Comments Add Comment

साफ क्लब कप अन्यौलमा, महिला च्याम्पियनसीप नेपालमा गर्न प्रस्ताव

Narendra-Shrestha

१२ भदौ, काठमाडौं । दक्षिण एशियाली फुटबल फेडेरेशन साफले सदस्य मुलुकका घरेलु च्याम्पियनहरु समेटेर आयोजना गर्ने भनिएको साफ क्लब कप प्रतियोगिता अन्यौलमा परेको छ ।

श्रीलंकामा गत साता सम्पन्न साफ कार्यसमितिको बैठकमा यसबारे छलफल भएपनि यसै वर्ष गर्ने निर्णय भइनसकेको एन्फा कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी दिए ।

साफको यसअघिको बैठकले श्रीलंकालाई प्रतियोगिताको आयोजना गर्न दिने निर्णय गरेको थियो । तर, श्रीलंकाले प्रायोजकसँग सम्झौता गरिनसकेकाले प्रतियोगिताबारे अन्यौल बढेको हो ।

प्रायोजकले प्रत्येक २ बर्षमा प्रतियोगिता गर्ने प्रस्ताव गरेको छ । तर, उसले प्रतियोगिता नहुने बर्षका लिग च्याम्पियनहरु मारमा पर्नसक्नेबारे छलफल भएको छ । ‘श्रीलंकाले प्रायोजकसँग छलफल गरेपछि प्रतियोगिता कहिले गर्ने भन्नेबारे एक-दुई साताभित्र निर्णय गर्ने बताएको छ’ एन्फा काबा अध्यक्ष श्रेष्ठले अनलाइनखबरसँग भने ।

उनका अनुसार प्रायोजकसँग कुरा मिलेमा यो बर्षभित्रै प्रतियोगिताको आयोजना श्रीलंकामा हुन्छ । र, प्रतियोगितामा नेपालबाट लिग च्याम्पियन थ्रीस्टार क्लवले सहभागिता जनाउनेछ ।

महिला साफ च्याम्पियनसीप नेपालमा गर्न प्रस्ताव

साफ बैठकले भारतले सन् २०१६ मा भारतमा हुने भनिएको महिला साफ च्याम्पियनसीप आयोजना गर्न नसक्ने बताएको छ । र, नेपालमा गर्न प्रस्ताव गरेको छ ।

तर, बैठकमा सहभागी भएका एन्फा कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपमहासचिव मणि कुवँरले नेपाल गएर छलफल गरेपछिमात्र निर्णय लिने बताए । कुवँर साफ कार्यसमिति सदस्य हुन् । ‘हामीलाई आयोजना गर्न प्रस्ताव आएको थियो तर हामीले कार्यसमितिमा छलफल गरेपछिमात्र निर्णय लिने बताएका छौं, यहाँ सबैसँग छलफल गरी केहि दिनभित्रै जानकारी गराउनेछौं, अध्यक्ष श्रेष्ठले भने ।

अध्यक्ष श्रेष्ठले प्रतियोगिता आयोजनाको लागि मैदानको समस्या नरहेको तर, सुरक्षा लगायत अन्य बिषयमा सबै पक्षसँग छलफल गरेपछिमात्र निर्णय लिइने बताए ।

महिला साफमा ८ टोली रहने

पुरुष साफ च्याम्पियनसीपमा ७ देशले मात्र भाग लिने भएपनि महिलातर्फ भने ८ टोलीबीच प्रतिस्पर्धा गराइने भएको छ । साफका सात मुलुकका टोलीको अलावा अफगानिस्तानलाई पनि सहभागी गराउने निर्णय साफ बैठकले गरेको छ ।

साफ छाडेर मध्य एशिया फुटबल फेडेरेशनमा आवद्ध भएको अफगानिस्तानले महिलासाफ च्याम्पियनसीपमा भने आफूलाई समावेश गराउन गरेको आग्रह गरेको थियो । जसलाई साफ कार्यसमिति बैठकले स्वीकार गरेको श्रेष्ठले जनाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment