Comments Add Comment

महिलाहरु प्रमुख पदमा पुग्नुमा जनयुद्धको देनः प्रधानमन्त्री प्रचण्ड

Pushpa-Kamal-Dahal-Prachand

९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ ढंगले विकास गर्ने पहलस्वरुप दुई उपप्रधानमन्त्रीलाई विशेष दूतकारुपमा भारत र चीन पठाएको बताएका छन् । उपप्रधानमन्त्रीद्वयको भ्रमणबाट सकारात्मक नतिजा आएको र छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ ढंगले विकास हुने वातावरण बनेको उनले दाबी पनि गरे ।

माओवादी पार्टी सम्बद्ध विभिन्न ६ महिला संगठनहरुको एकता राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई बिहीबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार भारत र चीन दुवै मुलुकसँग सन्तुलित सम्बन्ध राखेेर मुलुकको हित गर्ने पक्षमा रहेको प्रष्टिकरण दिए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पद महिलाले पाउनु जनयुद्धको देन भएको बताए । विद्यादेवी भण्डारी आफ्नो प्रस्तावमा राष्ट्रपति निर्वाचित भएको तथा सुशीला कार्कीलाई पनि २०६५ सालमा आफू प्रधानमन्त्री भएकै बखत न्यायाधीश नियुक्त गरेकाले उनी अहिले प्रधानन्यायाधीश हुन सफल भएको प्रचण्डले बताए । सभामुखमा ओनसरी घर्तीलाई निर्विरोध निर्वाचित गराउन पनि आफैंले भूमिका खेलेको प्रचण्डले बताए ।

‘अहिले देशको सर्वोच्च संवैधानिक निकायमा महिलाहरुको बलियो उपस्थिति छ । राष्ट्रपति, प्रधानन्यायाधीश र सभामूख तीनै जना महिला हुनुहुन्छ । नेपालमा जनयुद्ध हुँदैनथ्यो भने यो सम्भव थिएन । यो नेपाली जनयुद्धको देन हो,’ प्रचण्डले भने ।

समानुपातिक र समावेशी प्रतिनिधित्वका लागि युद्ध गरेको पार्टीका कार्यकर्ताका नाताले माओवादीका नेतृहरुले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखको पद महिलाले पाउनुलाई गर्वका रुपमा लिनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

व्यवस्थापिका संसदमा तेस्रो स्थानमा रहेपनि सबै शक्तिलाई मिलाएर संविधान कार्यान्वयन गर्ने जिम्मेवारी नेकपा माओवादी केन्द्रको काँधमा रहेको भन्दै उनले जिम्मेवारी पूरा गर्न सबै प्रयास गर्ने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री प्रचण्डले सरकार चैतमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको भन्दै स्थानीय तहबाटै नेतृत्व विकासमा लाग्न महिलाहरुलाई आग्रह गरे । प्रधानमन्त्रीले भने, ‘सरकार चैतमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा लागिसकेको छ । नीति निर्माणको तहमा महिलाहरुको बलियो उपस्थितिका लागि स्थानीय तहबाटै नेतृत्व विकासमा लाग्न आग्रह गर्दछु ।’

प्रधानमन्त्रीले महिलाहरु बिभाजित हुँदा परिवर्तनको आन्दोलन र एजेण्डा कमजोर हुन पुगेको भन्दै एकताले त्यसमा उर्जा प्रदान गर्ने बताए ।
प्रधानमन्त्रीले नयाँ सरकार गरीबको पक्षमा रहेकोमा जोड दिँदै दलित र कर्णालीका बच्चाको जन्मदर्तामा प्रोत्साहन भत्ता, गरीबका लागि सरकार कार्यक्रमले सरकार उत्पीडित, उपेक्षितहरुको पक्षमा छ भन्ने कुरा प्रमाणति भएको बताए ।

कार्यक्रममा महिला नेतृहरु उर्मिला अर्याल, रेखा शर्मा, जयपुरी घर्ती, अमृता थापामगर, देवी खड्का, शान्ता राई लगायतले महिला आन्दोलनको औचित्य र भूमिकाबारे बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment