी अगाडि-अगाडि उफ्रँदै हिँड्थे । कार्यकर्तालाई आदर्शका कुरा घोकाउँथे । चुनावमा पार्टीको जमानत जफत हुनबाट बच्यो । अर्थात् उनको निर्वाचन क्षेत्रमा पार्टी तेस्रो भयो । समीक्षा बैठकमा आलोचना भयो कमरेड साइँलाको ! उनले बडो आदर्श र चातुर्यका साथ आफ्नो बचाउ गरे । पार्टी कारबाहीबाट बचे ।

तर, राष्ट्रिय रुपमा पार्टी पहिलो बन्यो । सरकार पनि बन्यो ।

बजारमा चुनावका बेला कमरेड साइँलाले करोडौँ घोटाला गर्‍यो भन्ने गाइँगुइँ हल्ला चल्न थाल्यो । साइँला पनि चिया पसलमा देखिन छाडे । बेलाबेला आक्कलझुक्कल केटीको स्कुटीको पछाडि बसेर हिँडेको देखिन थाल्यो । ती केटी पनि पार्टीकै कार्यकर्ता थिइन् – चमेली । सुरूमा कसैले वास्ता गरेन, किनकि पार्टीमा महिला-पुरुष समानताको सिद्धान्तको नाटकीय अभ्यास थियो ।

चमेली संघर्षशील थिइन् । निडर भएर पार्टीको काममा खुबै लाग्थिन् । आर्थक अवस्था भने नाजुक थियो । चुवावको केही अघिसम्म एउटा कोठामा एउटा बेड, एउटा र्‍याक, २/४ वटा भाँडाकुडा, ग्यास र केही थान किताबहरू थिए । कुनै प्राइभेट संस्थामा काम गर्थिन् । चुनाव आउनु १/२ महिनाअघि पार्टीको कोटामा कमरेड साइँलाले नै राम्रो ठाउँमा जागिर लगाइदिएका थिए । कमरेड साइँला त्यतिबेला आलोचित पनि भएका थिए । स्थानीयलाई जागिर नलगाई भोटर लिष्टमा नामै नभएकालाई जागिर खुवाउने भनेर !

तर, साइँला यस्ता आलोचना एक कानले सुनेर अर्को कानले उडाउँथे । दुई जनाको दोस्तीमाथि शंका-उपशंका नउब्जिएका पनि हैनन् । तर, महान् विचार बोकेको पार्टीमा यस्ता प्रश्न उठाउन सक्ने कसैको आँट थिएन । किनकि कार्यकर्ता प्रशिक्षणका क्रममा भन्ने गरिन्थ्यो – ‘आफ्ना नेतामाथि शंका गर्न पाइए पनि आरोप लगाउन पाइँदैन । आरोप लगाएपछि पुष्टि गर्न पनि सक्नुपर्छ ।’

चमेलीले स्कुटर चढ्न थालेकी थिइन् । फ्ल्याटमा बस्न थालिसकेकी थिइन् । खै कता हो, घडेरी पनि जोडिसकेकी थिइन् भन्थे पार्टीका कमरेडहरू । यो सबै चुनावपछि भएको थियो ।

चुनावपछि आक्कलझुक्कल चिया पसल पुगे पनि पहिले जस्तो धेरै बेर बस्दैनथे । आदर्शका कुरा पनि गर्दैनथे ।

चिया पसलहरूमा उधारो तिर्न बाँकी नै थियो । अब साहुनीले पनि घुमाउरो पाराले बाँकी तिर्नलाई ताकेता गर्न थालेकी थिइन् । कमरेड साइँला नबोली हिँड्थे । घर-परिवारको समस्या उस्तै थियो ।

एक्कासी कमरेड साइँला हराएको हल्ला चल्न थाल्यो । घर-परिवार, पार्टी, नेता-कार्यकर्ता सबैले खोजी गरे । साइँला भेटिएनन् । साइँला हराउँदै गर्दा स्कुटीवाली महिला कार्यकर्ता पनि हराएको हल्ला चल्न थाल्यो । कतिले दुवैजना भागे भन्न थाले । कतिले परिवार भएको त्यति आदर्श र निष्ठावान् नेता भाग्नै सक्दैन भनेर तर्क पनि गरे । तर, कमरेड साइँला बेपत्ता भए । साथमा चमेली पनि !

चिया पसलमा अब मानिसहरूका बीच सधैँ कुरा हुन थाल्यो – ‘एउटा सम्भावना बोकेको आदर्श र निष्ठावान् कमरेड चिया, चुरोट र चमेलीले समाप्त भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment