Comments Add Comment

कथा : पश्चाताप

‘म लड्दा तिमीले उठायौ भने, बिरामी हुँदा तातो पानी दियौ  भने र म  मर्दा एक तुर्को आँसु खसालिदियौ  भने पो  तिमी र म  हुनुको अर्थ हुनेछ,’  एकै सासमा यति बोलिसकेपछि थाकेर गलेका आँखाले मलाई पुर्लुक्क हेर्‍यो ।

Krishna KC
कृष्ण केसी

मन भक्कनियो । मुटु बेतोडले धड्कियो । फुङ्ग उडेको उसको मुहार एकनासले हेरिरहेँ । कति दिनदेखिको भोको थियो ऊ । उपचारको अभावमा गलेको थियो ।  उसको वर्तमान परिस्थितिको बारेमा मनभरि एकनासले कुरा खेलिरहे । दह्रो मुटु बनाएर उसको हात च्याप्प समाई छेउमै बसिरहेँ । निर्दोष मनको न्यानो स्पर्शले ऊ भुसुक्कै निदायो ।

स्थान उही, वातावरण फरक । जोडी उही, मन फरक । विश्वास उही तर समय फरक l विगत कोट्याउँदा वर्तमान बेस्कन दु:खेर आयो । अघाउन्जेल कोठाभरि नियालेर हेरेँ मेरा मिहिनेत र पसिनाका सिर्जनाहरु । केवल कहीँ कतै नमेटिने दाग बनेर मेरै पर्खाइमा बसिरहेको भान भइरहेको थियो ।

फरक मन र फरक विचार जब एक बनेर यो घरभित्र चित्रित हुन्थे, त्यतिवेला अधुरा र अपूरा सिर्जनाहरु पनि आफैंमा मुस्कुराइदिन्थे । समयका असीमित घेराहरुलाई मापन गर्न नसक्दाको परिणाम, सँगै हिँड्दा लागेको ठेस आज पर्यन्त दुखिरहन्छ ।  जब विश्वासहरु अविश्वासमा परिणत हुँदै गए, यही घरका भित्ताहरुमा मैले कोरेका सपनाहरु नदेखिने गरी पोतिएर विलीन हुन पुगे ।

जतिबेला मैले उसलाई भेटेको थिएँ, नितान्त एक्लो थियो l चिनारीका कुनै पृष्ठभूमि थिएन । जिन्दगीका अनगिन्ती मोडहरुमा देखादेख भइरहँदा कतिबेला मेरो मनभित्र बस्यो, थाहै भएन ।
सपनाको महासागरमा पौडिनै परेन । हात दिएँ, सहर्ष थामिदियो l विश्वास भरिएको गमला लिएर यही घरलाई पवित्र मन्दिर ठान्दै आफ्ना पदचापहरुलाई  विश्राम दिएकी थिएँ l

काउकुती मात्र लागिरहने अनौठा थिए साथका ती सुरुवाती दिनहरु । बार्दलीभरि लहरै राखिएका गमलाका फूलहरु पनि हामीबीचको अद्भूत संगमलाई देखेर बेप्रवाह फुलिदिन्थे l फुलेका फूलका थुङ्गामा ऊ जति आकर्षित भइदिन्थ्यो त्यति नै म पनि समाहित भइदिन्थेँ । लाग्थ्यो, जिन्दगी भनेकै यही रहेछ l

थकान जतिसुकै किन नहोस्,  बिहान उठेर आफ्ना छरपष्ट  केश सम्हालेर गुजुल्टो बनाउँदा सबै थकान त्यही गुजुल्टोमा पोको परेर थन्किएको महसुस हुन्थ्यो l भरणपोषणको कुनै चिन्ता थिएन l न त आफन्त र नातेदारको बन्धन थियो l

ऊ दिनभर कमाउँथ्यो र बेलुका झोलाभरि खुसी ल्याएर मेरा पोल्टाभरि राखिदिन्थ्यो l  जति समय म ऊ सँग रहे पनि मलाई  न त कुनै  रहर देखाएर लोभ्यायो, न त कुनै सपना देखाएर झुलायो l मान्छे साच्चिकै बिन्दास थियो !

टुहुरो थियो l समयका अत्यासलाग्दा यात्राका अप्ठ्यारा पहराहरु जसरी छिचोलेको थियो । तर, तिनै भिरपाखाहरुसँग सधैं डराएर वर्तमानको बाटो तय गर्नु उसको कमजोरी थियो l सानैमा टुहुरो हुनु, समाजबाट टाढिएर एक्लिनुमा तिम्रो  कुनै दोष होइन भनेर मैले धेरै पटक सम्झाउने कोशिस पनि गरेकी हुँ l तर, आफ्नो बाटोबाट कत्ति पनि हलचल हुन चाहेन l

आफूले जसरी जीवनका यात्राहरु छिचोल्यो, त्यही नै जिन्दगी हो भन्ने अति संकीर्ण विचार नै हाम्रो बिछोडको कारण बन्न पुग्यो l प्रेममा  उसले म बाहेक अरु कोही नदेख्नु मप्रतिको निस्वार्थ  माया वा आशक्ति होला । तर, त्यसो  भनेर म पनि ऊ जस्तै समाजबाट टाढिएर बस्न पनि त मिल्दैनथ्यो l चाहेर पनि स-साना कमजोरी सच्याएर जान नसक्नु नै हाम्रो बिछोडको कारण बन्न पुगेको थियो l

खै ती मेरा परिश्रमले रङ्ग्याएका गमलाहरु कतै देखिँदैनन् l सायद आफूले नदेख्ने गरी फ्याँकेको हुनुपर्छ l बार्दली उस्तै छ, मात्र रङ उडेका छन् l मप्रतिको विश्वास गुमाएपछि यही बार्दलीमा उसले मलाई भुत्ल्याउँदा त्यतिवेला फूलहरु निमोठिएका थिए l गमलाहरु फुटेका थिए l

म भित्रिँदा लिएर आएको विश्वासको गमला फुटिसकेपछि सँगै फुल्नुको अर्थ देखिनँ । खुला हृदयले पवित्र मन्दिर ठानेको यही घरका मेरा पदचापहरुलाई मेट्दै म बाहिरिएकी थिएँ l सायद यतै कतै अझै पनि हुनुपर्छ मैले छोडेका त्यति बेलाका मेरा प्रमाणहरु l

‘सालिनी, तिमी मसँगै छ्यौ ?’

म झसङ्ग भएँ, डराएँ l अहिलेसम्म उसको हातमा बाँधिएर रहेका मेरा हातहरु फुत्किए l म बोलिनँ l विगतले घोचिरहेको थियो l मेरा नयनहरु मप्रति अन्याय हुँदा लुछिएका मेरा कपालका एक-एक रौँ हरु खोजिरहेका थिए l

मैले मेरो सपनाको सानो संसार चाहेकी थिएँ l मेरा साथीसंगीको जस्तै मेरो पनि आफ्नो घर होस् l मेरो आफ्नो सन्तान घरको आँगनीमा ढलिमली गरोस् l सन्तानको भविष्यको सुनिश्चितको लागि केही धन मौज्दात होस् । बस्, यही त थियो मेरो सपना । हरेक नारीको सपनाभन्दा के नै त्यस्तो भिन्न  सपना थियो र ! उसले गलल्ल हाँसेर मेरो नराम्रो मजाक उडाएको थियो । मेरो सपना र चाहनाप्रतिको मजाकले विकसित गरेको घटनाक्रममा बढेको अविश्वास मेटाउन मैले थुप्रै समय खर्चिनुपरेको थियो l

‘एक शब्द त बोलिदेऊ सालिनी,’ सकीनसकी फेरि बोल्यो l उसका आँखा रसाइसकेका थिए l मेरो भने मन रसाए पनि आँखा भने अझै ओबानै  थिए l
‘पानी पिउछौ ?,’ बाध्यता थियो, बोलिदिएँ l पश्चाताप र आत्मग्लानिका थुप्रै भाव उसका मुहारमा छरपष्ट हुँदै गइरहेका थिए l नाजुक स्वास्थ्यका कारण उसले व्यक्त गर्न नसकेका भावना मैले बुझिरहेकी थिएँ । तर, केही भनिनँ l सोध्ने र केही भन्ने अधिकारबाट आफू वञ्चित भइसकेको मैले अनुभूति गरेकी थिएँ l
हाम्रो दाम्पत्य जीवनको आधारशिला सामान्य अविश्वासमा टुंगिएको थियो l सम्बन्ध र हामीबीचको नाता नचाहेर पनि टाढा भइरहेको थियो l बिछोडको यो समय हामी एक-आपसबाट शून्यतामा हराइरहेका थियौं l तीन वर्षको वैदेशिक रोजगारीबाट म फर्किरहेकी थिएँ l भौतिक सुख-सुविधाका आफ्ना चाहनाहरु क्रमश: पूरा गर्दै थिएँ l बाँकी थियो त केवल पारिवारिक सुख मात्र l
तीन महिनाको बिदामा जब मैले मेरो धर्ती टेकेँ, मलाई आफ्नो भन्नेले पर्खिएको महसुस भयो l विमानस्थलबाट मेरा पाइला अन्त कतै मोडिन चाहेनन् l आफ्नो भन्नेको आवश्यकताले बेस्कन मन पोलिरह्यो l आफैंले आफैंलाई सम्हालिरहँदा यत्तिकैमा बाटोमा कसैले भनिदियो – ‘तेरो मान्छे सिकिस्त बिरामी छ l’

बिना कुनै संकोच उसको अनुहारलाई आँखाभरि सजाउँदै उसको घरभित्र पसेको थिएँ । जहाँ कुनै वेला मेरा पनि पसिना पोखिएका थिए, आँतका रगतहरु लत्पतिएका थिए । पस्नासाथै अघाउन्जेल उसलाई हेरेकी थिएँ l

‘सालिनी, के  तिमी सधैंको लागि मसँगै आएकी हौ ?,’ फेरि बोल्यो l उसको विनम्रतामा आशावादी सपनाहरु थिए l

‘जीवन जिउनुको आवश्यकता तिमीले महसुस गर्‍यौ त ?,’  सोध्ने मन थियो, तर सकिनँ l

उसको सोझोपन, इमान्दारी र आत्मग्लानि सँगसँगै व्यक्त भइरहेका थिए l  केही सोधेर खाटा परिसकेको घाउ कोट्याउनु कुनै जरुरी ठानिनँ l

‘तिम्रो अन्तर आत्माले चिन्छ, म को हुँ ?,’ भित्रैदेखि भक्कानिएको मनले सोधेँ ।

‘सालिनी मेरी सालिनी,’ केवल सासले बोल्यो l

मैले सुनेँ l भक्कानिएर बेस्करी रोएँ l त्यो रुवाइमा मेरा पनि इमान्दारी प्रकट भएका थिए l

कसैलाई व्यक्त गरेर हामीबीचको सम्बन्धबारे बहस-पैरवी गर्दै प्रमाण पेश गर्नुको कुनै आवश्यकता थिएन l बिना हिच्किचाहट म बाधिएँ उसको अँगालोमा l स्वास्थ्य बिग्रेर गलेको अवस्थामा पनि उसले सकेजति मलाई अँगालोमा कस्यो l

लामो समयपछि अविश्वासको खडेरीले भताभुंग हुँदै गरेको घरको आँगनीमा खुसीको वर्षात् भइरहेको थियो l काप्दै र लर्खराउँदै ऊ घरको करेसामा गएर बेस्कन चिच्यायो – ‘सुप्रभा ! यी  हेर त, तिम्रो मामु मै सँगै छ l’

पारिवारिक सुखमा खुसी थप्न जन्मिएको केही महिनामै बितेकी हाम्री छोरी सुप्रभाको अभाव रहेको यो घडीमा म पनि बेस्करी रोएँ l आखिर रुनु पनि त पश्चाताप गर्नु  रहेछ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment