Comments Add Comment

श्रीलंकाली क्रिकेटर दिल्सानद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

Dilsan

९ भदौ, काठमाडौं । श्रीलंकाली स्टार ब्याट्सम्यान तिलकरत्ने दिल्सानले सीमित ओभरको क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । टेष्ट क्रिकेटबाट उनले सन् २०१३ मै सन्यास लिइसकेका थिए ।

अष्ट्रेलियाबिरुद्धको पाँच एकदिवशीय शृङखला अन्तर्गत आगामी आइतबार हुने तेस्रो एकदिवशीय खेलपछि उनले एकदिवशीय क्रिकेटबाट सन्यास लिनेछन् ।

त्यस्तै आगामी सेप्टेम्बर ९ मा हुने अष्ट्रेलियाबिरुद्धको दोस्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमार्फत उनले सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनेछन् ।

श्रीलंकाली छनौटकर्ताहरुलाई परेको दवावका बीच उनको सन्यासको घोषणा भएको हो । सन् २०१९ को विश्वकप तयारीका लागि एन्जेलो मेथ्युजसहित छनौटकर्ताहरुले टिम निर्माण गर्ने तयारी गरिरहेका छन् ।

पछिल्ला केहि बर्षमा दिल्सानले श्रीलंकाली टोलीबाट उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । सन् २०१३ को सुरुवादेखि उनले एकदिवशीयमा ४९.१८ को औषतमा रन बटुलेका छन् । सन् २०१५ उनका लागि सबैभन्दा सुखद रहृयो । त्यस बर्ष उनले ५२.४७ को औषतमा १२०७ रन जोडेका थिए ।

गत बर्षको ट्वान्टी ट्वान्टी विश्वकपमा पनि दिल्सान श्रीलंकाको लागि सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान रहे । उनी एक उत्कृष्ट फिल्डरका रुपमा पनि मानिन्छन् ।

३९ बर्षीय दिल्सानले सन् १९९९ मा जिम्बाबेबिरुद्ध एकदिवशीय क्रिकेटमा डेब्यु गरेका थिए । त्यस्तै सन् २००६ मा इंग्ल्याण्डबिरुद्ध उनले ट्वान्टी ट्वान्टीमा डेब्यु गरेका थिए ।

१६ बर्षे करिअरमा उनले एकदिवशीय क्रिकेटमा श्रीलंकाका लागि ३२८ म्याच खेलेर ३९.३७ को औषतमा १० हजार २३८ रन जोडेका छन् । जसमा २२ शतक र ४७ अर्धशतक सामेल छ ।

त्यस्तै ७५ ट्वान्टी ट्वान्टीमा उनले १८३४ रन बनाएका छन् । जसमा १ शतक र १३ अर्धशतक सामेल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment