Comments Add Comment

शीर्षनेताको रहस्यः कुन नेताका छोराछोरी के गर्दैछन् ?

Neta 810११ भदौ, काठमाडौं । राजनीतिक अस्थिरताले निम्त्याएको बेथितिका कारण नागरिकहरुको दैनिक जीवन धान्नै नसकिने बनेको छ । भनिन्छ, यस्तो परिस्थितिका लागि राजनीतिक दलका नेताहरु नै मुख्य जिम्मेवार छन् ।

तर, जनताले जुन समस्या भोगिरहेका छन्, यो सास्तीबाट नेताहरुका परिवारजन प्रभावित छन् कि छैनन् ? देशमा बढिरहेको महंगीको मारमा नेताका सन्तान र आफन्तजन परेका छन् वा छैनन् ?
आम नागरिकको यस्तो चासो मेटाउनका लागि प्रमुख तीन दलका प्रमुख ५/५ जना नेताको पारिवारिक अवस्थाबारे यहाँ चर्चा गर्ने प्रयास गरिएको छः

शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति देउवा वैवाहिक जीवनमा गाँसिनुअघि नै केन्द्रीय राजनीतिमा उदाइसकेका थिए । उनले गृहमन्त्रीका रुपमा वहाल रहँदै आरजु राणासँग विवाह गरेका हुन् ।

Sherbahadur Deuba_1शेरबहादुरका एकमात्र सन्तान छन्, बीरध्वज देउवा । तर, छोरा देउवालाई बुवा देउवाले गरेका राजनीतिक निर्णयको कुनै असर पर्दैन । उनी बेलायतमा राजनीतिशास्त्रमा विद्यावारिधि गर्दैछन् ।

डडेल्धुराको सम्पन्न परिवारमा जन्मेका देउवाको बूढानीलकण्ठमा ठूलो कम्पाउण्डमा बनेको घर छ । पत्नी आरजु राणा पनि सम्पन्न परिवारकी हुन् । उनको एनजीओ एवं विद्यालयमा समेत लगानी छ ।

दुबैजना सांसद भएकाले सरकारी सुविधा पनि पाउने गरेका छन् । देउवा पूर्वप्रधानमन्त्रीसमेत भएकाले थप सुविधा पाउँछन् ।

जनताले भोगिरहेको समस्याले देउवा परिवारलाई खासै छुँदैन । यद्यपि बूढानीलकण्ठबाट सिंहदरबार आउँदा-जाँदा बाटोको दुरावस्था र खाल्डाखुल्डीले देउवा दम्पत्तिलाई पिरोल्ने गरेको छ ।

रामचन्द्र पौडेल

प्रमुख राजनीतिक विवाद अन्त्यबारे दलहरुवीच हुने हरेकजसो छलफलमा नेता रामचन्द्र पौडेलको उपस्थिति देखिन्छ । उनी कांग्रेसका बरिष्ठ नेतासमेत हुन् । त्यसैले उनको हरेक निर्णयले देशको भविष्य निर्धारणमा असर पार्छ ।

ramchandra poudelतर, पौडेलका एकमात्र छोरालाई भने उनका राजनीतिक निर्णयले कुनै त्यस्तो असर पार्दैन । किनकि उनका छोरा चिन्तन पौडेल पनि अहिले देउवापुत्रजस्तै अहिले बेलायतमै छन् ।

सुशील कोइराला नेतृत्वमा सरकार रहँदा छोरा चिन्तन गरिब घर परिवार पहिचान बोर्डका कार्यकारी प्रमुखमा नियुक्त भएका थिए । कोइराला नेतृत्वको सरकार हटेसँगै उनी फेरि बेलायत फर्किएका छन् ।

पौडेलका चार छोरीहरु छन् । तीमध्ये जेठी छोरीको चितवनमा सम्पन्न परिवारमा विवाह भएको छ । माइली छोरी पोखरामा बस्छिन् । उनका श्रीमान पोखरामा इञ्जिनियर छन् । यस्तै साँहिली छोरी विवाह गरेर अमेरिकामा बस्दै आएकी छिन् । कान्छी छोरी माछापुच्छ्र्रे बैंकमा काम गर्छिन् ।

सामान्यतः रामचन्द्र पौडेललाई कांग्रेसभित्रका सादगी नेताका रुपमा लिने गरिन्छ । उनी देउवाजस्तै सिंहदरबारभन्दा कही टाढाको दुरीमा रहेको बोहोराटारमा बस्छन् । सिंहदरबार आउँदा-जाँदा उनी पनि जाममा पर्ने गरेका छन् ।

पौडेलको घरको कम्पाउण्ड  देउवाको भन्दा धेरै सानो छ, जहाँ उनी तरकारी रोप्ने गर्छन् र आफूलाई कृषिमा रुची भएको बताउँछन् ।

कृष्णप्रसाद सिटौला

कानुन व्यवसायबाट राजनीतिमा प्रवेश गरेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका दुई छोरी र एक छोरा छन् ।

Krishna-Prasad-Sitaulaछोरा श्याम सिटौलाले इञ्जिनियरिङ्ग संकायतर्फ स्नातक तहको अध्ययन भारतको नयाँ दिल्लीमा सम्पन्न गरेका छन् । उनी अहिले अमेरिकामा एमइ तहमा अध्ययनरत छन् । कांग्रेस नेता सिटौलाका दुई छोरीहरु पनि अमेरिकामैै बस्दै आएका छन् ।

सिटौलाले विभिन्न ठाउँमा जमिन किनेका छन् । सांसदको पारिश्रमिक बाहेक उनको अन्य कमाइ खासै देखिँदैन । तर, छोराछोरीहरु पनि उनलाई साथ दिने अवस्थामा पुगेका छन् ।

प्रकाशमान सिंह

पार्टी महामन्त्रीको जिम्मेवारी समेत निर्वाह गरिसकेका सांसद प्रकाशमान सिंह कांग्रेसका संस्थापक नेता गणेशमान सिंहका छोरा हुन् । उनका दुई छोरा छन् ।

Prakash Man Singh (2)दुईमध्ये जेठा छोरा प्रभासमान सिंहलाई नेता प्रकाशमानले एसएलसीसम्म काठमाडौँमा पठाए । त्यसपश्चात स्नातकसम्म भारतको नयाँ दिल्लीमा पढाए ।

अर्थशास्त्रमा स्नातकोत्तर गर्न अष्ट्रेलिया गएका उनी भर्खरै नेपाल फर्किएका छन् । उनी विद्यावारिधाका लागि पुन अष्ट्रेलिया जाने तयारीमा रहेको उनको पारिवारिक स्रोतले जनायो ।

सिंहका कान्छा छोरा भास्करमान सिंह अहिले अष्ट्रेलियामा अध्ययनरत छन् । उनी व्यवस्थापन संकायतर्फ स्नातक र स्नातकोत्तर अध्ययनका लागि एक वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका छन् ।

प्रकाशमानको राजधानीमा प्रशस्तै सम्पत्ति छ । डेराभाडाबाट पनि उनको राम्रो कमाइ हुन्छ । यद्यपि मन्त्री बनेका बेला उनको परिवारजनले सानो रकम पनि उठाउने गरेको चर्चा कांग्रेसभित्र चल्ने गर्छ ।

विमलेन्द्र निधी

कांग्रेसका प्रभावशाली नेता एवं वर्तमान उपप्रधान र गृहमन्त्री विमलेन्द्र निधीका दुई छोरा छन् ।

Bimalendra Nidhi (3)निधीले जेठा छोरा अविरललाई १२ कक्षासम्म जावलाखेलस्थित सेन्टजेभियर्समा पढाए ।

त्यसपछि भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा पठाए  । उनी एक सातापछि अमेरिका जाँदैछन् ।

निधीका कान्छा छोराले सेन्टजेभियर्सबाट भर्खर प्लटुसम्मको अध्ययन सकेका छन् । उनी पनि इञ्जिनियरिङ्ग अध्ययनका लागि भारत जाने तरखरमा छन् ।

केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वप्रधानमन्त्री समेत हुन् । अहिलेको राजनीतिक निर्णय प्रक्रियामा उनको विशेष प्रभाव रहँदै आएको छ ।

KP-Oliतर, उनका कुनै पनि राजनीतिक निर्णयको प्रभाव उनको सन्नतिले व्यहोर्नु पर्दैन । किनकि उनी विवाहित भए पनि छोराछोरी छैनन् ।

झापा आन्दोलनबाट राजनीतिमा उदाएका ओलीको भक्तपुर बालकोटमा आफ्नै निजी घर छ ।

निम्नमध्यम परिवारका ओलीको दमक नगरपालिकामा पनि घर छ ।

विभिन्न प्रकारका रोगहरुको शिकार हुँदै आएका ओली अहिले पनि उपचारका लागि विदेश (बैंकक) गएका छन् । उनको महंगो उपचारमा कहिले सरकारले त कहिले आफ्ना निकटस्थहरुले सहयोग गर्दै आएका छन् ।

माधवकुमार नेपाल

Madhav kumar nepalएमालेभित्र केपी शर्मा ओलीपछिका शक्तिशाली नेता हुन् माधवकुमार नेपाल ।

अहिलेको राजनीतिक प्रक्रियामा पनि उनी शुरुदेखि नै क्रियाशील छन् ।

उनको एक छोरा र एक छोरी छन् । तर, दुवै राजनीतिबाट टाढा छन् । उनीहरु दुबैजना डाक्टर हुन् ।

छोरी छालाको डाक्टर छिन् भने छोरा अष्ट्रेलियामा बसेर विद्यावारिधि गर्दैछन् ।

झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमालेका पूर्व अध्यक्ष हुन् ।

jhalanath-Khanalदेशको अहिलेको राजनीतिक प्रक्रियामा उनको भूमिका निर्णायक छ । उनका एकमात्र छोरा छन्, निर्भिक चित्रकार खनाल ।

खनालका छोरा निर्भिक अमेरिकामा अध्ययनपश्चात अहिले नेपालमै छन् ।

उनी एमालेनिकट युवा संघका केन्द्रीय सदस्यका रुपमा राजनीतिमा सक्रिय छन् ।

उनी आमाका नाममा रहेको माछापुच्छ्र्रे हर्वल नामक उद्योग सञ्चालनमा आमालाई सघाउँछन् ।

ईश्वर पोखरेल

एमाले महासचिव ईश्वर पोखरेलका दुई छोरा छन् ।

ishwor-pokhrelतीमध्ये जेठा छोरा सिजन पोखरेल कृषि अध्ययन केन्द्र नार्कका वैज्ञानिक हुन् ।

उनी राजनीतिक क्षेत्रबाट टाढा वैज्ञानिक अध्ययन अनुसन्धानको काममा व्यस्त छन् ।

महासचिव पोखरेलका कान्छा छोरा सिसन पोखरेल भर्खरै अमेरिकाबाट अन्तराष्ट्रिय सम्वन्ध अध्ययन गरेर नेपाल फर्किएका छन् ।

वामदेव गौतम

वामदेव गौतम एमालेका उपाध्यक्ष हुन् । उनका एक छोरा र एक छोरी छिन् ।

छोरा हरिश गौतम एमालेको भातृ संगठन युवा संघको केन्द्रीय सदस्यसमेत हुन् । उनी चीन र नेपालवीच वस्तुको आयात निर्यात गरी व्यापारमा संलग्न छन् ।

Bamdev Gautamप्रहरीको रासन ठेकेदार दीपक भट्ट लगायतको टोलीसँग हरिस गौतमको बाक्लो उठबस छ, जसको अखडा बानेश्वरस्थित लोकमानसिंह कार्कीको घरमा हुने गरेको छ ।

नेता गौतमले छोरालाई चाइनामा पढाएर इञ्जिनियर पढाएका थिए । चीनबाट फर्किएपछि छोरा हरिशले चाइनिज कम्पनीहरुसँगै मिलेर आयात-निर्यातको व्यवसाय गर्दै आएका छन् ।

नेता गौतमकी छोरीले चितवनका एमाले नेता जागृत भेटवालका छोरासँग बिहे गरेकी छिन् ।

गौतमले भैंसेपाटीमा रहेको घर बेचिसकेका छन् । हाल उनी भाडामा बस्छन् । अपार्टमेन्ट किन्ने तयारीमा रहेका गौतमको ५० लाख रुपैयाँ सुधीर बस्नेतले डुबाइदिएपछि उनी डेराको बासमा सीमित भएका हुन् । वामदेवकी पत्नी तुलसा मगर सानोतिनो उद्योगी व्यवसायीसमेत हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ३ छोरी र १ छोरा छन् । जेठी छोरीको गत वर्ष क्यान्सरका कारण मृत्यु भयो । माइली छोरी रेणु दाहाल माओवादी केन्द्रमा आवद्ध भएर राजनीतिमा सक्रिय छिन् । उनी पार्टीको केन्द्रीय सदस्य समेत हुन् । यस्तै अर्की छोरी कान्छी विवाह गरेर सामान्य गृहिणी जीवन विताइरहेकी छिन् ।

Prachanda_4एकमात्र छोरा प्रकाश दाहालले बुवाको स्वकीय सचिवका रुपमा प्रधानमन्त्री दाहाललाई सघाउँदै आएका छन् । छोरा प्रकाश बेलाबखत विभिन्न कारण राजनीतिक चर्चाका पात्र बन्ने गरेका छन् ।

मध्यम वर्गबाट राजनीतिमा होमिएका प्रचण्डले भूमिगत कालमा प्रवासमा बस्नुबाहेक आफ्नो छोरोछोरीलाई कांग्रेस एमालेका नेताले जसरी विदेशमा पढ्न पठाएनन् ।

प्रचण्ड सशस्त्र जनयुद्धको नेतृत्व गरेका र शान्ति प्रक्रियाको पनि प्रमुख नेतृत्व भएका कारण उनको सोच र राजनीतिक निर्णयले सिंगो देशको भविश्य निर्धारण गर्दछ र उनको परिवारलाई पनि ।

नारायणकाजी श्रेष्ठ

गोरखा जिल्ला घर भएका माओवादी नेता नारायणकाजी श्रेष्ठ अविवाहित नेता हुन् । उनी पार्टीभित्रका सादगी नेताका रुपमा चिनिन्छन् ।

Narayankaji Shresth Prakashमाओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठ शान्ति प्रक्रियापछि केन्द्रीय राजनीतिमा परिचित बनेका हुन् ।

उनी ०६५ मा माओवादीसँग पार्टी एकता गरेर मूलधारको राजनीतिमा आएका हुन् ।

राजनीतिक निर्णय प्रक्रियामा उनको विशेष भूमिका रहन्छ ।

तर, श्रेष्ठले अहिलेसम्म विवाह नगरेका कारण उनी पारिवारिक जञ्जालमा नपरेका नेता हुन् ।

कृष्णबहादुर महरा

नेपालको राजनीतिलाई प्रभावमा पार्नसक्ने माओवादी केन्द्रका अर्का नेता हुन् उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा । उनका दुई छोरा र दुई छोरी छन् ।

Krishna Mahara (2)जेठी छोरी दाङमा किराना पसल चलाएर बसेकी छिन् भने कान्छी छोरी पनि दाङमै बस्छिन् ।

उनी दाङस्थित महेन्द्र बहुमुखी क्याम्पसमा मानविकी संकायमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् ।

महराका दुई छोरामध्ये जेठा छोरा एटम महरा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी सेना समायोजनपूर्व माओवादी सेनाको बिग्रेड कमाण्डर थिए ।

पछि स्वेच्छिक अवकाश रोजेर राजनीतिमा आएका हुन् । कान्छा छोरा राहुल बुवाको स्वकीय सचिवको भूमिकामा छन् ।

badal-nepal-maoistरामबहादुर थापा बादल

जनयुद्धबाट उदाएका नेता थापाका एक छोरा र एक छोरी छन् ।

छोरा प्रतीक थापा बाबुको स्वकीय सचिवका रुपमा राजनीतिमा सक्रिय छन् ।

छोरी भने स्नातक तहमा अध्ययनरत छिन् । थापा जनयुद्धबाट उदाएका माओवादीभित्रका शीर्ष नेता हुन् । तर, राजनीतिमा उनी खासै जम्न सकेका छैनन् ।

वादलपत्नी नैनकला थापाले महिला आयोगमा काम गरिसकेकी छिन् ।

चितवनमा मध्यमवर्गको राम्रो परिवारमा हुर्केका बादलको काठमाडौंमा डेरा छ ।

वर्षमान पुन

वर्षमान पुन ‘अनन्त’ माओवादीभित्र उदाउँदै गरेका एक प्रभावशाली नेता हुन् । पछिल्लो समय माओवादीका हरेक निर्णयमा पुन हावी हुँदै आएका छन् ।

Barsha man Pun 455पुनका एक छोरा र एक छोरी छिन् । उनले दुवै छोराछोरीलाई सेन्टजेभियर्स स्कुलमा पढाइरहेका छन् ।

व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्ती मगर वर्षमानकी जीवन संगिनी हुन् ।

पुन परिवार रोल्पाको सामान्य मध्यमवर्गीय पृष्ठभूमिबाट यहाँसम्म आइपुगेको हो ।

नेता फेरिए, कार्यकर्ता र जनताको समस्या उस्तै

दश वर्षअघि जतिबेला जनयुद्धमा रहेको माओवादी र संसदवादी दलहरु बाह्रबुँदे समझदारी गर्दै समान राजनीतिक एजेण्डा बोकेर उभिए ।

एकअर्का विरुद्ध लडिरहेका दलहरु परिवर्तनको एजेण्डा बोकेर एकै ठाउँमा उभिँदा जनतामा शान्ति, सुशासन र समृद्धिको आशा जाग्यो । त्यही सपनाले झण्डै आधा दशक नेपालीहरुले नयाँ नेपालका सन्दर्भमा निकै ठूलो बहस गरे ।

राजतन्त्रलाई नेपाली राजनीतिको इतिहासमा सीमित गर्दै नयाँ राजनीतिक यात्रा थालनी गराउन भएको ०६२/०६३ को आन्दोलनलाई तिनै आशा र सपनाहरुले बल दिए । आन्दोलन भयो, राजतन्त्रपछि हट्यो, लोकतन्त्र आयो ।

जनआन्दोलनको सफलतापछि ०६३ मंसिर ५ गते बृहत शान्ति सम्झौता हुँदा मुलुक स्थिरताको बाटोतिर गएको धेरैको अनुमान थियो । त्यस लगत्तै अन्तरिम संविधान मार्फत गणतान्त्रिक नेपालको खाका कोर्दै संविधानसभाको निर्वाचन भयो । त्यसपछि राजनीतिक  घटनाक्रम कसरी अगाडि बढ्यो, सबै नेपाली भुक्तभोगी छन् ।

झट्ट हेर्दा राजनीतिक स्वरुपमा निकै ठूलो परिवर्तन आयो । राजसंस्थाको अन्त्य भयो, नारायणहिटीमा बसेर हुकुमे शासन चलाइरहेको राजपरिवार राजधानीको पश्चिमतर्फ रहेको नागार्जुन दरबारमा सीमित बन्यो ।

तर, राज्यको पहलमा एउटा पनि नयाँ औद्योगिक कलकारखाना बनेनन् । बेरोजगारी समस्या चक्र्यो, राहदानी बनाउँदै खाडी मुलुक लम्कनेहरुको संख्या गुणात्मक बन्दै गयो । जनताको समस्या विकराल बन्दै जाँदा नेताहरु भने छोराछोरीलाई विदेशमा पढाउने र आफू विरामी हुँदै पनि सिंगापुर र बैंककसम्म उपचार गराउने जाने हैसियतमा उक्लिए ।

बजारमा सबैखालका उपभोग्य वस्तुको भाउ छुनै नसक्ने गरी महंगिएको छ । सरकारी लगानीका विद्यालयको स्तर खस्कँदो छ । निजी क्षेत्रको शिक्षा निकै महंगो बनेको छ ।

छोराछोरीलाई सामुदायिक स्कुलमा पढाउँदा निजी क्षेत्रमा पढ्ने विद्यार्थीसँग प्रतिस्पर्धा गर्नै नसक्ने कमजोर शिक्षण अवस्था र निजी स्कुलमा पढाउन खर्चले धान्नै नसक्ने अप्ठेरो अवस्थामा आम अभिभावक पुगेका छन् । तर, यो पीडाले नेताहरु र तिनका छोराछोरीलाई पटक्कै छोएको देखिँदैन ।

त्यसैगरी महंगो बन्दै गएको स्वास्थ्योपचारले उपचारपछिको ऋणमा छट्पटाउन भन्दा मर्नु बेस भन्ने अवस्थामा धेरै विरामीलाई पुर्‍याइसकेको छ । दे

शभर कृषि उत्पादन प्रत्येक बर्ष घटिरहेको छ, भने तथ्यांक विभागका अनुसार विदेशबाट आयात हुने वस्तुको संख्या हरेक महिना बढिरहेको छ । तर, यो महंगीले पनि विदेशमा बसेका नेताका परिवारलाई छुने कुरै भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment