Comments Add Comment

तस्करहरुबाट बरामद १८ करोडभन्दा बढीको रक्तचन्दन कुहिन थाल्यो

सरकारले निर्णय गर्न नसक्दा समस्या

Raktachandan१२ भदौं, काठमाडौं ।  सुरक्षाकर्मीले बरामद गरेको झन्डै साढे १८ करोडबराबरको रक्तचन्दन कुहिन थालेको छ ।

भारतबाट नेपालको बाटो हुँदै तेस्रो मुलुक तस्करी गर्ने क्रममा बरामद रक्तचन्दन त्यसै कुहिन थालेको वन विभागका प्रवक्ता चन्द्रमान डंगोलले बताए ।

सुरक्षाकर्मीले विभिन्न स्थानबाट विभिन्न समयमा दुई लाख २९ हजार तीन सय ४६ किलो रक्तचन्दन बरामद गरेको छ । नेपालमा रक्तचन्दनको बिक्री–वितरण गर्न पाउने व्यवस्था नभएको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

बरामद रक्तचन्दन १० वर्षैँदेखि डम्पिङ हुँदै आएको प्रवक्ता डंगोलले बताए । तस्करीबाट बरामद गरेको रक्तचन्दन जिल्ला वन कार्यालय र जिल्ला कार्यालयमा कडा सुरक्षा निगरानीमा राखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा एक किलो रक्तचन्दनको आठ सय पर्ने सरकारी अनुमान छ । त्यसअनुसार बरामद रक्तचन्दनको मूल्य करिब १८ करोड ३४ लाख ७७ हजार चार सय ७२ रुपैयाँ हुन्छ ।

डम्पिङ गरी राखिएको रक्तचन्दनको विषयमा सरकारले उपयुक्त निर्णय गर्न नसक्दा समस्या बनेको छ । भारतमा रहेको रक्तचन्दनलाई भारत, नेपाल र चीनका तस्करले अवैध रूपमा कारोबार गर्दथे ।

तस्करले तातोपानी र रसुवाको केरुङ नाकाबाट चीन पुर्‍याउने गर्छन् । नेपाल प्रहरीका प्रवक्ता माधवराज जोशीका अनुसार पछिल्लो समय भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि रक्तचन्दन कारोबार बन्द भएको छ ।

पाँच वर्षदेखि रक्तचन्दन रोकिएको उनको दाबी छ । जोशीले भने, ‘रक्तचन्दनको काठ ठूलो हुने र लुकाएर तस्कार गर्न नमिल्ने भएकाले नियन्त्रण गर्न सफल भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment