Comments Add Comment

ठमेलमा आचारसंहिताः महिलालाई नजिस्काउनोस्, पक्राउ परिएला !

स्थानीय व्यवसायीले थाले ठमेलमा सामाजिक सुधार अभियान

Kathmandu 02 05 Thamel Street Lights Up At Night (1)१० भदौ, काठमाडौं । साँझ पर्दै गएपछि कामाडौंका अधिकांश बजार बन्द हुन्छन् । तर, ठमेल ती बजारमध्ये अपवादमा पर्छ । जहाँ दिउँसो प्रायः सुनसान हुन्छ र साँझ परेपछि चहल-पहल बढ्न थाल्छ । रात्री मनोरञ्जनको मुख्य थलो मानिने ठमेल स्वदेशी र विदेशी सबैका लागि आकर्षणको केन्द्र मानिन्छ ।

के छैन ठमेलमा ? डान्सबारदेखि रेष्टुरेन्ट, डिस्कोदेखि गजलसम्म । तर, नकारात्मक विषयले सकारात्मक व्यवसाय गर्नेहरु मारमा पर्न थालेका छन् । ठमेलको परिचय नकारात्मक बन्न थालेपछि अचेल ठमेलका पुराना रात्री व्यवसायीहरुले सुधारको अभियान सुरु गरेका छन् ।

आचारसंहिता निर्माण

झण्डै १२ वर्षदेखि ठमेलमा रात्री व्यवसाय सञ्चालन गर्दै आएका दावाङ तामाङ ठमेलमा लामो समयसम्म टिक्ने निकै कम व्यवसायीमध्येका एक हुन् ।

काठमाडौं होटल नजिकै रहेको फायर क्लब उनको सबैभन्दा चर्चित क्लब हो । त्योबाहेक नर्सिङ चोकमा रहेको नगरकोट दोहोरी र पछिल्लो समय इबिजा लाउन्ज सञ्चालनमा छन्, जसमा उनीसँगै अन्य ६ जनाको टीम संलग्न छ ।

तीनवटा व्यावसाय सञ्चालन गरेर सय जनाभन्दा बढीलाई रोजगार दिने दावाङ लगायतले ठमेलको बदनाम परिचय बदल्ने प्रयास थालेका छन् ।

ठमेल पर्यटकीय नगरी भए पनि टिक्नै मुस्किल हुने गरेको व्यवसायी बताउँछन् । गुण्डागर्दी र अवैध व्यवसाय हुने भनेर ठमेलको बदनाम परिचयका कारण स्थानीय व्यवसायीहरु यसबाट सचेत थालेका छन् ।  पछिल्लो समय प्रहरी प्रशासन र व्यवसायीकै कारण ठमेल मर्यादितमात्रै होइन, सुरक्षित बन्न थालेको दावाको दाबी छ ।

केही महिनादेखि रात्री व्यवसाय सञ्चालन गर्नेहरुले ठमेललाई मर्यादित र व्यवस्थित बनाउन एउटा टीम बनाएका छन् । त्यो टीमको उद्देश्य रात्री व्यवसायका नाममा गुण्डागर्दी, लुटपाट, आतंक र महिलामाथिको दुव्र्यवहार रोक्ने हो । यसका लागि टिमले हरेक डान्सबार, दोहोरी तथा डिस्कोका लागि आचारसंहिता बनाएको छ ।

आचारसंहितामा कर्मचारीहरुको पोशाक पनि तोकिएको छ । हरेकले आफ्नो रेष्टुरेन्ट तथा डान्सबारमा अनिवार्य सीसी टीभी क्यामेरा राख्नुपर्ने छ ।

हरेक व्यवसायमा कार्यरत कर्मचारीहरुदेखि सञ्चालकसम्मका बारेमा विस्तृत विवरण संकलन गरेर जिल्ला प्रशासन कार्यालयमा समेत बुझाइएको छ । यसले कुनै घटना भयो कि सञ्चालकले मेरो मान्छे होइन भनेर उम्कन दिने छैन ।

यदि कसैले आचारसंहिता मानेको छैन भने उसलाई कार्वाहीका लागि प्रहरी प्रशासनमा सिफारिस गर्न ‘रात्रीकालीन सट कमिटी’ बनेको दावाले बताए ।  ‘हामी ठमेलको बदनाम परिचय हटाउन चाहान्छौं,’ आचारसंहिता बनाउनुको कारण स्पष्ट पार्दै तामाङ भन्छन्, ‘हामी यहाँका हरेक क्षेत्रमा पूर्णपारिवारिक वातावरण बनाउँछौं ।’

पछिल्लो समय ठमेलका व्यवसायहरु पारिवारिक वातावरणमा सञ्चालन हुन थालेको व्यवसायीहरु बताउँछन् । सुरक्षा व्यवस्था बलियो हुन थालेपछि पूर्वराजपरिवारका सदस्यहरुदेखि चर्चित कलाकाहरुसमेत परिवारलाई लिएर ठमेल आउने गरेको लामा बताउँछन् ।

करिब ५ वर्ष अगाडिसम्म यस्तो थियो कि ठमेलमा खुलेका डान्स बार, दोहोरी तथा डिस्कोहरुमा बज्ने आवाजले मान्छेहरुलाई मनोरञ्जन होइन झर्को दिन्थ्यो । डान्सबार र डिस्कोहरुलाई साउण्ड प्रुफको व्यवस्था गर्नुपर्ने नियम बनाइएको छ, ता कि भित्र बजेको आवाज बाहिर नआवोस् र कसैलाई डिस्टर्ब नगरोस् ।

प्रहरीको सक्रियता

डान्सबारहरुमा दैनिकजसो हुने ग्याङ फाइट, मध्यरातसम्म रक्सीले मातेकाहरुको झगडाले ठमेल निकै असुरक्षित थियो । तर, पछिल्लो समय ठमेलमा राति १० बजेपछि मदिरा पसलहरु बन्द हुन्छन् ।

गुण्डागर्दीको थलो बनेका रात्री व्यावसायहरु प्रायजसो विस्थापित भैसकेका छन् । ४० भन्दा बढी डान्सबार र १० भन्दा बढी डिस्को चलेको ठमलेमा अहिले १२ वटा मात्रै डान्सबार र ६ वटामात्रै डिस्को अर्थात क्लबहरु छन् ।

सोह्रखुट्टे वृत्तका डीएसपी सोमेन्द्रसिंह राठौर ठमेलको सडकमा बसेर युवतीलाई जिस्काउने क्रम अझै नघटेको बताउँछन् । ‘सडकमा बसेर युवतीमाथि दुव्र्यवहार गर्ने  ५० जना बढी पक्राउ परिसकेका छन्, दुईवटा सक्कली र तीनवटा नक्कली पेस्तोलसमेत बरामद भएको छ,’ डीएसपी राठौर भन्छन्, ‘विगतजस्तो डान्सबारमा ग्राहक कुटिने र ज्यादती गर्ने समूह कमजोर देखिए पनि ठमेल मर्यादित बन्न अझै केही समय लाग्छ ।’

प्रहरीले ठमेल क्षेत्रको निगरानी गर्न सादा पोशाकमा प्रहरीसमेत परिचालन गरेको छ । ठमेल पुग्नेहरुले झट्ट चिन्न नसक्ने ति सादा पोशाकका प्रहरीहरुले हरेक गतिविधिको रिपोर्टिङ गर्छन् र प्रहरीले त्यसैअनुसार एक्सन लिन्छ ।

तर, ठमेल पुगेकाहरुले आफू लुटिएको वा कुटिएको घटना लाजले लुकाउने गरेकाले अवाञ्छित गतिविधि नियन्त्रणमा समस्या आउने गरेको प्रहरीको बुझाइ छ । विगतको तुलनामा भने ठमेल धेरै परिवर्तित भएको सई राजेन्द्र कटवाल बताउँछन् ।

ठमेल क्षेत्रमा सादा पोशाकमा खटिने कटवाल भन्छन्, ‘कहिँकतै साना-तिना समस्याहरु हुनसक्छ । कतिपय ग्राहकले दुःख पाए पनि प्रहरीलाई भन्दैनन् तर ठमेल हिँजो जस्तो छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment