Comments Add Comment

प्रहरी पुग्दा त्रिशुली किनारमा झोक्राइरहेका थिए सुशान्त

बस दुर्घटनापछि शोकमग्न बने रौतहटबासी

susant ghaite

१० भदौ, रौतहट । बिहीवार साँझ ५.३० बजे गौरबाट पोखराका लागि छुटेको बसमा गौरबाट ३० जना चढेका थिए जसमा ९ भारतीय यात्रुसमेत थिए । चन्द्रनिगाहपुर पुगेपछि सो बसमा ९ यात्रु थपिए । गाडीमा गौर, मुडवलवा र सिर्सियाका स्थानीयहरु बढी थिए ।

पोखरामा हुने शिक्षक सेवा आयोगको परीक्षा दिनेहरुसमेत बसमा थिए । शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुन गौरबाट दमौली हिँडेकी सन्ध्या श्रीवास्तव साथमा रहेको छोरालाई छाडेर कहिल्यै नफर्केर बाटोमा हिँडिन् । पुरेनवास्थित निमाविमा राहत दरबन्दीमा कार्यरत शिक्षिका रहेकी सन्ध्यासँगै यात्रा गरेका १० वर्षीय छोरा सुशान्त श्रीवास्तवको कथा कम्ता हृदयविदारक बनेन शुक्रबार बिहानको त्यो रात ।

१०० मा डायल गरे, आमालाई खोज्दा भेटेनन्

“निदाइरहेका बेला अचानक गाडी ठूलो आवाजका साथ गाडी तल बजारियो ।” १० वर्षीय सुुशान्त श्रीवास्तवले घटना सम्झँदै भने “सुरुमा के भयो थाहा भएन तर बस नदीभित्र थियो । सबैजना कराइरहेका थिए ।”

Sandhya-Shreewastavआमासँगै रहेका सुशान्त बसभित्रका मान्छेको शरीरमा टेक्दै झ्यालबाट बाहिर निस्किए । घटना सुनाउँदै उनले भने “कसैको मोबाइल खसेको थियो, मैले टिपेर फोन लगाउन खोजें, नेटवर्कले काम गरेन । नदी छेउको घाँस समाउँदै माथि उक्लिन थालें केहीबेरमा फोनले काम गर्‍यो । तर, कसैको नम्बर सम्झिन सकिँन अनि १०० नम्बरमा डायल गरें ।”

सयमा डायल गर्दा प्रहरीकोमा फोन पुग्छ भन्ने थाहा भएका सुशान्तले सबै घटना फोनमै प्रहरीलाई सुनाए । प्रहरीहरु विहान ५ बजेतिर घटनास्थलमा पुगे ।

दुर्घटनापछि सुशान्तले आमालाई खोज्ने प्रयास गरे । तर, कहीँ फेला पारेनन् । प्रहरी र स्थानीय घटनास्थलमा पुग्दा पनि सुशान्त नदीको डिलमै झोक्राइरहेका थिए ।

सुशान्तको पिठ्युँमा घाउ लागेको छ । उनको उपचार भइरहेको उनका मामा सुधीर श्रीवास्तवले अनलाइनखबरलाई बताए । सन्ध्याको मृत्युको खबरपछि उनकी आमा अर्थात सुशान्तकी हजुरआमा मूर्छित बनेकी छिन् ।

शोकमा डुब्यो रौतहट

एकाबिहानै बस दुर्घटनाको समाचार आउनासाथै परिवारजन र आफन्तमा रुवाबासी चलेको छ । रौतहटको गौरबाट पोखराका लागि हिँडेको ग १ ख ३७०१ नम्बरको बस शुक्रबार बिहान चितवन-मुग्लिङ्ग सडक खण्डको चण्डीभज्याङ्ग ६ कालिखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेको खबरपछि रौतहटमा शोक छाएको हो ।

खानेपानी संस्थानमा कार्यरत जोखु साह आफ्नो कार्यभार सम्हाल्न पोखराको हेम्जा जाँदै थिए । गौर १२ पुरेनवा निवासी साहको पनि दुर्घटनामा मृत्यु भयो । सदरमुकाम गौरकै खानेपानी संस्थानमा लामो समय काम गरेका साहको केही दिन अघिमात्रै हेम्जा सरुवा भएको थियो ।

शुक्रवारदेखि ड्युटी जानुपर्छ भन्दै बिहीवार घरबाट बिदा भएका साहको शव लिन उनका दुई छोराहरु भरतपुर अस्पताल पुगेका छन् ।

बसमा यात्रा गरिरहेका चित्ररञ्जन यादवका परिवारजन पनि शोकाकुल बनेका छन् । दुर्घटनामा छोरा गुमाएकी वृद्धा सिकिलादेवीले चित्त बुझाउने कुनै ठाउँ छैन । वृद्धाको क्रन्दनले वरिपरिका छिमेकीका आँखा रसाएका छन् । छोरा वियोगमा रहेकी सिकिला घरिघरि मूर्छा पर्छिन् र ब्युझँदा छोरालाई पुर्कान थाल्छिन् । शोकले सिंगै गाउँ रोइरहेको प्रतीत हुन्छ ।

Accident-Death

दुर्घटनामा ज्यान गुमाएका २२ मध्ये रौतहटका १८ भन्दा बढी परिवारजनको अवस्था अहिले कारुणिक छ । क्षणभरमै आफ्नो संसार उजाडिएपछि कतिपय वालवालिका टुहुरा भएका छन् भने कति महिलाको सिउँदो पुछिएको छ । खराब सडक र चालकको लापरवाहीले अनाहकमै ज्यान गुमाउनु पर्दा परिवारजनलाई खपिनसक्नु पीडा भएको छ ।

चितवन प्रहरीको पछिल्लो जानकारी अनुसार रौतहट मुडवलवा ३ का ३५ वर्षीय चित्ररञ्जन यादव, मुडवलवा ६ का ३३ वर्षीय राजेशप्रसाद यादव, लौकाहाका ३० वर्षीय राकेश यादव, कटहरिया ९ का वृजकिशोर कुशवाहा, महम्मदपुर ८ का २४ वर्षीय प्रमोद राम, गौर १२ का ५५ वर्षीय जोखु साह, सिर्सियाकी २५ वर्षीय सन्ध्या श्रीवास्तव, बसन्तपुर १ का गणेशकुमार साह, इनर्वा ७ का ६५ वर्षीय जोगेन्द्र गिरी, भारत पूर्वी चम्पारण बिहारका ३६ वर्षीय शंकर ठाकुरको मृत्यु भएको छ । अन्यको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment