Comments Add Comment

कांग्रेस मन्त्रीका अनेक संयोगः पञ्चायतका हस्तीदेखि माओवादी पीडितसम्म

Congress-Ministers-after-Oa
१० भदौ, काठमाडौं । प्रचण्ड नेतृत्वको क्याबिनेटमा कांग्रेसका तर्फबाट थपिएका नयाँ मन्त्रीहरुका केही यस्ता संयोग छन् जुन एउटा परिवार वा जिल्लाका लागि सुखद हुन सक्छन् । यो अर्को एउटा संयोग हो कि क्याबिनेटमा अर्जुननरसिंह केसी र गगन थापा ज्वाइँ -ससुरा एकै साथ पुगेका छन् ।

केसी परिवारका लागि यो सुखद संयोग त हुने नै भयो, स्वास्थ्यमन्त्री बनेका थापाका काकाससुरा केदारनरसिंह केसी नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत भएकाले स्वास्थ्य क्षेत्रका माग र समस्याबारे गगनले घरभित्रैबाट धेरै जानकारी लिन सक्नेछन् ।

नुवाकोट यस्तो भाग्यमानी जिल्ला हो, जहाँबाट प्रायः कुनै पनि सरकारमा कम्तिमा एक मन्त्री हुने गर्छन् । केपी ओली नेतृत्वको सरकारमा नुवाकोटबाट कोही मन्त्री बनेका थिएनन् यद्यपि नुवाकोटकै बिष्णु रिमाल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार थिए ।

यसपटक नुवाकोटबाट तीनजना मन्त्री बनेका छन् । सहरी विकास मन्त्री अर्जुननरसिंह केसी, परराष्ट्रमन्त्री प्रकाशशरण महत र राज्यमन्त्री राधिका तामाङ । तामाङ माओवादी केन्द्रकी हुन् भने केसी र महत कांग्रेसको देउवा खेमाका ।

नुवाकोटको राजनीतिमा पुस्तौनी दुश्मनी भए पनि केसी र भाइ महत संयोगले केन्द्रको राजनीतिमा देउवासँग जोडिएका छन् । महतसहित नुवाकोटबाटै परराष्ट्र मन्त्री बन्ने नेताको संख्या चार पुगेको छ । यसअघि महतकै दाजु रामशरण, एमालेका महेन्द्रबहादुर पाण्डे र राप्रपाका प्रकाशचन्द्र लोहनी परराष्ट्रमन्त्री बनिसकेका छन् ।

कांग्रेसबाट थपिएकामध्ये सूर्यमान गुरुङ बाहेक सबै मन्त्री केन्द्रीय कार्य समितिका सदस्य हुन् । शंकर भण्डारी, नविन्द्रराज जोशी, दीपक गिरी, सीतादेवी यादव, हृदयराम थानी, जीवनवहादुर शाही र गगन थापा पहिलोपटक मन्त्री बनेका छन् भने सूर्यमान गुरुङ पहिलो संविधानसभा विघटन हुनुअघि बाबुराम भट्टराई नेतृत्वको सरकारमा १३ दिन मन्त्री बनेका थिए ।

अर्जुननरसिंह केसी यसअघि तीनपटक मन्त्री भइसकेका नेता हुन् भने केशवकुमार बुढाथोकी पञ्चायतकालमै राज्यमन्त्री भइसकेका नेता हुन् । ०३९ सालमा अर्जुननरसिंह केसी सूर्यबहादुर थापाको क्याबिनेटमा स्वास्थ्य राज्यमन्त्री बनेका थिए । अहिले केसीका ज्वाइँ गगन गापाले पनि स्वाथ्यमन्त्रीबाटै आफ्नो करिअर निर्माणको सौभाग्य पाएका छन्, यो अर्को अनौठो संयोग हो ।

सीतादेवी यादवः माओवादी पीडितलाई शान्ति मन्त्री

नेपाली कांग्रेसको पदाधिकारीबाट मन्त्री बन्ने सीतादेवी यादव एकमात्र शीर्ष नेतृ हुन् । । मधेसी महिलाबाट कांग्रेसको उपल्लो नेतृत्वमा पुग्ने चित्रलेखा यादव र सीतादेवी यादव संयोगले दुवैजना सिराहाकै हुन् । र, उनीहरु पालैपालो कांग्रेसको कोषाध्यक्ष भएका छन् ।

Sita-Devi-Yadavसीतादेवीको जीवनमा अर्को संयोग के हो भने, उनी माओवादी युद्धले विधवा बनाइएकी माओवादी पीडित नेतृ हुन् । संयोगवस माओवादीपीडित सीतादेवी माओवादीकै नेतृत्वमा रहेको सरकारमा मन्त्री बन्न पुगेकी छन् । र, थप रोचक के छ भने उनको जिम्मामा परेको छ द्वन्द्वको व्यवस्थापन गर्ने शान्ति मन्त्रालय ।

सीतादेवीका पति सिराहा जिल्ला विकास समितिका सभापति चन्द्रनारायण यादवको तत्कालीन विद्रोही माओवादीले हत्या गरेका थिए ।

शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउन भनेर बनेको सरकारको शान्ति मन्त्री द्वन्द्वपीडित महिला नै बन्नुले धेरै अर्थ राख्न सक्छ । उनका पतिको हत्या ०५७ सालमा भएपछि दुई पटक कांग्रेसको जिल्ला सभापति बन्दै केन्द्रीय कोषाध्यक्ष बनेकी हुन् ।

६० वर्षीया सीतादेवी अन्तरिम संसद ०६२/६३ मा मनोनित सांसद थिइन् । आइएसम्मको औपचारिक शिक्षा लिएकी यादवले १ वर्ष भूमिगत जीवन र ५ महिना बन्दी जीवन बिताएको संसद सचिवालयले प्रकाशित गरेको उनको जीवनीमा उल्लेख छ । उनको जन्म भारतमा भएको हो र उनी वैवाहिक अंगीकृत नेपाली नागरिक हुन् ।

अर्जुननरसिंहः सूर्यबहादुरका २२ भाइ र देउवाको बाध्यता

७० वर्षीय अर्जुन नरसिंह केसीका लागि शहरी विकास मन्त्रालय नयाँ भए पनि मन्त्री पद भने नयाँ होइन । उनले यस अघि शिक्षा, स्वास्थ्य र आवास तथा भौतिक योजना जस्ता आकर्षक मन्त्रालयको अनुभव हासिल गरिसकेका छन् ।

Arjun-Narsing-KCयसपटक पनि उनले रोजेका गृह, भौतिक पुर्वाधार र शिक्षा मन्त्रालय नपाएपछि चौथो प्राथमिकताको शहरी विकास रोजेका हुन् । ०५६ साल ०६४ सालमा चुनाव हारेका केसीले १७ वर्षपछि मन्त्री बन्ने अवसर पाएका छन् ।

कांग्रेसको राजनीतिमा २०१८ सालदेखि नै आवद्ध भए पनि पञ्चायतकालको अन्तिम समयमा उनी पञ्च बने । पञ्चायतकालमा नुवाकोटबाट राष्ट्रिय पञ्चायत सदस्य जितेका केसी तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापालाई हटाएर लोकेन्द्रबहादुर चन्दलाई बनाउने बेला थापा पक्षका २२ भाइ मध्येका एक थिए ।

जनआन्दोलन ०४६ को सफलतापछि कांग्रेसमा फर्किएका केसी ०४८ र ०५१ मा नुवाकोटबाट चुनाव जितेर मन्त्री बने । यसबीचमा उनी कांग्रेसको सहमहामन्त्री र प्रवक्तासम्म बने पनि यसपटक महामन्त्रीमा डा. शशांक कोइरालासँग पराजित भए ।

पेशाले कानुन व्यवसायी र केही समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन समेत गरेका केसी नुवाकोटको राउतबेंसीका खानदानी भगावनसिंह केसीका छोरा हुन् । उनका भाइ जगदीशनरसिंह केसी पनि कांग्रेसबाट सांसद तथा नुवाकोट जिल्लाका सभापति छन् ।

केशवकुमार बुढाथोकीः पञ्चायतदेखि गणतन्त्रसम्म मालामाल

अर्जुननरसिंह केसी र केशवकुमार बुढाथोकीको जीवनको साझा संयोग दुवैजना पूर्वपञ्च हुन् । बुढाथोकी पनि केसीजस्तै पञ्चायतकालमा राज्यमन्त्रीसम्म बनेका पञ्च हुन् ।

पछिल्लो शाही शासनका बेला पनि बुढाथोकीले राजाको कदमको समर्थन गरेपछि कांग्रेसले उनलाई निश्कासन गरेको थियो । पछि शेरबहादुर देउवाले प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्य बनाएपछि उनी चोखिएका हुन् ।

झापामा कुमार बुढाथोकीका नामले निकै लोकप्रिय रहेका बुढाथोकीले दुवै संविधानसभा चुनावमा झापा क्षेत्र नम्बर ५ बाट चुनाव जिते । उनलाई सिद्धान्तवादी नेता भन्दा पनि व्यवहारवादी भनेर चिन्छन् झापालीहरु ।

बालकृष्ण खाँडःमहामन्त्री खोज्दा मन्त्री पाइयो

Balkrishna-Khandकांग्रेस राजनीतिमा कृष्णप्रसाद भट्टराईको सान्निध्य फापेका थोरै नेतामध्येका एक हुन् रक्षामन्त्री बालकृष्ण खाँड । उनी पछिल्लो समय शेरबहादुर देउवाको विश्वासपात्र हुन् ।

नेपाल विद्यार्थी संघ र तरुण दल जस्ता कांग्रेसका शक्तिसाली भातृ संगठनको अध्यक्ष बनेर उनी कांग्रेसमा स्थापित भए ।

नेविसंघ अध्यक्ष हुँदाहुँदै २०४८ सालमा रुपन्देहीबाट सांसद बनेका खाँड ०५१ मा एमालेका मोदनाथ प्रश्रितसँग पराजित भए । उनी ०५६ को चुनाव लडेनन् । त्यसयता भने लगातार सांसद छन् ।

यसअघि सिँचाइमन्त्री भएका खाँडका हातमा मन्त्री वा कांग्रेसको महामन्त्री बन्ने रोजाइ थियो । देउवाले उनलाई पार्टीको महामन्त्रीको साटो रक्षामन्त्री बनाएर सरकारमा पठाए ।

प्रकाशशरण महतः भाग्यको साथ श्रीमतीको हात

कांग्रेस महाधिवेशनमा सर्वाधिक मत ल्याएर जितेका कोइराला परिवारका प्रभावशाली सदस्य शेखर कोइरालालाई रोकेर परराष्ट्रमन्त्री बन्न सफल डा.प्रकाशशरण महत भाग्यले अघि बढेका कांग्रेस नेता हुन् ।

Prakash-Sharan-Mahatनेविसंघको राजनीति गर्दागर्दै अध्ययनका लागि अमेरिका गएका महत आफ्ना दाजु रामशरण महतजस्तै अर्थशास्त्रमा पीएचडी हुन् । अमेरिकाबाट पीएचडी गरेर नेपाल फर्किँदा देउवा कांग्रेसको राजनीतिमा उनी हाबी हुँदै थिए । उनले त्यही मौकामा ०५८ तिर प्रधानमन्त्री देउवाको आर्थिक सल्लाहकार बनेर कांग्रेस राजनीतिमा पुनरागमन गरे ।

देउवाको आर्थिक सल्लाहकार हुनुअघि उनी माओवादी समस्याबारे अध्ययन गर्न बनेको आयोगको सदस्य थिए । उनले योजना आयोगको सदस्यका रुपमा पनि भूमिका निभाइसकेका छन् ।

देउवाको आर्थिक सल्लाहकार भएकै बेला नेपाली कांग्रेस विभाजित भएर देउवाले प्रजातान्त्रिक कांग्रेस गठन गरेपछि प्रकाशशरण एकाएक केन्द्रीय सदस्य भए भने दाजु रामशरण महत संस्थापन पक्षमै रहे । अहिलेसम्म पनि दाजुभाइ दुबैजना कांग्रेसको राजनीतिमा एकै गुटमा रहन सकेका छैनन् ।

अहिले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका यसअघि पनि प्रकाशशरण परराष्ट्र राज्यमन्त्री र उर्जामन्त्री भइसकेका छन् । संविधानसभाका दुवै चुनावमा समानुपातिक कोटामा सांसद भएका महतलाई चिन्नेहरु भन्छन्- नेताका रुपमा उनी स्वतन्त्र रहे पनि मन्त्रालय चलाउने सन्दर्भमा पत्नी बिना महत हावी हुने गर्छिन् ।

शंकर भण्डारीः बाहुबली नेता, खुमबहादुरका खम्बा

Shankar-Bhandariत्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएकै बेला अर्कालाई परीक्षा दिन लगाएर विवादमा तानिएका वनमन्त्री शंकर भण्डारी कांग्रेसभित्र बाहुबली नेताका रुपमा चिनिन्छन् ।

प्रायः विवाद र डाङडुङबाट चर्चित भइरहने भण्डारी खुमबहादुर खड्कालाई अख्तियारले भ्रष्टाचार अभियोगमा पक्राउ गर्दा केटाहरु जम्मा पारेर अख्तियार विरुद्ध जुलुस लगाएर पनि चर्चामा आएका थिए ।

हातमा सुनको ब्रासलेट र काँधमा सुनकै सिक्री लगाउन सौखिन भण्डारी कांग्रेस कार्यकर्ताबीच लोकप्रिय छन् । तनहुँबाट गोविन्दराज जोशीलाई पाखा लगाएर चुनाव जितेपछि उनी पहिलोपटकमै वन मन्त्री बन्न सफल भएका छन् खुमबहादुरको कोटाबाट ।

दुई पटक कांग्रेस केन्द्रीय सदस्य भइसकेका भण्डारी जिल्लाको राजनीतिमा भने रामचन्द्र पौडेलसँग निकट छन् । उनी खुमवहादुरको नेतृत्वमा सञ्चालित हिन्दू राष्ट्र अभियानका एक सक्रिय अभियन्तासमेत हुन् ।

सूर्यमान गुरुङ-प्रचण्ड सरकारका ठूल्दाजु

Suryaman-Gurungप्रचण्ड सरकारका सम्भवतः सबैभन्दा जेठा मन्त्री हुन् सूर्यमान गुरुङ । ७५ वर्षीय बयोवृद्ध नेता गुरुङ यसअघि ०६९ सालमा १३ दिनका लागि मन्त्री भएका थिए । जीवनभर कोइराला परिवारको निकट रहेर राजनीति गरेका गुरुङ गत महाधिवेशनमा भने देउवातिर लागे ।

अघिल्लो संविधानसभामा ताप्लेजुङ १ बाट प्रत्यक्ष निर्वाचित भए पनि यसपटक उनी समानुपातिकबाट सांसद भएका हुन् । ९ वर्ष भूमिगत र त्यति नै अवधि निर्वासनमा रहेर राजनीति गरेका गुरुङ कांग्रेसभित्र इमान्दार नेताका रुपमा चिनिन्छन् ।

नविन्द्रराज जोशीः जसको निधारमा सधै जित

उद्योगमन्त्री नविन्द्रराज जोशीको जीवनमा संयोग नै मान्नुपर्छ, उनले प्रतिस्पर्धा गरेका प्रायः कुनै पनि चुनाव हार्नुपरेको छैन । ०४९ सालको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको पहिलो उपमेयर निर्वाचित भएका जोशी दुबै संविधानसभा निर्वाचनमा काठमाडौं ८ बाट निर्वाचित भए ।

नेविसंघको महामन्त्री हुँदै हाल कांग्रेसको केन्द्रीय सदस्य रहेका जोशी रामचन्द्र पौडेलका विश्वासपात्र मध्येका पर्छन् ।

दीपक गिरीः चलखेलमा माहिरः शशांकको आशिर्वाद

Dipak-Giri,-Ministerकांग्रेस राजनीतिमा चलखेल गर्न खप्पिस मानिने युवा नेतामध्येमा पर्छन् सिंचाइँ मन्त्री दीपक गिरी । लाभको पदमा नरहँदा पनि आर्थिक सम्वृद्धि हासिल गर्न सिपालु गिरी दाङका जमिन्दारभित्र पर्छन् ।

गिरी ०५१ सालमै सांसद हुने थिए । तर, त्यसबेला बिजौरीमा गोली चलेर एमालेका चार जना कार्यकर्ता मारिएपछि भएको विवादका कारण उनी एमालेका युवा नेता शंकर पोखरेलसँग पराजित भए । त्यसपछि उनी कांग्रेस राजनीतिमा पछि परे ।

सशांक कोइराला कांग्रेस राजनीतिमा उदाएपछि उनले शुरुदेखि नै शशांकलाई समाते । यसपटक पनि सशांक कोइरालाकै जोडबलमा पौडेल समूहबाट गिरीले मन्त्री बन्ने अवसर पाएका छन् ।

अर्को संयोग के छ भने राजधानीको टोखामा गिरीले शशांक कोइरालाको सँगै जोडिएको अग्लो घर बनाएका छन् । गिरीको घरछेउमा कोइरालाको घर निकै फुच्चे देखिन्छ ।

रोमी गौचन थकालीः सुजाताको सदैव साथ

यसअघि परराष्ट्र सहायकमन्त्री बनिसकेका रोमी गौचन थकालीलाई यसपटक रामचन्द्र पौडेलले मन्त्री बनाउन चाहेका थिएनन् । तर, सुजाता कोइरालाको पावर लगाएर रोमी मन्त्री बन्न सफल भएको कांग्रेस वृत्तमा चर्चा छ ।

कांग्रेसमा खासै प्रोफाइल नभए पनि उनले मुस्ताङबाट ०५६ र ०७० चुनाव जिते । अर्जुन जोशी देउवा खेमातिर नलागेका भए सम्भवतः यसपटक पौडेल पक्षले उनलाई मन्त्री बनाउने थियो । जोशीले गुट परिवर्तन गरेको फाइदा पनि रोमीलाई भयो ।

हृदयराम थानीः विचारमा दृढ, व्यवहारमा सरल

Hridayaram-Thaniहृदयराम थानी कुनै बेला कृष्णप्रसाद भट्टराई निकट भए पनि पूर्णवहादुर खड्का भट्टराईको निकट भएपछि कोइराला पक्षमा लागेका थिए । ०४८, ०५६ र ०७० गरि तीन पटक सांसद भए पनि उनको जीवनमा मन्त्रीको अनुभव पहिलो हो ।

सुर्खेतमा एउटा रमाइलो प्रसंग चर्चित छ, कांग्रेसका थानी र एमालेका यमलाल कँडेलबीच चुनावी लुकामारीको । विद्यार्थी खालमा शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा थानीसँग कँडेल हारेका थिए ।

०४८ पनि थानीसँगै सुर्खेतमा कँडेल चुनाव हारे । ०५१ मा एमालेका कँडेलसँग कांग्रेसका थानी हारे भने ०५६ पनि फेरि थानीले जिते कँडेल हारे । ०६४ को पहिलो संविधानसभा चुनावमा कँडेलले थानीलाई हराएर बदला लिए भने ०७० मा फेरि थानीले जिते भने कँडेल हारे ।

रामचन्द्र पौडेल पक्षले पूर्णबहादुर खड्काको विपक्षमा सुर्खेतकै थानीलाई अघि बढाएको प्रष्ट बुझ्न सकिन्छ । राजनीतिमा दृढ तर व्यवहारमा सरल स्वभावका थानी नेविसंघको उपाध्यक्षसमेत भइसकेका नेता हुन् ।

जीवनबहादुर शाहीः कर्णालीका आशाका किरण

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका पर्यटनमन्त्री जीवनवहादुर शाही कर्णालीका आशालाग्दा युवा नेता हुन् । कांग्रेसको जिल्ला सभापति केन्द्रीय सदस्य हुँदै उनी पहिलो पटक मन्त्री बनेका छन् ।

बौद्धिक नेताको छवि बनाएका शाही शेरबहादुर देउवाका निकटस्थ मानिन्छन् । उनी कणर्ालीको विकासमा चिन्तनशील नेता हुन् ।

गगन थापाः खुला किताब तर, चुनौतिको चाङमा

नेपाली राजनीतिमा गगन थापा चिनाइरहनुपर्ने अनुहार होइनन् । नेविसंघको महामन्त्री हुँदा नै राजतन्त्र विरुद्ध गणतन्त्रको नारा लगाएर राज्यद्रोहको अभियोगमा जेल सजायँ भोगेपछि गगन राजनीतिक वृत्तमा चर्चामा आएका हुन् ।

Gagan Thapa (5)गगनले कांग्रेसभित्र धेरैपटक अपमान सहे । उनलाई नेविसंघ अध्यक्ष बन्न नदिन पोखरा महाधिवेशननै भाँडियो । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले गगन थापा र नरहरी आचार्यले गणतन्त्रको कुरा गरिरहेका बेला उनीहरु दरबारबाट परिचालित भन्नसम्म भ्याए ।भाषणमा वाकपटुता, अध्ययन र बौद्धिक बहसका कारण लोकप्रिय बनेका गगन उनको आउटलुकका कारणले पनि युवा पुस्ताका क्रेज बनेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ बाट दुई तिहाइ मतले जित्दा उनका निर्णायक मतदाता युवा पुस्ता नै थिए ।एकपटक समानुपातिक र एकपटक प्रत्यक्ष निर्वाचित सांसद बनेका थापा जनताका एजेण्डा बोक्ने र मिडियामा बिक्ने कुरा बोल्ने नेताका रुपमा पनि स्थापित छन् ।

पछिल्लोपटक लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्छ भन्दै डा. गोविन्द केसीको माग पूरा गराउन उनकै नेतृत्वमा संसदमा संकल्प प्रस्ताव दर्ता भएको थियो । जुन प्रस्तावमाथि छलफल हुन बाँकी छ । यसबीचमा उनी संयोगबस स्वास्थ्यमन्त्री बनेका छन्, जुन मन्त्रालयले गोविन्द केसीका अधिकांश मागको सुनुवाइ गर्न सक्छ ।

गगनको अग्निपरीक्षा शायद यहीँबाट शुरु हुनेछ । गत महाधिवेशनमा कांग्रेसको तेस्रो धार बनाएर महामन्त्रीमा प्रतिस्पर्धा गर्दा सम्मानजनक मत पाएर पराजित भए पनि त्यही बिन्दूबाट गगनको राजनीतिक उचाइ अझ बढेको छ, जसका कारण आज उनी स्वाभाविक मन्त्री बनेका छन् ।युवा नेताहरु आदर्शका कुरा गर्ने तर पदमा पुगेपछि व्यवहारमा उतार्न नसक्ने भनेर आलोचित भइरहेका बेला गगनले ती आलोचना चिर्ने चुनौति पनि बोकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment