Comments Add Comment

चिनियाँ राष्ट्रपति नेपाल आउँदा के हुन्छ ?

सन् २०१५ को अन्त्यतिर अमेरिकी राष्ट्रपति बराक ओबामाले केन्याको भ्रमण गर्दैगर्दा विश्व मिडियामा त्यसले ठूलै ठाउँ पायो । विश्व राजनीति र अमेरिकी राष्ट्रिय स्वार्थलाई नजिकबाट नियाल्ने हो भने यसले कुनै संकेत दिँदैन । यो त ओबामाले आफ्नो रगतको नाता र माटोमाथि देखाएको सम्मान मात्र लाग्नेछ ।

त्यस्तै, चिनियाँ राष्ट्रपति सी जिनपिङले यदि नेपाल भ्रमण गरेमा यस्तै लाग्नेछ, राजनीतिक स्वार्थरहित । तर, अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्तहरु र कूटनीतिले यो भ्रमणलाई बिना स्वार्थको पुष्टि हुन दिने छैन, नेपाल अनि चिनियाँ दृष्टिकोण दुवैबाट ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले प्रत्यक्ष रुपमा नेपालको आर्थिक विकासमा जादुको छडी जसरी एक निमेषमै सुधार गर्नेछ भन्ने होइन । तर, त्यसबाट नेपालको अस्तित्वमा बेग्लै आयाम थप्नेछ । नेपाल एक सार्वभौमिक राष्ट्र भएको र विश्व राजनीतिको एक महत्वपूर्ण अंश हो भन्ने नयाँ डिस्कोर्सको उदय भने पक्कै गराउनेछ ।

राष्ट्रपति सी को नेपाल भ्रमणमा सायद चीनसँगको स्वार्थ पक्कै पनि जोडिनेछ । तर, आफूलाई विश्वशक्तिका रुपमा चिनाउने प्रयासमा अग्रसर चीनले नेपाल जस्तो, उनीहरुका लागि कम महत्व राख्ने (एक चीन नीति र स्ट्रिङ अफ पर्ल्स बाहेक) राष्ट्रको औपचारिक भ्रमण गर्नु आफैंमा नेपालप्रति गरेको सम्मान देखिनेछ, हुनेछ ।

नेपालसँगको सुमधुरताः चीनको पनि जित

नेपाल-चीन सम्बन्धमा जति धेरै सुमधुरता बढ्नेछ, त्यसमा नेपाल सँगसँगै चीनले पनि फाइदा लिन सक्ने प्रशस्त अप्रत्यक्ष ठाउँहरु छन् । हाल सालै रसियाबाट प्रकाशित हुने मस्को टाइम्सको एक लेखलाई उद्धृत गर्ने हो भने, अन्तर्राष्ट्रिय राजनीतिमा प्रायः ठाउँ ओगटिरहने ‘फ्री तिब्बत मुभमेन्ट’का खातिर पश्चिमा राष्ट्रहरुले वाषिर्क अर्बौं डलर खर्च गरिरहेका छन् ।

Saroj Aryalत्यसबाहेक आश्रय, विरोध वा मागको छुट, अन्तर्राष्ट्रिय सभा-सम्मेलन, अदालत आदिमा मानव अधिकारको अवस्थालाई औंल्याउँदै चीनप्रति गरिने प्रश्न पनि पश्चिमाहरुले एक चीन नीतिको विरुद्धमा गरेको लगानी नै हो ।

विज्ञहरुलाई साक्षी राख्ने हो भने युरोपको कुनै शहरमा फ्री तिब्बतको समर्थनमा निकालिएको जुलुश काठमाडौंमा निकाल्न यदि कोही सफल हुन्छ भने यो आन्दोलनले अर्कै नयाँ मोड लिइसकेको हुनेछ । नेपाल-चीनको निकटता यसकै प्रमुख कारण हो ।

चाहेर वा नचाहेर नेपालले लिएको एक चीन नीतिप्रतिको अडानमा चीन सधैं आभारी हुनेछ । नेपालले फ्री तिब्बतको लागि जुन दिनसम्म आफ्नो भूमि प्रयोगमा आउन दिँदैन, विश्वको अरु कुनामा भएका यस्ता आन्दोलनले कम महत्व राख्नेछन् ।

यससँगै चीनले आजको दिनसम्म आर्थिक समृद्धि मात्रै हासिल गरेको छ । यदि ऊ मैदानमा अमेरिका जस्तो राष्ट्रको बराबरीमा आउन चाहान्छ भने आर्थिक समृद्धि सो प्रतियोगिताको एक पाटो मात्रै हो । आम बुझाइमा पैसाको कारणले मात्रै अमेरिका शक्तिशालि हो भन्ने बुझ्नु गलत हो । आर्थिक रुपमा अत्यन्तै समृद्ध र प्रतिव्यक्ति आय अमेरिकाको भन्दा बढी भएको लग्जेम्बर्ग भन्ने युरोपेली राष्ट्रलाई सायद धेरैले चिन्दैनन् । यसको मतलब, पैसा सँगसँगै अन्तर्राष्ट्रिय घटना-परिघटनाहरुमा निर्णय तथा प्रभावको अधिकार राख्न पनि सक्नुपर्छ ।

सँगै भाषा र संस्कृतिले पनि यसमा आफ्नो भूमिका निर्वाह गरिरहेका हुन्छन् । लेम्यान दृष्टिबाट हेर्ने हो भने हाललाई माथि उल्लिखितमध्ये चीनसँग पैसा बाहेक सायद अरु कुरा छैन ।

यदि चीन साँच्चै शक्ति प्रदर्शनको दौडमा उत्रन चाहन्छ भने आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक र भाषिक रुपमा नेपाल जस्ता आफ्ना छिमेकी राष्ट्रहरुमा प्रभाव जमाउन सुरु गर्नुपर्छ । सायद, यसैको तयारीमा चीनले मध्य तथा दक्षिण एसियाका राष्ट्रहरुबाट अरुको दबदबा हटाउन र आफ्नो भूमिका बढाउने हिम्मतका साथ ‘स्टि्रङ अफ पल्र्स’ भन्ने मिसन अघि सारेको थियो ।

त्यसैले नेपाल आएर एउटा असल छिमेकी र मित्रका रुपमा हात बढाइरहँदा चीनले पनि अप्रत्यक्ष रुपमा सफ्ट पावर प्रदर्शनको मौका पाउनेछ ।

सांस्कृतिक हिसाबले चीनः नेपाल र भारतका लागि बराबर

अक्सर रोटी-बेटीको नाम दिइने नेपाल-भारत सम्बन्धमा राजनीतिक स्तरको ढाकछोप गरिए पनि नागरिक स्तरमा दिन-प्रतिदिन सम्बन्ध चिसिँदै गइरहेको छ । नेपालको लागि भारतसँग चिसिएको सम्बन्ध न्यानो पार्ने एउटै माध्यम चीन हो । फेरि आफैंमा रोटीबेटीको सम्बन्ध लेपन गरी चीनलाई नेपालको आन्तरिक तथा बाहृय नीतिमा ‘आइसोलेट’ गर्नु नेपालको भविष्यको लागि राम्रो हुँदै होइन ।

नेपालको चीनसँगको सम्बन्ध पनि यदि सही ढंगले अथ्र्याइने हो भने, सांस्कृतिक सम्बन्ध स्थापित तथा परिभाषित गर्न सकिन्छ । बुद्ध धर्म र तिब्बतको मान्यता अनि भृकुटीले स्थापना गरेको एक नयाँ आयामको सुरुवातलाई ध्यानमा राख्दा नेपालको उत्तरी भेग र चीनको तिब्बतबीच चलिआएको तर नपुष्ट्याइएको रोटीबेटीको सम्बन्धले नेपाल-चीन सम्बन्धलाई अर्को उँचाइ प्रदान गर्न सक्छ ।

नेपालको हकमा नेपाल-भारत सम्बन्ध यस्तो हुनुपर्छ भनेर पुष्ट्याउन खोज्नु आफैंमा गलत कदम हो । नेपाल-भारत सम्बन्ध सुमधुर र नमुनायोग्य छ । तर, बेलाबेलामा आफ्नो इतिहासको कालो आयामलाई सम्झेर नेपालमा औपनिवेशिक छाया प्रयोग गरी आफ्नो ‘इगो’ शान्त पार्ने भारतीय प्रवृत्तिका कारण सम्बन्ध धमिलिने गर्छ ।

नेपाललाई एक सार्वभौमसत्ता सम्पन्न राष्ट्रको स्थानमा राखेर असल छिमेकीको हैसियतमा भारतले नहेरेसम्म भारत तर्साउन चीन कार्ड देखाउने अनि चीन कार्ड देखाउने तत्वलाई सरकारबाट गिराउने द्वैध सम्बन्ध नेपाल र भारतबीच चलिरहनेछ । यो नेपाल, चीन र भारत तीनै मुलुकको लागि प्रत्युत्पादक हुनेछ । यदि तीन मुलुकबीचमा ‘जिरोसम’ स्थापना गर्ने हो भने अन्ततः त्रिपक्षीय छलफल र समझदारीको विकल्प छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment