Comments Add Comment

हेडसर गोरेबहादुर ! जो बाहुन शिष्यलाई बजार घुमाउँदै बंगुर खुवाउँथे

पञ्च मन्त्रीले जागिर ख्वाएः विद्यार्थीलाई कम्युनिस्ट बनाए

Late Gore Bahadur Khapangi
गोरबहादुर खपाङ्गी

१२ भदौ, काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, गोरबहादुर खपाङ्गीलाई पञ्चायतकालीन मन्त्री नवराज सुवेदीले रामेछापको गौरीशंकर स्कुलमा हेडमास्टर बनाएर लगेका थिए । कालान्तरमा सुवेदी राष्ट्रिय पञ्चायतको अध्यक्ष बने, खपांगीचाहिँ सुवेदीकै विपक्षमा कम्युनिस्ट राजनीति फैलाउनतिर थाले ।

रामेछापको तत्कालीन जिल्ला सदरमुकामस्थित गौरीशंकर उच्चमाविमा खपांगी हेड सर हुँदा आफ्ना विद्यार्थीलाई कम्युनिस्ट बन्नु भन्दै पढाउने गर्थे । रामेछापमा कम्युनिस्ट पार्टीको प्रचार गर्ने पहिलो पुस्ताका नेतामा पर्थे गोरेबहादुर, जो पछि कम्युनिस्ट विचार छाडेर जातीय राजनीतिमा लागे ।

रामेछापमा २०२६ सालतिर शिक्षक बनेका खपांगी १६ वर्षसम्म गौरीशंकरको हेडसर रहे । उनले पढाएका विद्यार्थीहरु अहिले देशका विभिन्न उच्च ओहोदामा पुगेका छन् । उनीहरुका साझा सम्झना के हुन् भने-गोरे सर रमाइला थिए । कम्युनिस्ट विचारका प्रचारक थिए ।

गोरेबहादुरले पढाएकै स्कूलमा हाल नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले पनि केही वर्ष पढाए । तर, गोरे जस्तो चर्चित हेडमास्टर चाहिँ कोही भएनन् । त्योबेला जिल्लामा सिडिओ भन्दा चर्चा गोरेबहादुरको हुनेगर्थ्यो भन्छन् त्यसबेलाका साक्षीहरु ।

गोरेबहादुरको रामेछाप साइनो र राजनीति अनि उनका जीवनका उतार-चढावबारे उनलाई रामेछाप पुर्‍याउने राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीका साथै उनका शिष्यहरुसँग हामीले सोधेका छौं ।

महोत्तरीलाई कम्युनिस्टबाट जोगाउन रामेछाप ल्याएँ
नवराज सुवेदी, पूर्व राष्ट्रिय पन्चायत अध्यक्ष

Nabaraj-Subediगोरेबहादुर खपांगीलाई मैले सबैभन्दा पहिले सूर्ती विकास कम्पनीमा जनकपुरमा जागिर लाइदिएको थिएँ । म त्योबेला उद्योग वाणिज्य मन्त्री थिएँ । राष्ट्रिय पञ्चायतका सदस्य मेरा साथी पृथ्वीमानसिंह भण्डारीले भनेर उनलाई जागिर लाइदिएको हुँ । पृथ्वीमान हाल मधेसी मोर्चाका नेता शरतसिंह भण्डारीका पिता हुन् ।

पछि तिनै पृथ्वीमानले यो केटाले मेरो जिल्लालाई कम्युनिस्टमय बनाउने भयो, लौन तपाईकोतिर लगदिनुस् भने । मेरोमा गौरीशंकर स्कूलमा गतिलो पढेलेखेको मास्टर चाहिएकाले गोरेलाई हेडमास्टर बन भनेर ल्याएँ ।

यो त्यस्तै ०२६/२७ सालतिरको कुरा हो । उनले रामेछापमा पनि कम्युनिस्ट बनाउने धन्दा छाडेनन् । तर, मसँग कहिल्यै नराम्रो भएन । म पञ्चायतको नेता थिएँ, उनले मलाई मान्थे ।

बीचमा सरकारले धादिङ सरुवा गर्दा पनि मैले फेरि उनलाई रामेछाप लगेको हुँ । त्योबेला उनले धेेरैलाई कम्युनिस्ट बनाए । तर, उनी असल शिक्षक भएकाले मैले उनलाई जोगाएँ ।

कुख्यात डाकालाई जेलमै कम्युनिस्ट बनाए
देवशंकर पौडेल, पूर्वसांसद, एमाले केन्द्रीय सदस्य

गोरेबहादुर खपांगी भनेपछि ०३०/०३२ सालतिर उनको नाम नसुन्ने कोही थिएनन् । रामेछाप जिल्लाभरि चार/पाँचवटा मावि थिए । म साँघुटारमा १० कक्षाको फस्र्ट ब्वाइ थिएँ ।

Dev-Shankar Paudelएक दिन गोरे सर हाम्रो हेडसर केबी सरलाई भेट्न साँघुटार पुगे । केबीसर पनि कम्युनिस्ट हुनुहुन्थ्यो, उहाँहरु साथी । बहुदल आएपछि केबी सर ओखलढुंगाको सिंहदेवी गाविसमा एमालेबाट गाविस अध्यक्ष पनि बन्नुभयो ।

गोरे सरले म फर्स्ट ब्वाइ र अखिल भन्ने थाहा पाउनुभएछ । मलाई काँधमा धाप मार्दै कम्युनिस्ट भएछौ, राम्रो गर भने ।

पछि म गोरे सरलाई भेट्न गौरीशंकर स्कुलकै क्वाटरमा पनि पुगेको थिएँ । मान्छे हाँसो ठट्टा धेरै गर्ने तर सबैलाई कम्युनिस्ट बनाउँदै हिँड्ने स्वभाविक थियो ।

भुजीका लाले हर्के भनेपछि जिल्लाकै कुख्यात डाँका भनेर चिनिन्थे । तीमध्ये लाले अर्थात लालबहादुर खड्का भुजी गाउँ पञ्चायतको उपप्रधानपञ्च पनि बने । उनलाई उपप्रधान बनेपछि पहिलेकै अभियोगमा जेल हालियो । गोरेबहादुरले रामेछाप जेलमै हुँदा खुँखार डाका लालेलाई पनि कम्युनिस्ट बनाएछन् ।

२०३६ को जनमत संग्रहका बेला राजबन्दीहरु छुट्दा लाले पनि छुटे, जसलाई पछि गाउँकै कोलडाँडा हाटमा स्थानीय रीसइबी र उनीहरुबाट पीडितले लाले-हर्के दुबैलाई मारे ।

रामेछाप जिल्लामा कम्युनिस्ट बनाउने नेतामा गोरेको नाम अग्रपंक्तिमा आउँछ, जसलाई पछ्याउँदै हामीले जिल्लामा कम्युनिस्ट पार्टी बिस्तार गरेर चुनाव जित्ने अवस्थामा पुग्यौं ।

विद्यार्थीलाई स्कूलमै कम्युनिस्ट बनाउथे
कैलाश ढुंगेल, पूर्व जिविस सभापति रामेछाप

Kailash-Dhungelमलाई ०३२ सालतिर ८ कक्षादेखि गोरे सरले पढाएका हुन् गौरीशंकर माविमा । हामी अलि अगुवाखालका विद्यार्थीलाई पनि हेडसरले कम्युनिस्ट बन्नुपर्छ भन्थे ।

कम्युनिस्ट संगठक चाहिँ गोरे होइनन्, तर प्रचारक हुन् ।

शिक्षक संगठनको संस्थापक आन्दोलनकारी पनि गोरे सर नै हुन् ।

गोरे सरले हामीलाई झापाली कम्युनिस्ट (हालको एमाले) को लाइन ठीक छ है केटा हो भनेर सुनाउँथे ।

आफैं कम्युनिस्ट संगठन बनाउँदै हिँड्ने भन्दा पनि विभिन्न कारणले सम्पर्कमा आएकाहरुलाई गोरे सरले कम्युनिस्ट बनाएर फर्काउँथे । हामी त्यही पुस्ताका कम्युनिस्ट हौं ।

कम्युनिस्ट बनाउन नसकेपछि गालामा दारी दलिदिए
लबश्री न्यौपाने, जिल्ला सभापति नेपाली कांग्रेस

Laba-Shree-Neupaneगोरे सरलाई भँगेरीका नारायणबाबुले ल्याएकोजस्तो लाग्छ, हाम्रो स्कूलमा । मलाई उनले नै पढाएका हुन् । हाम्रो घर बाबियाखर्कमा आएर मकै भुट्न लाउँथे र खाएर हिँड्थे ।

उनले रामेछापमा धेरै विद्यार्थीलाई कम्युनिस्ट बनाए । अहिले दक्षिण क्षेत्रमा कम्युनिस्ट जति छन्, पहिलो पुस्ताका सबै उनकै कारणले बनेका हुन् । मलाई पनि उनले कम्युनिस्ट बन्न धेरैपटक दबाब दिए ।

तँजस्तो केटो कम्युनिस्त बन्नुपर्छ भन्दै झुसे दारी गालामा दलिदिन्थे । ०३६ सालको जनमत संग्रहका बेला बुढाले खुलेरै अखिल बन्न विद्यार्थीलाई प्रेरित गरेपछि हामी अलिकति झगडामा पनि उत्रियौं ।

प्रशासनिक रुपमा गोरे सर निकै कडा थिए, जसले गर्दा उनको पालामा अनुशासित विद्यार्थी निस्किए ।

बाहुन र नेवार विद्यार्थीलाई बंगुरको बोसोवाला रोटी खुवाउथे
रमेशबाबु श्रेष्ठ,व्यवसायी, गोरेबहादुरका शिष्य

गोरेबहादुर सरलाई सूर्ती विकास कम्पनीमा काम गरिरहेका बेला मेरा बुबा नारायणबाबु श्रेष्ठले सर्लाहीतिर गएर रातारात लिएर आउनुभएको हो । सायद नवराज सुवेदीसँग कुरा भएर होला ।

Ramesh-Babu-Shresthमेरा बुबा नारायणबाबु रामेछापको अग्रज कम्युनिस्ट हुनुहुन्थ्यो । स्कूल र हाम्रो घर भँगेरी नजिकै भएकाले हाम्रो घरमा प्रायः खाना खान आउनुहुन्थ्यो । म त्योबेला सात वर्षको थिएँ ।

कम्युनिस्ट नेता पुष्पलाल र शहीद गंगालालको जन्मस्थान भएकाले पनि उहाँको विशेष मोह थियो हाम्रो परिवारसँग । उहाँलाई भेट्न ऋषि देवकोटा आजाद, राधाकृष्ण मैनाली, मोदनाथ प्रश्रतिहरु गएको मलाई याद छ ।

रामेछापमा प्रत्येक विहीवार हाट लाग्थ्यो । गोरे सरकै पालादेखि हाट लाग्ने दिन हाफ छुट्टीको व्यवस्था भएको हो । उहाँ विशेष गरी बाहुन, क्षेत्री र हामी नेवार विद्यार्थीलाई हाटमा लगेर मगर्नीले बँगुरको बोसोमा पकाएको सेल खाँदै बजारमा आफ्नो पछिपछि हिँड्न लगाउनुहुन्थ्यो ।

बाबियाखर्कका घिमिरे बाहुनलाई पछिपछि सुनपानी छर्केरमात्र विहीबार घरभित्र छिराउँथे भन्ने पनि सुनियो ।

प्रहरीले गोरे सरलाई बेलाबखत समातिराख्थ्यो । तर सरलाई धेरै पटक हामी विद्यार्थीले ढुंगामुढा प्रहार गरेर प्रहरी हिरासतबाट छुटाएका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment