Comments Add Comment

‘हात्ती बाजे’को गाउँमा २० वर्षपछि आउँदैछ दशैं !

dhundi-raj-paudel

९ भदौ, काठमाडौं । ‘जंगली हात्तीले मानिस मार्‍यो, घर भत्कायो’ भन्ने कुरा झापाबाट टाढा रहेको र आफ्नै दुनियाँमा रमाउने काठमाडौंका लागि फगत समाचार शीर्षकमात्रै हुनसक्छ ।

तर बाहुनडाँगीका ६२ वर्षीय ढुण्डीराज पौडेल र उनका छिमेकीहरूका लागि हात्ती आतंक जीवन-मरणको विषय हो ।

काठमाडौंको एक होटलमा हालै आयोजित कार्यक्रममा पौडेल सबैको आकर्षणको केन्द्र बनेका थिए । कार्यक्रमका वक्ताहरूले पटक-पटक ‘हात्ती बाजे’ भनेर सम्बोधन गर्दा उनले मन्द मुस्कानले स्विकारोक्ति जनाइरहेका थिए ।

तर उनको मुहारमा मुस्कान आउने कारण अलि बेग्लै र विशेष छ । यसपालि बाहुनडाँगीमा दसैं आउँदैछ । त्यो पनि २० वर्ष पछि ।

खोटाङको एक गाउँमा २०११ सालमा जन्मिएका पौडेल १८ वर्षको उमेरमा बाहुनडाँगी आएका थिए र केही समयपछि उनको परिवार त्यहाँ बसाई सरेको थियो ।

उर्वर जमिन, प्रसस्त पानी र पातलो आवादीका कारण बाहुनडाँगी उनलाई मन परेको थियो ।

‘शुरुका दिनहरूमा तोरी, कोदो र केही मात्रामा धान राम्रो फल्यो । पछि बिस्तारै आवादी बढ्न थाल्यो र स्थानीयले आफै कुलो-कुलेसो बनाएर खेतमा सिँचाई गर्न थाले,’ पौडेल सम्झन्छन्, ‘त्यसपछिका दिनहरूमा धान र विशेष गरेर मकैको उत्पादन हृवात्तै बढ्यो ।’

बाली राम्रो भएर रमाएका गाउँलेहरूलाई सायद थाहा थिएन होला केही कोस पर उनीहरूका दुःखका दिन शुरू गराउने जंगली हात्तीको बथान बस्छ भनेर ।

An_elephant_herd_at_Jim_Corbett_National_Park
तस्वीर: विकीमिडिया

‘कुरो २०३४ साल तिरको हो’, पौडेल भन्छन् । उनलाई लाग्छ त्यो बेला १-२ ओटा जंगली हात्ती भारत तर्फबाट बाहुनडाँगी पसेका थिए । गाउँलेहरूले हात्तीलाई खासै गम्भिरताले हेरेका थिएनन् ।

तर हात्तीको संख्या बढ्दै गयो र २०५२-५३ साल तिर आइपुग्दा २०० सम्मको जथ्था गाउँ पस्ने, मानिसमाथि आक्रमण गर्ने, बालि नास गर्ने र घर भत्काउने गर्न थाल्यो ।

स्थानीयले ‘टुरिष्ट’ (पर्यटक) भन्ने यी हात्तीहरू सीमापारीबाट आउँछन्, त्यो पनि रातिमा । रातभर मकै र धान खान्छन् र बिहान नहुँदै भारततिर फर्कन्छन् । मानिसहरू जिब्रोको स्वाद परिवर्तन गर्न मःम, पिज्जा खान्छन् । जंगलमा सधैं एउटै आहार खाने गरेका हात्तीहरू स्वाद फेर्न मानिसको बस्तीमा पस्छन् र मकै खाएपछि हाई काढ्छन् ।

उनीहरू वर्षमा २ पटकः एकपटकट मनसुन अगाडि र अर्कोपटक मनसुन पछाडि दशैं आउँदै गर्दा आउँछन् ।

शुरूका दिनहरूमा गाउँलेहरूले केमात्रै गरेनन् होला हात्ती धपाउन । मसाल बालेर रातभर रुँगे, पटका पड्काएर र खुर्सानीको धूलो हालेर तर्साउन खोजे । तर केही सिप लागेन ।

सरकारी तथ्यांकअनुसार बितेका ५ वर्षमा मात्रै २५ जनाले हात्ती आक्रमणमा ज्यान गुमाएका छन् र सयौं घाइते भएका छन् ।

‘२०५५ सालतिर हाम्रा छिमेकी थापा जीले बिहे गर्नुभएको थियो, सिमापारीकी केटीसँग । बिहेको पहिलो रात उनीहरू सुतिरहेकै बेला हात्तीले गाउँ छिरेर उनीहरूको घर भत्कायो र दुबै जनालाई बिछ्यान मै मार्‍यो,’ उनी भन्छन् ।

त्यस रातको घटना अझै पनि पौडलको आँखा अगाडि झलझली आइरहन्छ र उनलाई भावुक बनाइदिन्छ ।

यी सब घटनाहरू भइरहँदा गाउँमा हात्तीहरूलाई अब मार्नैपर्छ भन्ने जनमतको निर्माण भइसकेको थियो । तर पनि अन्तिम प्रयासका रुपमा बार लगाउने काम गरियो । त्यो पनि असफल भयो ।

आफ्नो जीबनमा धेरै आरोह-अवरोह भोगिसकेका पौडेल हात्तीलाई मार्नु हुँदैन भन्न थाले । यही कारणले गर्दा मानिसहरूले उनलाई संवेदनशील नभएको आरोप पनि लगाए ।

‘हामी र जनाबरबीच केही फरक त हुनु पर्‍यो नि ! जनाबरले दुःख दियो भन्दैमा उसलाई मार्नु हुँदैन,’ उनी भन्छन्, ‘खोइ, ममाथि कुनै घटनाले गहिरो छाप छोडेको हुनुपर्छ । जसले मलाई यो कुरो सिकाएको हुनुपर्छ ।’

उनी थप्छन्, ‘फेरि नेपाल सरकारले विभिन्न सन्धिहरूमा वन्यजन्तुको संरक्षण गर्ने प्रतिवद्धता पनि त जनाएको छ नि !’

उनको हात्ती मोहका कारण गाउँलेहरूले उनालाई ‘हात्ती बाजे’ को उपमा नै दिए ।

रोकथामको प्रयास

दशौं वर्षसम्म बाहुनडाँगीका बासिन्दाहरू जंगली हात्तीसँग जुझिरहे । समस्या समाधान भएन । हात्ती बाजे पनि निराश भए ।

तर गत वर्ष मात्रै नेपाल सरकारले विश्व बैंकको सहयोगमा नयाँ प्रविधिको सौर्य उर्जाबाट चल्ने विद्युतीय तारबार लगाएर बाहुनडाँगी र आसपासको बस्तीलाई सुरक्षित बनाउने निर्णय गर्‍यो ।

Dhundiraj-Paudel

हात्ती आतंकबाट स्थानीयहरू यति आजित भइसकेका थिए कि उनीहरूले तारबार लगाउन छानिएको जग्गाको मुआब्जा पनि मागेनन् । यसमा अग्रणी भूमिका खेले हात्ती बाजे, जो अहिले स्थानीय हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष पनि छन् ।

करिब १.५ करोडको लागतमा १७.१४ किलोमिटर लामो विद्य्तीय तारबार निर्माण भइसकेपछि हरेकपटक कुनै हात्ती भित्र पस्न खोज्दा त्यसलाई दश हजार भोल्टको करेण्ट लाग्छ, ऊ एकछिन रन्थनिन्छ र फिर्ता जान्छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले गराएको एक अध्ययनले यो वर्ष बाहुनडाँगीमा मकैको उत्पादन ९५ प्रतिशतसम्मले बढेको देखाएको छ । तारबार सञ्चालनमा आएपछि कुनै पनि हात्ती मरेको छैन, न त कुनै मानवीय क्षति नै भएको छ ।

उनलाई यो पनि थाहा छ कि समस्याको समाधान नभइ स्थानान्तरण मात्रै भएको छ ।

नेपालतर्फ छिर्न नपाएपछि जंगली हात्तीले भारततर्फका मानिसहरूलाई आक्रमण गरेको दावी भारतीयहरूले पनि गरेका छन् ।

solarfence2
हात्तीलाई रोक्न बनाइएको बार । तस्वीर: राष्ट्रिय प्रकृति संरक्षण कोष

हालैमात्रै पश्चिम बंगाल सरकारले भारतको विदेश मन्त्रालयलाई यो विषय नेपालसँग उठाइदिन आग्रह पनि गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले भने तारबार अन्तरदेशीय छलफल गरेरै लगाइएको र पश्चिम बंगाल सरकारले नेपालमा तारबारले दिने रिजल्ट हेरेर आफूले पनि तारबार लगाउने बताएको जनाएको छ ।

‘हामीलाई थाहा छ कि समस्याको स्थानान्तरण मेची पारी भारतमा भएको छ । तर हामीले आफ्नो घरमा ताल्चा लाएर सुरक्षित गर्न पाउने कि नपाउने ?’ उनको प्रश्न छ, ‘हामीले तार लगाएको मानव बस्ती भएको क्षेत्रमामात्र हो । उत्तरतर्फ रहेको जंगलमा त हात्तीहरु सजिलै आवत-जावत गर्न सक्छन् ।’

बाली परिवर्तनको बहस

तर हात्तीबाजेलाई यो पनि थाहा छ कि हात्ती निकै चलाख जनावर हो । उसले भविष्यमा तारबारको कमजोरी पत्ता लगाउने छ र फेरि गाउँ छिर्ने नै छ ।

वन्यजन्तुको क्षेत्रमा काम गरिरहेका विशेषज्ञहरूका अनुसार यो समस्याको दीर्घकालिन समाधान भनेको स्थानीयरूपमै बाली परिवर्तन गर्नु हो । हात्ती मकै खान गाउँ पस्छ, यदि मकै नै छैन भने ऊ त्यहाँ जाँदैन ।

हात्तीले मन नपराउने बालीहरु जस्तै चिया, कागती, तेजपत्ता आदिको खेती गरियो भने धेरै हदसम्म हात्तीलाई गाउँ पस्नबाट निरुत्साहित गर्न सकिने विशेषज्ञहरू बताउँछन् ।

‘तर बाहुनडाँगी जस्तो गाउँमा स्थानीयका खेतहरू ठूला छैनन् । अनि चिया र कागतीमा जान पूँजीको पनि समस्या छ । त्यसमाथि चियाजस्तो बालीबाट कम्तिमा २-४ वर्ष उत्पादन हुँदैन,’ हात्ती बाजे भन्छन् ।

दीर्घकालीन समाधानबारे अहिले बाहुनडाँगीवासी त्यति सोच्न चाहनन् । आखिर २० वर्ष पछि हात्ती आतंकरहित दशैं आउँदैछ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment