Comments Add Comment

रानीपोखरीको मन्दिरमा कंक्रिट पिल्लर ! पुरातत्व भन्छ- पाइँदैन

काम रोक्न सक्ने चेतावनी

ranipokhari-new2

८ भदौ, काठमाडौं । रानीपोखरी पुनर्निर्माणमा पुरातात्विक तथा ऐतिहासिक महत्वलाई मेटाउन खोजिएको भन्दै पुरातत्वविदहरु विरोधमा उत्रिएका छन् ।

रानीपोखरीको पुनर्निर्माणमा आधुनिक प्रविधिमा आधारित निर्माण पद्धति रोलर कम्प्याक्टेड कंक्रिट (आरसीसी) तथा रड र सिमेन्टको प्रयोग गरिएको छ । यसले पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच पनि असमझदारी बढेको छ ।

१७ औं शताब्दीमा तत्कालीन राजा प्रताप मल्लले काठमाडौंको मुटुमा बनाएको रानीपोखरी २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भयो । यसको पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरपालिका हुँदै एक ठेकेदार कम्पनीको हातमा पुगेको छ । र, अहिले धमाधम निर्माण चलिरहेको छ । तर, निर्माण पद्धती र सामाग्रीलाई लिएर विरोध भएको छ ।

पुरातत्वविदहरुले अभियान नै चलाएका छन् । अभियन्ता मध्येका एक सुमना श्रेष्ठ भन्छिन्, ‘जुन अवस्थामा छ, त्यसैमा सक्दो प्रयास गरेर संरक्षण गर्ने हो । यहाँ त यस्ता सम्पदामा पनि घर बनाए जसरी आरसीसी गरिँदैछ । यो शतप्रतिशत गलत हो ।’

पुरातत्व विभाग पनि असन्तुष्ट

रानीपोखरी पुनर्निर्माणलाई लिएर पुरातत्वविद् मात्र होइन, पुरातत्व विभाग पनि असन्तुष्ट देखिएको छ । उसले रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा कंक्रिट प्रयोग नगर्न निर्माणको जिम्मा लिएको काठमाडौं महानगरपालिकालाई चेतावनी दिएको छ ।

ranipokhari-new3

तलाउको पर्खालमा सिमेन्ट प्रयोग गर्दा उसले केही भनेको थिएन । निरन्तर पानी जम्ने भएकाले बलियो होस् भन्नका लागि पर्खालमा कंक्रिट प्रयोग गर्न दिएको विभागको तर्क छ ।

तर, अहिले मन्दिरमा नै आरसीसी पिल्लर उठाएर मापदण्ड मिचेको पुरात्व विभागका एक उच्च अधिकारीले बताए । ‘हाम्रो डिजाइनमा मन्दिरका कुनै भागमा कंक्रिट प्रयोग गर्ने योजना थिएन । तर, महानरपालिकाले कंक्रिट पिल्लर उठाएपछि हामीले पत्र लेखेका छौं,’ विभागका एक अधिकारीले अनलाइनखबरसँग भने ।

जबकि पुरातात्विक सम्पदाको पुनर्निर्माण ठेकेदारमार्फत नगराउन दिएको सुझावलाई अस्वीकार गर्दै विभागले रानीपोखरीलाई पार्कका रुपमा विकास गर्ने महानगरपालिकाको योजना स्वीकृत गरेको थियो । जसको निर्माण ठेकेदार कम्पनीले पाएको छ ।

महानगर भन्छः कंक्रिट पिल्लर स्वाभाविक

काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने पहिले नै रानीपोखरीमा सिमेन्ट प्रयोग गरिएकाले अहिले कंक्रिट पिल्लर उठाउनु स्वाभाविक भएको बताए ।

‘यसलाई हेर्दा पहिलेको जस्तो नै बनाउने हो । तर, अर्को भूकम्पले पनि भत्किने गरी यसको पुनर्निर्माण गर्ने होइन, त्यसैले सिमेन्टसहित आरसीसी गरिएको हो,’ उनले भने ।

प्रवक्ता कार्कीले रानीपोखरीको पुनर्निर्माणमा सबै त्यहाँका पुराना वस्तुहरु नै प्रयोग भइरहेको दाबी गरे ।

तस्वीर: इम्प्याक्ट प्रोडक्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment