Comments Add Comment

अजित मिजारको ‘हत्या’मा प्रधानमन्त्रीको चासो, छानविन गर्न गृह प्रशासनलाई निर्देशन

Prahanda,-Narayan-Gopal-Mal

८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रे पाँचखालका दलित युवा अजित मिजारको हत्याबारे छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

बुधबार सिंहदरबारमा दलित अगुवाहरुले मिजारको हत्या भएको भन्दै छानविन समिति बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । बिहान साढे १० बजे ज्ञापनपत्र बुझेलगत्तै प्रधानमन्त्रीले गृहसचिव नारायण गोपाल मलेगो र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई कार्यकक्षमा बोलाएर छानविन समिति बनाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले निर्देशन दिँदै भने, ‘काभ्रे पाँचखालमा दलित युवाको हत्या भएको भन्दै दलित नेताहरुले ज्ञापनपत्र बुझाउनुभएको छ । यसको यथार्थ के हो ? निष्पक्ष छानविनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन समिति बनाउनुस् र आवश्यक कार्वाहीको प्रक्रिया अगाडि बढाउनुहोस् ।’

भेटमा गृहसचिव मलेगो र महानिरीक्षक अर्यालले प्रधानमन्त्रीको निर्देशन बमोजिम तत्कालै छानविन समिति बनाउने प्रतिवद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आफूहरुले ज्ञापनपत्र बुझाएको एक घण्टाभित्रै प्रधानमन्त्री प्रचण्डले गम्भीरता देखाउँदै गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलाएर छानविन गर्न निर्देशन दिएकामा दलित अगुवाहरुले खुसी व्यक्त गरेका छन् ।

नेता तिकल परियारले भने, ‘मिजार हत्याकाण्ड शंकास्पद छ । प्रधानमन्त्रीले चासो दिएर छानविन गर्न निर्देशन दिएकाले सत्यतथ्य बाहिर आउँछ र दोषी कारवाहीको भागिदार हुन्छ भन्ने विश्वास छ ।’

मिजारले गत असार २५ गते गाउँकै एक युवतीसँग अन्तरजातीय बिहे गरेका थिए । तर २७ गते माइती पक्षले जबर्जस्ती छुटाएका थिए । त्यसको दुई दिनपछि धादिङको गजुरीमा मिजारको शव गाडिएको अवस्थामा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment