Comments Add Comment

त्रिशुली किनारमा खसेका ऋतेशले दिए बस दुर्घटनाको पहिलो खबर

दुर्घटनास्थल भेट्टाउन प्रहरीलाई पौने घण्टा

Bus-Accident-at-Chitwan,-Tr
तस्वीर: रासस

१० भदौ, काठमाडौं । रौतहटबाट पोखराका लागि छुटेको बस शुक्रबार बिहान करिब साढे तीन बजे नै त्रिशुलीमा खस्यो । नदी किनारमा खसेका भारतीय यात्रु ऋतेश गुप्ताले घटनास्थलबाटै प्रहरीलाई जानकारी त दिए, तर प्रहरीलाई घटनास्थल पत्ता लगाउनै पौने घण्टा लाग्यो । प्रहरी नपुग्दासम्म घाइते यात्रुहरु उपचार नपाएर छटपटाइरहेका थिए ।

प्रहरीका अनुसार अहिले ऋतेशलाई उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना गरिएको छ । चितवन प्रहरी प्रमुख एसपी बसन्त कुँवरले अनलाइनखबरसँग भने, ‘उनी डरले आत्तिएको जस्तो देखिएकाले उनलाई आरामको जरुरी छ । उनलाई कसैसँग भेट्न दिइएको छैन । अस्पतालमै आराम गराइरहेका छौं ।’

दुर्घटनास्थलबाट सबैभन्दा नजिक इलाका प्रहरी कार्यालय मुग्लीन छ जुन दुई किलोमिटरको दुरीमा पर्दछ ।

एसपी कुँवरले दुर्घटनाबारे अनलाइनखबरलाई दिएको जानकारी जस्ताको तस्तै-

हामीलाई ऋतेश गुप्ता भन्ने व्यक्तिले बस दुर्घटना भयो भनेर फोन गरेर जानकारी दिए । त्यसपछि तत्कालै नजिकका प्रहरीलाई परिचालन गर्न निर्देशन दियौं । हामी पनि मुभ भयौं ।

केहीबेर त हामीलाई दुर्घटनास्थल पत्ता लगाउनै समस्या भयो । लाइट, सिटी र साइरन प्रयोग गर्दै लोकेट गर्‍यौं । झिसमिसे अँध्यारोमा दुर्घटनास्थल पत्ता लगाउन झण्डै ४५ मिनेटसम्म अलमल भयो ।

दुर्घटनास्थल पत्ता लाग्दा ऋतेश नदी किनारमा थिए । बसबाट उछिट्टिएर उनी भाग्यले नदी किनारमा परेका रहेछन् । उनी बोल्न सक्दथे तर, हिँडडुल गर्न सकेका थिएनन् । घाइतेहरुको सूचीमा ऋतेशको ठेगाना भारत उल्लेख गरिएको छ ।

बस नदीको बाढीमा डुबेको थियो । वरपर शव छरिएका थिए । त्यतिबेला सायद पाँच बजेको थियो ।

कुरिनटारस्थित सशस्त्र प्रहरीको खोज तथा उद्धार टोली र गोताखोर पनि घटनास्थलमा आइसकेका थिए ।

सबैभन्दा पहिले ऋतेशलाई उद्धार गरेर हस्पिटल पठाइयो । अरुको पनि उद्धार सुरु भयो ।

हामी अहिलेसम्म दुर्घटनास्थलमै छौं । अहिलेसम्म २२ जनाको शव प्राप्त भएको छ । खोज र उद्धार जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment