Comments Add Comment

देउवालाई पालोको पैंचो तिर्दै रामचन्द्र पौडेल

पौडेलको माग ६०/४० को भागवण्डा चाहियो

Sher Bahadur Deuba and Ramchandra Paudel९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मन्त्रालय भागवण्डामा वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउने प्रयासमा छन् । तर, उनी लगातारको प्रयास सफल भइरहेको छैन ।

जसका कारण कांग्रेसले आफ्ना भागमा परेको १३ मध्ये बाँकी ११ मन्त्रालयमा मन्त्री सिफारिस गर्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् विस्तारका लागि एक सातादेखि कुरिरहेका छन् । तर, सत्तारुढ प्रमुख घटक कांग्रेसले मन्त्रीहरुको नाम सिफारिस गर्न सकेको छैन ।

के हो पौडेलको माग ?

मन्त्री भागवण्डाबारे देउवाले आफैं र सरकारमा पार्टीको नेतृत्व गरेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीमार्फत वरिष्ठ नेता पौडेलसँग निरन्तर कुरा गरिरहेका छन् । तर, कुरा मिलिरहेको छैन ।

पौडेल समूहले ६०/४० को भागवण्डा खोजिरहेको छ । त्यसमाथि सभापति देउवाले सुरुमा पौडेलसँग तीन मन्त्रीको नाम मागेपछि आफ्नो समूहबाट ‘विद्रोह’ गरेर गएका कृष्णप्रसाद सिटौला समूहको अस्तित्व स्वीकार गरेकोमा असन्तुष्ट पौडेललाई आक्रोशित बनाएको छ । र, पौडेलले प्रचण्ड सरकारमा कम्तिमा ५ मन्त्री र चार राज्यमन्त्री आफ्नो समूहबाट हुनुपर्ने मागलाई बटमलाइन नै बनाएको छ ।

पार्टी महाधिवेशनमा सहयोग लिएका खुमबहादुर खड्का समूहले पनि एक मन्त्री दाबी गर्दै आएको छ । पौडेल समूहलाई पाँच, सिटौला र खुमबहादुर समूहलाई एक-एक मन्त्रालय दिँदा देउवा आफैं समस्यामा पर्नेछन् । किनकि संस्थापन समूहमै पनि मन्त्रीका आकांक्षी धेरै देखिएका छन् ।

पालोको पैंचो तिर्दै रामचन्द्र

कांग्रेसमा भागवण्डाको राजनीति नयाँ होइन । ०५९ मा फुटेको कांग्रेस -गिरिजाप्रसाद कोइराला) र कांग्रेस प्रजातान्त्रिक (देउवा)बीच एकता भएपछि भागवण्डाको राजनीति संस्थागत भएको थियो ।
देउवाले सँधै पार्टीमा भाग खोजे । पार्टीको महाधिवेशनमा पटक-पटक हारे तर, उनले पार्टीमा ४० प्रतिशत भाग सधैं खोजिरहे । अवस्था यस्तोसम्म आयो कि रामचन्द्र पौडेल संसदीय दलको नेता हुँदा पनि उनी पार्टीबाट सर्वसम्मत प्रधानमन्त्रीको उम्मेदवार बन्न सकेनन् । देउवाले बहुमतीय भए पौडेल र सहमतीय भए आफू प्रधानमन्त्रीको उम्मेदवार हुने निर्णय पार्टीबाट गराए ।

१३ औं महाधिवेशनको पूर्वसंध्यामा सुशील कोइरालाको निधनपछि तत्कालीन संस्थापन पक्षको नेता रामचन्द्र पौडेल बने । तर, महाधिवेशन हारे । र, देउवा संस्थापन तथा रामचन्द्र पौडेल प्रतिपक्षी नेता बने ।

र, अहिले मन्त्री भागवण्डामा पौडेलले देउवाको पुरानो शैली अपनाएका छन् । अर्थात पालोको पैंचो तिर्दै छन् । पौडेल निकट एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने, हामी त कुनै हालतमा पछि हट्दैनौं, भनेको अनुसार भए मन्त्री पठाउँछौं, नभए सरकारमा हाम्रो सहभागिता रहँदैन ।’ उनले अघि भने, हिजो शेरबहादुर दाइले त संख्या मात्र होइन, मन्त्रालयसमेत तय नभएसम्म नाम दिनुहुन्नथ्यो ।
उसोभए पालोको पैँचो तिर्दै हुनुहुन्छ ? यो प्रश्नमा उनले हाँसेर सहमति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment