Comments Add Comment

नेपालमा किन खुल्दैनन् विदेशी बैंकका शाखा ?

Bank

८ भदौ, काठमाडौं । व्यावसायी डा. रुप ज्योतिले २०५३ सालतिर नेपालमा कोरियन हाना बैंकको शाखा स्थापना गर्ने प्रयास गरे । हाना बैंकले राष्ट्र बैंकलाई आफूले शाखा स्थापना गर्न चाहेको भन्दै औपचारिक पत्र पनि पठाएको थियो । तर, ज्योतिको प्रयास सफल भएन ।

त्यस्तै, तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र वीरविक्रम शाहको इच्छामा ०५५ सालतिर चीनको बैंक अफ चाइनाको शाखा पनि भित्र्याउन खोजियो । त्यसबेला, बैंक अफ चाइनाले पनि शाखा स्थापना गर्न चाहेको पत्र पठाएको थियो । अन्ततः त्यो प्रयास पनि सफल भएन ।

कामभन्दा हल्ला बढी

विदेशी बैंकले नेपालमा शाखा स्थापना गर्न औपचारिकरुपमा इच्छा व्यक्त गरेका यी दुई बैंकले मात्रै हुन् ।

गत चैत पहिलो साता नेपाल राष्ट्र बैंक र चीनको केन्द्रीय बैंक चाइना बैंकिङ रेगुलेटरी कमिशनका गभर्नरबीच नियमनसम्बन्धी सूचना आदानप्रदान गर्ने सम्झौता भयो । योसँगै दुई देशबीच एक अर्काका देशमा बैंकका शाखा स्थापना गर्न बाटो पनि खुल्यो ।

त्यसो त, नेपाल विश्व व्यापार संगठनमा प्रवेश गरेपछि नै विदेशी बैंकका शाखा खोल्न पाउने व्यवस्था खुल्ला भएको थियो । तर, दुई देशका केन्द्रीय बैंकबीच सूचना आदानप्रदान गर्ने सम्झौता नभएकाले शाखा खोल्न कठिन थियो ।

चिनियाँ केन्द्रीय बैंकसँगको सम्झौतासँगै चिनियाँ बैंक नेपालमा शाखा स्थापना गर्न इच्छुक भएको चर्चा फेरि पनि चुलियो ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले पनि चिनियाँ बैंकहरु नेपालमा शाखा खोल्न इच्छुक रहेको सार्वजनिक वक्तव्य नै दिएका थिए । तर, त्यसयता कुनैपनि चिनियाँ बैंकले औपचारिकरुपमा कुरा उठाएका छैनन् ।

‘नेपालमा विदेशी बैंकका शाखा र काठमाडौंमा मेलम्चीको पानी आउने कुरा कामभन्दा बढी हल्लामात्रै भयो,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले अनलाइनखबरसँग भने ।

यद्यपि चिनियाँ बैंकले अनौपचारिक च्यानलमार्फत् नेपालमा शाखा खोल्न इच्छा देखाउँदै आएको भने सत्य भएको केन्द्रीय बैंकका अधिकारीहरु बताउँछन् ।

‘विभिन्न एजेन्टहरुमार्फत् चिनियाँ बैंकले शाखा स्थापना गर्न इच्छा व्यक्त गरिरहेका छन्,’ राष्ट्र बैंकका बैंक सुरपरिवेक्षण विभागका एक अधिकारीले भने ।

राष्ट्र बैंकका अधिकारीहरुले पनि विदेशी बैंक नेपाल आउन सक्ने भन्दै विगत ५/६ वर्षदेखि सबै हिसाबमा बलियो हुन बैंक तथा वित्तीय संस्थाहरुलाई सचेत गराउँदै आएका छन् ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको न्यूनतम चुक्ता पुँजी ४ देखि ८ गुणाले बढाउने घोषणा गरेका गभर्नर डा. नेपालले विदेशी बैंक आउने सम्भावना रहेको र उनीहरुसँग प्रतिस्पर्धा गर्न पुँजीको आधार बलियो हुनुपर्ने आवश्यकता रहेको तर्कसमेत दिएका थिए ।

नेपालमा शाखा खोल्न विदेशी बैंकहरु इच्छुक देखिए पनि यहाँको कारोबारको आकार देखेपछि आफूलाई फाइदा नहुने निश्कर्ष निकाल्दै उनीहरु व्याक फर्किने गरेको राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले अनलाइनखबरलाई बताए ।

‘विदेशी बैंकले हाम्रो देशको वार्षिक बजेटभन्दा बढी कारोबार गर्छन्, त्यसैले यति सानो बजारमा आफूलाई फाइदा हुने नदेखेर उनीहरु व्याक भएको इतिहास छ,’ श्रेष्ठले भने ।

तर, राष्ट्र बैंकले विदेशी बैंकलाई नेपाल भित्र्याउन चाहेको उनले बताए । ‘विदेशी बैंकका शाखा नेपालमा आएभने प्रतिस्पर्धा बढ्थ्यो र नेपालका बैंकहरु पनि अझै बलिया हुन्थे, कल्चर सिक्थे,’ उनले भने, ‘हाम्रो उद्देश्य भनेको जसरी भएपनि नेपालका बैंक वित्तीय संस्थाहरुलाई बलियो बनाउनु हो ।’

चिनियाँ बैंक आवश्यक

पछिल्लो समय नेपाल र चीनबीचको व्यापार बढ्दै गएकाले नेपालमा चिनियाँ बैंकको आवश्यकता रहेको महशुस गरिएको छ । चिनियाँ बैंकको शाखा नहुँदा चीनसँग व्यापार गर्ने व्यावसायीहरुले भुक्तानीका लागि झन्झट भोग्नु परेको नेपाल चाइना चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

‘नेपालमा चिनियाँ बैंकको शाखा हुने हो भने नेपाल-चीनको व्यवसाय विस्तारमा ठूलो योगदान पुग्थ्यो,’ श्रेष्ठले भने । नेपालमा चिनियाँ बैंकको उपस्थिति आवश्यक रहेको भन्ने व्यवसायी श्रेष्ठको कुरामा डेपुटी गभर्नर श्रेष्ठ पनि सहमत छन् ।

२० अर्ब चुक्ता पुँजी

विदेशी बैंकका प्रतिनिधि वा अन्य कुनै पनि कार्यालयले राष्ट्र बैैंकले तोकेअनुसार मात्रै काम गर्न पाउनेछन् । राष्ट्र बैंकले नेपालमा खुल्ने विदेशी बैंकका शाखाको चुक्ता पुँजी २० अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।

अहिले नेपाली बैंकहरुले ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउँदा त अर्थतन्त्रको आकार सानो भएकाले नाफा नहुने भन्दै गुनासो गर्दै आएका छन् । यस्तो अवस्थामा विदेशी बैंकले २० अर्ब चुक्ता पुँजी राखेर कति नाफा कमाउन सक्छु भन्ने विश्लेषण नगर्ने कुरै भएन ।

त्यसैगरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) अनुसार कुनैपनि राष्ट्र बैंकबाट स्वीकृतप्राप्त विदेशी बैंकका शाखालाई नेपाली बैंक तथा वित्तीय संस्था सरह मानिने प्रावधान छ ।

त्यस्तै, विदेशी बैंक वा वित्तीय संस्थाको शाखाको काम, कर्तव्य, अधिकार, जिम्मेवारी, दायित्व, जायजेथा, लेखा आदि काम कारबाहीको जिम्मेवारी लिने तथा त्यस्तो काम कारबाही सम्पादन गर्ने पदाधिकारी तथा कर्मचारीहरुको जिम्मेवारी सम्बन्धमा राष्ट्र बैंकले आवश्यक निर्देशन दिन सक्नेछ ।

होलसेल बैंकिङमात्रै गर्न पाउने

नेपालमा शाखा खोल्ने कुनै पनि विदेशी बैंक तथा वित्तीय संस्थाका शाखाले ‘होलसेल (थोक) बैंकिङ कारोबार’ मात्रै गर्न पाउने छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ को विधेयकमा विदेशी बैंकका शाखाले नेपाली बजारमा खुद्रा बैंकिङ कारोबार गर्न नपाउने उल्लेख छ ।

‘विदेशी बैंकका शाखाले संस्थागत निक्षेप लिने र संस्थागत नै लगानी गर्नुपर्ने हुन्छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘हामीले त्यस्ता शाखालाई १० करोडभन्दा कमको कारोबार गर्न नदिने कि भनेर सोचेका छौं । कति रकमको मात्रै कारोबार गर्न पाउने भन्ने विषयमा राष्ट्र बैंकले पछि निर्देशन जारी गरेर तोक्छ ।’

शाखा बन्द गर्न स्वीकृति लिनुपर्ने

नेपालमा खुलेका विदेशी बैंकका शाखाले आफ्नो शाखा बन्द गर्नु परेमा राष्ट्र बैंकको स्वीकृति लिएर शाखाको सम्पूर्ण दायित्व भुक्तानी गरेर मात्र आफ्नो शाखा बन्द गर्नसक्ने कानूनी प्रावधान छ ।

‘शाखाको नियमित कारोबारको सिलसिलामा बाहेक विदेशी बैंक वा वित्तीय संस्थाको शाखाको कुनै पनि पदाधिकारी वा कर्मचारीले त्यस्तो शाखाको कुनै सम्पत्ति अर्को मुलुकमा स्थानान्तरण गरेमा, सोको स्वीकृति दिएमा, त्यसो गर्न अख्तियारी दिएमा वा सो कार्यलाई मद्दत गर्ने वा पुग्ने कुनै कार्य गरेमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ,’ बाफिया विधेयकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment