Comments Add Comment

एसीसी ‘ब्यूँतिदा’ नेपाली क्रिकेटलाई कति फाइदा ?

Acc-Office

८ भदौ, काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले हालै श्रीलंकामा हेडक्वाटर स्थापनाको घोषणा गर्‍यो । र, यसलाई एसीसी फेरि ‘ब्यूँतिएको’ मानिएको छ ।

कसरी स्थापना भयो एसीसी ?

भारत र पाकिस्तान एकअर्काको देशमा आउन नसक्ने भएपछि दुबईको सारजाहमा खेल्न थाले । त्यहीबेलादेखि नै क्रिकेटको टेलिभिजन लाइभ हुन थाल्यो । पछि श्रीलंकालाई पनि थपेर एसिया कप गर्ने उद्देश्यसहित एसीसी स्थापना भयो ।

१९८३ मा स्थापना भएको एसीसीमा हाल चार टेष्ट नेशनसहित २५ देश पूर्ण सदस्य छन् । र, यसको अध्यक्षता टेष्ट देशले हरेक २ वर्षमा पालैपालो गर्ने सहमति भएको छ ।

एसीसीको मुख्य आयश्रोत एसिया कप हो । तर, पछिल्लो पटक एन श्रीनिवासन आइसीसीको अध्यक्ष भएपछि उनले एसीसीलाई कमजोर बनाउने प्रयास गरे । उनले एसीसीसहितका क्षेत्रीय निकायहरुले गर्ने सबै काम आईसीसीले नै गर्ने योजना अघि सारे ।

जसको मुख्य उद्देश्यको क्रिकेटको धेरै फण्ड ‘बिग थ्री’ भारत, अष्ट्रेलिया र इंग्ल्याण्डले पाओस् भन्ने देखिन्छ । र, एसीसीको क्वालालम्पुरमा रहेको कार्यालय बन्द भयो र, आइसीसी अन्तरगत रहने गरी सिंगापुरमा कार्यालय खोलियो ।

सिंगापुरमा कर कम तिर्नु पर्ने भएकाले आईसीसीले त्यहाँ कार्यालय खोलेको थियो । र, बन्दुला बर्नापुरालाई डेभलोपमेन्ट म्यानेजर बनाएर यो सिजन हेर्ने जिम्मा दिइएको थियो ।

तर, एसीसी रिजनका देशहरुले एसीसीको सक्रियता आवश्यकता महसुस गरे । लामो समय अनौपचारिक छलफलपछि उनीहरुले हालै मात्र हेडक्वाटर स्थापना गरे । कार्यालय सञ्चालनका लागि १० वर्षसम्म श्रीलंका क्रिकेट र सरकारले खर्च व्यहोर्नेछ ।

पूर्ण सदस्यताको मान्यता

कोलम्बोमा बसेको एसीसीको बैठकमा नेपाल क्रिकेट संघ क्यानको निर्वाचित कमिटीका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल सहभागी भएका थिए ।

आईसीसीले क्यानलाई निलम्बन गरेको छ । तर, एसीसीले भने उसले केही फरक नपर्ने बताएको प्याकुरलले दाबी गरे । ‘आईसीसीले आफ्नो कारणले निलम्बन गर्‍यो होला तर, एसीसीले त्यसलाई नै मान्नुपर्छ भन्ने छैन भनेर अध्यक्षले भन्नु भएको छ’ बैठकमा सहभागी भएर फर्किएका प्याकुरेलले अनलाइनखबरसँग भने ।

आफूहरुले नेपाल क्रिकेट संघको विवाद र क्यान निलम्बनबारे आफ्नो धारणा राख्दै निलम्बन हटाउन आइसीसीलाई दबाव दिन समेत माग गरेको उनले बताए ।

नेपाललाई के फाइदा ?

पछिल्लो समय नेपाल क्रिकेट संघ क्यानलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले निलम्बन गरेको छ ।

नेपाली राष्ट्रिय टोलीले अन्तराष्ट्रिय प्रतियोगिता त खेल्न पाएको छ । तर, क्रिकेटको विकासका क्षेत्रमा कुनै काम हुन सकेको छैन । न त घरेलु प्रतियोगिताहरु नै भएको छ । एसीसी नहुँदा नेपालले खेल्ने अन्तराष्ट्रिय प्रतियोगिताहरु पनि घटेको थियो ।

तर, एसीसी फेरि सक्रिय भएपछि नेपाली क्रिकेटले पनि केही आश गरेको देखिएको छ । अहिले आईसीसीले डेभलोपमेन्ट र एक्जुकेटिभ बडी बनाएको छ । र, यो वर्षको अन्त्यसम्ममा आफ्नो खेल तालिकाहरु सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

बैठकमा सहभागीहरुका अनुसार एसीसीले आयोजना गर्ने प्रतियोगिताहरुमा नेपालको सहभागिता रहनेछ । साथै प्रशिक्षण, अम्पायर तालिमका साथै क्रिकेट विकासका क्षेत्रमा एसीसीले आफ्ना सदस्य देशहरुलाई सहयोग गर्दै आएको छ ।

यद्यपी अब कसरी अघि बढ्छ भन्ने प्रश्न खाका आइसकेको छैन । नेपाल क्रिकेट संघ स्रोतका अनुसार २०१३/१४ तिर नेपालले एसीसीबाट झण्डै २ करोड सहयोग पाउने गरेको थियो । यो रकम महिला क्रिकेट, यू-१९ लगायतका नाममा आउँथ्यो ।

निर्वाचित क्यानका महासचिव प्याकुरेल भन्छन्, ‘एसीसीको सक्रियताले नेपाललाई फाइदा नै गर्छ ।’ आइसीसीले भने झण्डै ८ करोड दिँदै आएको थियो । जुन, लामो समयदेखि रोकिएको छ ।

तत्काल नेपालमा प्रतियोगिता आउँदैन

एसीसीको सक्रियतासँगै यो क्षेत्रमा प्रतियोगिताहरु बढ्ने सहज अनुमान लगाउन सकिन्छ । र, यो क्षेेत्रमा चार टेष्ट नेशनबाहेकका क्रिकेट कन्ट्रीमा नेपालको नाम अगाडि आउँछ ।

तर, आइसीसीले निलम्बन गरेकाले नेपालमै तत्काल प्रतियोगिता भइहाल्ने अपक्षा गर्न गाह्रोछ । एसीसीले बनाएको डेभलोपमेन्ट र एक्जुकेटिभ कमिटीमा नेपालको सहभागिता छैन ।

नेपालले यससअघि नै एसीसीको डेभलोपमेन्ट कमिटीको सदस्य भएर काम गरिसकेको थियो । तर, अहिले आइसीसीको निलम्बनमा भएकाले सदस्य देशहरुले असहज महसुस गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment