Comments Add Comment

कांग्रेसलाई कुर्दै प्रधानमन्त्री, सचिवालय भन्छ- आज मन्त्रिपरिषद विस्तार हुँदैन

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको सूची नबुझाएपछि बिहीबार पनि मन्त्रिपरिषद विस्तारमा अन्यौल भएको छ । कांग्रेसले बुधबार नै प्रधानमन्त्री प्रचण्डलाई सूची बुझाउने बताएको थियो । तर, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच भागबण्डा नमिलेपछि मन्त्रिपरिषद विस्तारमा विलम्ब भएको छ ।

sherbahadur and prachandaप्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार चक्रपाणी खनाल (बलदेव)ले अनलाइनखबरसँग भने, ‘अझै केही टुंगो छैन । विस्तार गर्नुपर्ने त छ तर कांग्रेसबाट नाम नआएकाले निर्णय भएको छैन ।’

प्रधानमन्त्री प्रचण्ड अहिले कांग्रेसबाट सरकारमा सहभागी हुनेहरुको नामावलीको प्रतिक्षामा रहेको उनको सचिवालयले जनाएको छ ।

‘हामी नाम कुरिरहेका छौं । प्राप्त हुनासाथ मन्त्रिपरिषद विस्तार हुन्छ,’ प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले अनलाइनखबरसँग भने, ‘सरकारलाई पूर्णता दिन प्रधानमन्त्री आतुर हुनुहुन्छ ।’

देउवा र पौडेल पक्षबीच मन्त्रीको भागबण्डामा कुरा मिलेको छैन । पौडेलले ‘सम्मानजनक स्थान’ नपाएको भन्दै नामावली दिएको छैन । कांग्रेसले पाएको १३ मन्त्रालयमध्ये हाल सरकारमा विमलेन्द्र निधि र रमेश लेखकमात्रै छन् ।

अब बाँकी ११ मन्त्रीमध्ये पौडेल पक्षले पाँच जना दावी गरेको छ । पौडेल पक्षले मागेअनुसार दिन देउवा लचिलो देखिएको स्रोतले जनाएको छ ।

कृष्णप्रसाद सिटौला पक्षले भने आफूले पाएको एक पदमा गगन थापा वा भिमसेनदास प्रधानलाई मन्त्री बनाउने चर्चा छ ।

मन्त्रिपरिषद विस्तारको विषयमा बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता एवम् उपप्रधानमन्त्री विमलेन्द्र निधिबीच छलफलसमेत भएको थियो । तर, निधिले मन्त्री बन्नेहरुको नामावली प्रचण्डलाई नबुझाएको प्रधानमन्त्रीका सहयोगीले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डका सहयोगी मनहरी तिमल्सिनाले भने, ‘कांग्रेसबाट नामावली अहिलेसम्म आएको छैन । आइहाले पनि सार्बजनिक विदा भएकाले आज मन्त्रिपरिषद विस्तार हुँदैन ।’

कांग्रेस सभापति देउवा शुक्रबार स्वास्थ्य उपचारका लागि सिंगापुर जाने भएकाले उनी प्रस्थान गर्नु अघि नै मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डले तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment