Comments Add Comment

हाइड्रोपावरमा पहिलो मर्जर, अरुण भ्याली र अरुण कावेली गाभिने

Arun Valley and Arun Kabeli Murger
९ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबीच भएको मर्जर र एक्वायर त सुनेकै हो । तर, अब जलविद्युत कम्पनीहरु पनि मर्जरमा जान थालेका छन् । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र अरुण कावेली पावर लिमिटेड एकापसमा मर्ज हुने भएका हुन् ।

अरुण कावेलीको बुधबार बसेको सञ्चालक समितिको बैठकले अरुण भ्यालीसँग मर्जर वा एक्वायरमा जाने निर्णय गरेको हो ।

सञ्चालक समितिको उक्त निर्णय माथि आवश्यक छलफल गरी मर्जर वा एक्वायरमा जाने अधिकार सञ्चालक समितिलाई दिने प्रस्तावसहित कम्पनीले आगामी असोज १ गते विषेश साधारणसभा बोलाएको छ । साधारणसभाले पारित गरेपछि मात्रै कम्पनीको उक्त प्रस्ताब पारित हुनेछ ।

अरुण भ्यालीले यसअघि नै साधारणसभाबाट मर्जर वा एक्वायरमा पाने निर्णय गरिसकेको छ ।

दुबै कम्पनीका अध्यक्ष रहेका गुरुप्रसाद न्यौपाने हुन् । उनी नेपालमा सबैभन्दा धेरै जलविद्युत उत्पादन गर्ने निजी क्षेत्रका प्रवर्द्धक हुन् । जलविद्युतमा लगानी गर्नेहरु पलायन भइरहेका बेला न्यौपाने आफूले कम्पनीलाई मर्जरमा लगेर अझ बलियो बनाउन लागेको बताउँछन् ।

मर्जरपछि कम्पनीको नाम अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहने बताइएको छ । एक बराबर एकको स्वाप रेसियामा निर्धारण गर्ने तयारी भइरहेको छ ।

अरुण भ्यालीले संखुवासभामा रहेको पिलुवा खोलाबाट ३ मेगावाट विद्युत उत्पादन गरि राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ । त्यसैगरी, अरुण कावेलीले ताप्लेजुङमा २५ मेगावाट उत्पादन क्षमताको क्षमताको कावेली बी-१ आयोजना निर्माण गर्न लागेको छ ।

अरुण भ्यालीको चुक्ता पुँजी ७७ करोड रहेको छ भने अरुण कावेलीको चुक्ता पुँजी १५० करोड रहेको छ । अरुण भ्यालीले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरिसकेको छ । मर्जरपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment