Comments Add Comment

बालुवाटारमा गोविन्द केसीः मैले प्रचण्ड र देउवाको आग्रहमा अनसन तोडेको हुँ

प्रचण्डको जवाफ- तपाईको माग र भाषा म राम्ररी बुझ्छु

Prachand-and-Govind-KC

१० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न डा. गोविन्द केसी शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सो भेटमा प्रधानमन्त्री प्रचण्डले डा. केसीले उठाएका माग र मुद्दा राम्ररी बुझ्ने बताएका छन् ।

डाक्टरहरुको टोलीसहित बालुवाटार पुगेका केसीले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा आफूले पछिल्लो अनसन तोडेको बताए । उनले आफ्ना मागहरुलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीलाई आग्रहसमेत गरे ।

डा. केसीको नेतृत्वमा आएको चिकित्सकहरुको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको दायित्व राज्यले लिनुपर्छ भन्ने आफ्नो पनि मान्यता रहेको स्पष्ट पारे । तर, अहिलेको राजनीतिक संस्कार, प्रशासन संयन्त्र र नीति नियमभित्र बसेर सबै कुरा सम्बोधन गर्न त कठिन हुने प्रचण्डले केसीलाई बताए । प्रधानमन्त्रीले भने, ‘तर, तपाईले उठाएका माग र भाषा म राम्ररी बुझ्छु र सकेसम्म सम्बोधनको प्रयास गर्छु ।’

प्रधानमन्त्री प्रचण्डले शिक्षा र स्वास्थ्यमा श्रीलंकाको मोडलबाट आफू प्रभावित भएको बताए । उनले डाक्टर केसीलाई भने- ‘श्रीलंका कुनै समाजवादी, साम्यवादी मुलूक होइन । तर, पनि शिक्षा, स्वास्थ्यमा राज्यको पूर्ण दायित्वको श्रीलंकाको मोडलबाट म प्रभावित थिएँ ।’

डा. केसीको आन्दोलनले समाजमा नयाँ जागरण ल्याएको र राज्यलाई जागृत गरेको प्रधानमन्त्रीले बताए ।

डा. केसी अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने देखि स्वाथ्य क्षेत्रमा सुधार हुनुपर्ने लगायतका विभिन्न माग राखेर आन्दोलन गर्दै आइरहेका छन् ।

डा. केसीले दुरदराजमा सुलभ स्वास्थ्य सेवाको प्रबन्ध, सार्वजनिक संस्थानहरुमा क्षमताका आधारमा नियुक्ति, योग्य विद्यार्थीले सर्वसुलभ चिकित्सा शिक्षाको अवसर, माथेमा आयोगको प्रतिवेदनको कार्यान्वयनका साथै राज्यका जिम्मेवार पदहरुमा रहेका व्यक्तिहरुको जिम्मेवारी बोधका लागि आफ्नो आन्दोलन केन्दि्रत रहेको प्रधानमन्त्री प्रण्डलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment