Comments Add Comment

कर्णालीमा उत्पादित बस्तु सरकारले किनेर बेच्ने

Karnali-Transport-final

१० भदौ, काठमाडौं । सरकारले चालू आर्थिक वर्षभित्रै मुलुककै दुर्गम कर्णालीका किसानले उत्पादन गरेका कृषि उत्पादन किनेर काठमाडौंमा बेच्ने योजना बनाएको छ ।

कर्णालीको आर्थिक तथा सामाजिक विकास गर्ने उद्देश्यले सरकारले त्यहाँ उत्पादित कृषि बस्तु काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा बिक्री गर्ने योजना बनाएको हो ।

सरकारले आर्थिक वर्ष २०७३/७४ को वार्षिक विकास कार्यक्रममा कर्णाली क्षेत्रको विकासका लागि यस्तो नीति बनाएको राष्ट्रिय योजना आयोगले जनाएको छ । ‘यसै वर्षदेखि कर्णालीबाट उत्पादित फापर, सिमी, आलु, उवा, स्वाउलगायतका स्थानीय उत्पादनहरु नेपाल खाद्य संस्थानले खरिद गरी आन्तरिक बजारमा बिक्री वितरण गर्ने’ विकास कार्यक्रममा भनिएको छ ।

सरकारले कर्णाली लगायतका दुर्गम जिल्लामा प्रत्येक वर्ष खाद्यान्न अनुदान दिए पनि ती क्षेत्रहरुमा खाद्यान्न संकटको समस्या भने ज्यूँका त्यूँ छ । त्यसैले सरकारले ती क्षेत्रमा कृषि उत्पादन बढाउनका लागि बजारको ग्यारेन्टी गरिदिने कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

देशभर रहेका २३ दुर्गम जिल्लामा यसै वर्ष सरकारी अनुदानमा ३० हजार मेट्रिक टन खाद्यान्न ढुवानी गर्ने पनि सरकारी योजना छ । कर्णालीका अधिकांश जिल्लाहरु दुर्गम छन् ।

त्यस्ता दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गरी खाद्य सुरक्षा गर्नका लागि सरकारले २५ हजार मेट्रिकटन खाद्यान्न भण्डारण गर्ने सरकारी लक्ष्य छ ।

त्यसैगरी, १७ दुर्गम जिल्लामा यसै वर्ष ७ हजार मेटि्रकटन आयोडिनयुक्त नुन ढुवानी गर्ने वार्षिक विकास कार्यक्रममा उल्लेख छ ।

साथै, सार्क खाद्य सुरक्षा बैंकमा ८ हजार मेटि्रकटन खाद्यान्न सञ्चित गर्ने पनि सरकारी कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment