Comments Add Comment

साइप्रसमा नेपाली कामदारको भयावह अवस्था

तोकेको काम र तलब नपाउनेदेखि शारीरिक दुर्व्यवहारसम्म

Cyprus_map

बार्सिलोना । नेपालका मेनपावर कम्पनीहरुले झुटो आश्वासन दिँदै साइप्रसका लागि नेपाली कामदार पठाउने क्रममा मोटो रकम असुल्ने गरेका छन् । घरेलु काममा लागि साइप्रस आउँदा करिब ८० हजार रुपैयाँ खर्च हुने भए पनि कामदारबाट ४ देखि ५ लाख रुपैयाँसम्म असुल गर्दै ठगी गरिएको पीडितहरुको गुनासो छ ।

त्यसरी असुल गरिने रकम साइप्रस र नेपालमा रहेका एजेन्टहरुले बाँडेर लिने गरेको पीडितहरु बताउाछन् । नेपालमा छँदा युरोप काम गर्न जाने भन्दै लोभिने नेपालीहरु साइप्रस आएपछि तोकेअनुसार काम र तलब नपाउँदा भने हैरानी खेपिरहेका छन् ।

साइप्रसमा घरेलु कामका लागि आउने नेपाली कामदारमा महिलाको संख्या बढी हुने गरेको निकोसियास्थित कन्सुलर कार्यालयले जनाएको छ । साइप्रसमा करिब पाँच हजार नेपाली रहेको बताइन्छ । जसमध्ये ९६ प्रतिशत घरेलु कामका लागि आएका महिला कामदारहरु छन् भने बाँकी विद्यार्थी तथा पुरुष कामदार रहेको अनुमान छ ।

महिला कामदारको अवस्था

युरोप आएर कमाउने सपना बोकेका नेपाली चेलीहरु साइप्रस आएपछि समस्यै समस्या झेलिरहेका छन् । नेपालबाट आएका करिब ७० प्रतिशत कामदारले सम्झौता अनुसारको सुविधा नपाउने साइप्रसस्थित कन्सुलर कार्यालय नै स्विकार्छ ।

रोजगारदाताले कामदारहरुलाई दिने मानसिक तनाव तथा शारीरिक दुव्र्यवहारका घटना पनि सार्वजनिक हुने गरेका छन् । रोजगारदाताहरु असल भएका घरमा काम गर्ने महिलाहरु सुरक्षित भए पनि यस्तो अवसर धेरै कमलाई मिलेको कामदार महिलाहरुको भोगाइ छ ।

साइप्रसमा घरेलु कामदारको रुपमा आउने धेरै आप्रवासी महिलालाई समस्या परे पनि उनीहरु आफ्नो पीडा सार्वजनिक गर्न चाहँदैनन् । उनीहरुले भोग्ने समस्या मुख्यतः सम्झौतापत्रमा तोकिएको भन्दा बढी काम गर्नुपर्ने, कम तलब दिने, ओभरटाइम रकम नपाउने, सम्झौताविपरीत एकभन्दा बढी  घरमा काम गर्नुपर्ने लगायत छन् ।

यस्तै कहिलेकाहीँ घरको काम भनेर फिल्डमा समेत लैजाने, कतिपयले कामबाट छुट्टी नै नदिने, कतै निस्कन र सम्पर्क गर्न नदिई जेलमा राखे जस्तै व्यवहार गर्ने, ३/४ महिनासम्म पारिश्रमिक नदिने लगायतका समस्या पनि नेपाली कामदारले भोगिरहेका छन् ।

केही महिलाहरु त योभन्दा पनि डरलाग्दो समस्याबाट पीडित छन् । घर मालिक वा रोजगारदाताले मानसिक तनाव दिने र शारीरिक दुर्व्यवहार गर्न खोज्नेसम्मका जस्ता समस्या उनीहरूले भोग्नुपर्छ ।

तर, यस्तो पीडाबाट उम्केर आएका महिलाहरुले घटनाबारे अनौपचारिक रुपमा बताए पनि सार्वजनिक गर्न चाहादैनन् ।

आफैसँग ठगी गरिएको पैसा आफैंले बुझाउँदा

दुई वर्षदेखि साइप्रसमा घरेलु कामदार रहेकी एक चेलीले (नाम नखुलाइएको) आफूलाई नेपालमा म्यानपावरले ठगी गरेको पैसा आफैंले बोकेर ल्याइन् । सम्पूर्ण भीसा प्रकिया पूरा भएपछि आफूबाट मेनपावरले ४ लाख ५० हजार रुपैयाँ असुलेको उनी बताउँछिन् ।

एयरपोर्टमा वा कसैले सोधपुछ गरेमा जम्मा ८० रुपैयाँ मात्र खर्च लागेको भन्नू भन्दै बिल बनाइदिएको स्मरण गर्दै उनले भनिन्, ‘आउने बेलामा एउटा बन्द खाम साइप्रसको एजेन्टलाई दिनू भन्दै थमाइएको थियो,त्यो भित्र त पैसा पो रहेछ ।’ उनले थपिन, ‘म आफैंलाई  ठगेको पैसा मेरै हातले यताको एजेन्टलाई पनि बुझाएँ । सबै कामदारलाई यस्तै गर्ने रहेछन् ।’

एकजना साथीले त्यस्तो खाम हराउँदा ६ महिनासम्म तलब नै नपाएको उनले रहस्य खोलिन् । त्यस्तो घटना हुने भएकाले नेपालका एजेन्टले खाम नहराउन र हराएमा पैसा तलबबाट काटिने जानकारी काठमाडौंमै दिने गरेका छन् ।

स्रोतका अनुसार, कामदारको हवाई टिकटदेखि सम्पूर्ण खर्च साइप्रसमा रहेका एजेन्टले रोजगारदाताबाट लिने गर्छन् । यस्तै, नेपालबाट पनि प्रत्येक कामदारबाट दुई हजार युरोसम्म साइप्रसको एजेन्सीले असुल्ने गरेको बताइन्छ । एउटा कामदारले बुझाउने ४ देखि ५ लाख रुपैयाँमध्येको बाँकी रकम भने नेपालमा रहेका मेनपावर कम्पनीहरुले लिने गरेको पीडितहरु बताउाछन् ।

साइप्रसमा यसरी ल्याइन्छ कामदार

साइप्रसमा नेपाली कामदार ल्याउनका लागि साइप्रस र नेपाल दुवैतर्फ एजेन्सी वा मेनपावर कम्पनीहरु छन् । एजेन्टले रोजगारदाताको खोजी गर्दै कामदार ल्याउने प्रक्रिया सुरु गर्छन् । निकोसियास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. रामजीवन पञ्जियारका अनुसार, सम्झौतापत्र, ग्यारेन्टी लेटर, डिमाण्ड लेटर र दुवैतर्फ रजिष्ट्रेशन पूरा गरेपछि कन्सुलर कार्यालयमा कामदार मागपत्रमा छाप लगाउन कागाजी प्रक्रिया सुरु हुन्छ ।

कन्सुलर कार्यालयलाई मागपत्र जायज लागेपछि मात्र स्वीकृतिका लागि साइप्रस हेर्ने इजरायलस्थित नेपाली दूतावासमा फाइल पुग्ने पञ्जियार बताउँछन् । नेपाली दूतावास इजरायलले स्वीकृत गरेपछि मात्र साइप्रसबाट एजेन्सीले नेपालको मेनपावरलाई कामदार खोजेर भीसा प्रक्रिया सुरु गर्न अनुरोध गर्छन् ।

त्यसपछि भने नेपालमा युरोपको सपना देखाउँदै ठूल्ठूला विज्ञापन छापिने गरेको जानकारहरु बताउाछन् ।

मेडिकल रिपोर्ट, पुलिस रिपोर्ट र अन्तर्वार्ता, साइप्रस आउनको लागि मुख्य आधार मानिन्छ । पछिल्लो क्रममा भने अंग्रेजी भाषालाई पनि प्राथमिकता दिइएको छ ।

कन्सुलर कार्यालय के भन्छ ?

कन्सुलर कार्यालयका अवैतनिक वाणिज्य दूत डा. पञ्जियारले देशमा बेरोजगारीको समस्या रहेकोले आफ्नै पहलमा साइप्रसमा घरेलु कामदार आउने बाटो खोलेको स्मरण गर्दै अहिलेको समस्याबारे आफू जानकार रहेको बताए । उनले भने, ‘अहिले अवस्था निकै भयावह बनेको छ, मैले श्रम र परराष्ट्र मन्त्रालयमा समस्याबारे जानकारी गराउँदै पत्र लेखेको छु ।’

उनले साइप्रसमा कामदार ल्याउने प्रक्रिया बन्द गर्न सजिलो भए पनि पुनः सुरु गर्न गाह्रो भएकोले  कसरी व्यवस्थित गर्ने भन्नेमा सोच्नुपर्ने बताए । उनले भने, ‘नेपाल सरकारले चासो देखाएर व्यवस्थित गर्न सके निकै कम शुल्क तिरेर कामदार आउन सक्नेछन् ।’

खासगरी महिला कामदारले बढी समस्या भोग्नुपर्ने देखिएकाले अहिले निकै विचार पुर्‍याएर मात्र मागपत्र दूतावासमा पठाउने गरेको उनले बताए । कतिपय अवस्थामा आफूलाई समेत मागपत्रमा छाप लगाउन दबाब आउने गरेको बताउँदै उनले भने, ‘त्यसो भएमा मैले सम्पूर्ण भीसा प्रक्रिया नै खारेज गरिदिने गरेको छु ।’

किन मौन छन् निकाय ?

इजरायलस्थित नेपाली दूतावास समेत साइप्रसमा भएका सबै घटनाबारे प्रष्ट जानकार छ । पीडितहरुले नेपाली दूतावासलाई पत्र, इमेल तथा फोनमार्फत पनि गुनासो सुनाइरहेका छन् । तर, सरकारी तवरबाट कुनै पहल हुन सकेको छैन ।

कन्सुलर र दूतावासबाट धमाधम कामदारको लागि स्वीकृति दिँदा एजेन्सीहरु मोटाएका छन् भने कामदारहरु झन् पीडामा परेको पीडितहरू बताउँछन् ।

यसैबीच दूतावासलाई पीडितले पठाएको एउटा पत्र अनलाइनखबरले प्राप्त गरेको छ । पीडित (पुरुष कामदार)ले आफूलाई न्याय दिन अनुरोध गर्दै पत्र लेखेका छन् । उनले भनेका छन्, ‘म नेपालबाट हाउस ब्वाइ र हाउस ड्राइभरको काम र ४ सय ५० युरो तलब भनेर यता आएँ । तर तलब यता ३ सय १५ युरो मात्र रहेछ । त्यति मात्र होइन, घर मालिकले घरको काम दिएन, खेतीमा १२ घण्टासम्म काम लगायो । छुट्टी पाइनँ,खाना पनि राम्रोसँग दिएन । नेपालमा गौतम मेनपावरलाई ४ लाख ७० हजार रुपैयाँ तिरेर यता आएँ, तर आज बिचल्लीमा परेँ ।’

उनले १० दिनदेखि बसपार्कमा सुतेर बिस्कुट खाएर दिन काटेको समेत पत्रमा उल्लेख गरेका छन् । तर, हाल भने उनलाई साइप्रसमा रहेका एक विद्यार्थीले (नाम नखुलाइएको) उद्दार गरेका छन् । पत्रको अन्त्यमा दूतावासलाई यो पनि लेखेका छन्, ‘नेपालबाट पैसा मगाएर टिकट काटेर घर जाँदै छु । न यताको एजेन्सी सुन्छ, न नेपालको मेनपावर सुन्छ । मेरो साह्रै बेजोग भयो ।’

यस्तै, सोही म्यानपावरबाट होटलको कामका लागि आएका अर्का पुरुष नेपाली कामदार पनि बिचल्लीमा परेका छन् । होटलले १६ दिनसम्म राम्रै काम दिए पनि पछि अर्कै रेष्टुरेन्टमा लगेपछि धेरै गाह्रो र लामो ड्युटी परेको गुनासो गर्दै उनले अब आफू नेपाल फर्किने तयारी गरेको बताए ।

एनआरएन साइप्रसका अध्यक्ष भन्छन् – सरकार गम्भीर होस्

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साइप्रसका अध्यक्ष सुवास मल्ल नेपाली महिलाहरुले थुप्रै समस्या भोग्दै आएको बताउँछन् । साइप्रसमा महिलाहरु कामदारमाथि दुव्र्यवहारका घटना दिन-प्रतिदिन बढ्दै गएको अध्यक्ष मल्ल बताउँछन् ।

उनले भने, ‘हामीले धेरै दिदी-बहिनीका समस्याहरु सुनिरहेका छौं । अब भने नेपाल सरकार गम्भीर हुन जरुरी छ । चर्को शुल्क तिरेर साइप्रस आउने अवस्थालाई रोख्नुपर्छ । कम शुल्कमा सुरक्षित वैदेशिक रोजगारीको अवधारणा सरकारले छिटै ल्याओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment