Comments Add Comment

‘सुकुम्वासी’को पैसा झोलामा बोकेर मानबहादुर फरार, दुई महिला समातिए

पोखरामा यसरी भयो विप्लव माओवादीको एक्सन

Biplav-Maobadi

१० भदौ, पोखरा । सुकुम्बासीलाई जग्गा दिलाइदिने भन्दै ठगी गर्ने एउटा गिरोह पोखरामा विप्लव माओवादीको फन्दामा परेको छ । सुकुम्बासीलाई जग्गा दिलाउने भनी तमसुक गर्दै गरेको अवस्थामा नेकपा माओवादी विप्लव समूहका कार्यकर्ताले शुक्रबार दुईजना महिलालाई समातेर प्रहरीसमक्ष बुझाएका छन् ।

ठगी गर्ने गिरोहमा संलग्न भएको भन्दै मनु सुनार र कमला पुनलाई पक्राउ गरेर प्रहरीलाई बुझाइएको विप्लव माओवादीको जिल्ला जनपरिषद कास्कीका संयोजक नन्दप्रसाद तिवारीले शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

मनु र कमलालाई नियन्त्रणमा लिने क्रममा पैसा बोक्ने मानबहादुर विश्वकर्मा भने भागेको संयोजक तिवारीले बताए ।

पीडितमध्येका एक भीमबहादुर गुरुङले दिएको जानकारी अनुसार गिरोहका नाइके भनिएका विकले आफूलाई धनबहादुर, राजेश र लक्ष्मण विक भनेर पनि परिचय दिने गरेका थिए ।

गिरोहले गरेका सबै तमसुक कानून व्यवसायी विमलप्रसाद लामिछानेले लेखेका छन् । उनको लाइसेन्स नम्बर १३१७, कास्की हो । तर, लामिछाने भने पक्राउ परेका छैनन् । पक्राउ परेका दुई महिलाको ठगी कार्यमा के भूमिका थियो भन्ने स्पष्ट भइसकेको छैन । कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको र संलग्न अन्यको पनि खोजी भइरहेको जानकारी दिए ।

माओवादी संयोजक तिवारीका अनुसार शुक्रबार अपरान्ह सिर्जनाचोकस्थित एक होटलमा ती महिलाहरुले सुकुम्बासीहरुलाई जग्गा दिने भन्दै पैसा लिएर तमसुक लेखिरहेको सूचना आएको थियो । सूचना अनुसार आफूहरु पुग्दा पैसा लेनदेन र तमसुक लेखन कार्य चलिरहेका बेला उनीहरुलाई नियन्त्रणमा लिइएको तिवारीले बताए ।

विप्लव माओवादी कास्कीले पत्रकार सम्मेलनमा गिरोहबाट बरामद १३५ वटा तमसुकसमेत सार्वजनिक गरेको थियो । गिरोहले सुकुम्बासीलाई मझेरीपाटनस्थित भोटेचौतारादेखि थोरै तल रहेको १७० रोपनी जग्गा देखाउँदै पैसा उठाएको पाइएको छ ।

Pidit-haru

उनीहरुले प्रतिव्यक्ति एक रोपनीको दश हजार रुपैयाँ लिएर कागज गर्ने गरेको पत्रकार सम्मेलनमा उपस्थित पीडितले बताए ।

पोखरामा एक रोपनी जग्गाको कम्तिमा पनि एक करोड भन्दा बढी पर्छ । त्यति महङ्गो जग्गा १० हजारमै पाइन्छ भनेर पैसा तिर्नेहरु सोझा मानिसहरु रहेको माओवादीका एक नेताले बताए ।

ठगी गर्ने गिरोहले १० हजार रुपैयाँ लिएर कागज गर्ने र मंसिरमा जग्गा पास गरेपछि २ लाख दिनुपर्ने शर्त राख्ने गरेको पीडित स्याङ्जा वालिङ घर भई पोखरा बस्दै आएका भीमबहादुर गुरुङले बताए । उनले आफ्नी बहिनी, ठूली आमा र आफूसमेत ठगिएको जानकारी दिए ।

त्यस्तै निर्मलपोखरी कास्कीकी अमिृता विकले ०३२ सालदेखि तिरो तिर्न बाँकी आफ्नै जग्गा दिने भन्दै धनबहादुर विकले पैसा लिएको बताइन् ।

उद्योगपति सीताराम केसीले तत्कालीन समयमा जग्गा लिए पनि किचलोपछि कसैले पनि तिरो नतिर्दा समस्या भएको र अब मंसिरसम्म आफ्नो नाममा जग्गा ल्याएर पास गरिदिने भन्ने गरेको अमृताको भनाइ छ ।

पीडितले जग्गा दिने गरी तमसुक लेखेको बताए पनि तमसुकमा भने ब्याजमा पैसा लिइएको उल्लेख छ । घर खर्चका लागि ऋण लिएको र प्रचलित नियमानुसार ब्याजसहित सावाँ तिर्ने तमसुकमा लेखिएको छ । तमसुकमा सबै रकम धनबहादुर विकले लिएको उल्लेख छ ।

विप्लव माओवादीले ठगी गिरोहले मझेरीपाटन मात्र नभई ढिकुरपोखरी र पोखराको शान्ति वाटिकामा समेत जग्गा दिलाइदिने भन्ने गरेको दाबी गरेको छ ।

पत्रकार सम्मेलनमा जिल्ला जनपरिषद कास्कीका संयोजक नन्दप्रसाद तिवारीले पीडितको पैसा फिर्ता गराइदिन प्रशासनसँग आग्रहसमेत गरे । उनले आफ्नो पार्टीले विकृति विसंगति विरुद्धको अभियान सञ्चालन गरिरहेको र यस्ता अन्य गिरोहको खोजी भइरहेको बताए । उनले आँखा बेचेर चश्मा किन्ने राज्य हुँदासम्म सर्वसाधारणले दुःख पाइरहेको बताउँदै यसको अन्त्यका लागि आफूहरु लागिपरेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment