Comments Add Comment

यसरी घट्दै छ तपाईले बैंकमा राखेको पैसा

Bank
१२ भदौ, काठमाडौं । के तपाई बैंकमा पैसा राखेर ढुक्कसँग बस्नुभएको छ ? बैंकहरुले व्याज दिइरहेकै छन्, व्याज खाएरै बसिन्छ भन्ने सोचमा हुनुहुन्छ ? त्यसोभए एकपटक सोच्नुहोस् । तपाईले बैंकमा राखेको पैसा बढेको छैन घटिरहेको छ ।

तर, नआत्तिनोस्, बैंकहरुले बदमासी गरेर तपाईले राखेको पैसा घटाएका भने होइनन् । बढ्दो उपभोक्ता मूल्यवृद्धि र बैंकहरुले दिने व्याजदरबीच तालमेल नमिलेका कारण तपाईँले बैंकमा पैसा राख्दा घाटा व्यहोर्नु परेको हो ।

अहिले बैंकहरुले निक्षेपमा औषत ३.२८ प्रतिशत व्याज दिन्छन् । जसअनुसार एक वर्षअघि तपाईले कुनै बैंकमा १ लाख रुपैयाँ निक्षेप राख्नु भएको थियो भने अहिले तपाइँको पैसा बढेर १ लाख ३ हजार २ सय ८० रुपैयाँ भएको छ ।

तर, तपाईले एक वर्षअघि एक लाख रुपैयाँमा जति सामान किन्न सक्नुहुन्थ्यो । त्यति सामान किन्नका लागि अहिले १ लाख ९ हजार ९ सय रुपैयाँ खर्च गर्नुपर्छ । किनभने अहिले मुलुकको औषत मुल्यवृद्धिदर ९.९ प्रतिशत छ । जसअनुसार एक वर्षअघि तपाईले बैंकमा १ लाख रुपैयाँ राख्नु भएको थियो भने अहिले तपाईले ६ हजार ६ सय २० रुपैयाँ गुमाउनु भएको छ ।

तपाईले बैंकमा पैसा राख्दा बढेको देखिए पनि महंगीका कारण त्यसको मौद्रिक मूल्य (मनिटरी भ्यालू) भने घटेको हो । किनभने बैंकले दिने व्याजदर तपाईको आम्दानी हो भने महंगीको वृद्धिदर तपाईको खर्च हो ।

त्यसैले अहिले बैंकमा निक्षेप राखेर पैसा कमाइ हुन्छ भनेर बस्नु भयो भने तपाईँको पैसाको मौदि्रक भ्यालु वर्षेनी खिइँदै जाने निश्चित छ । अर्थतन्त्रको भाषामा यसलाई ऋणात्मक व्याजदर भनिन्छ, जुन डेढ दशकदेखि विद्यमान छ ।

मुलुकमा राजनीतिक स्थायित्व हुन नसक्दा लगानीको वातावरण बन्न सकेको छैन । जसकारण बैंकहरुसँग लगानी योग्य पुँजी (अधिक तरलताको) चाप छ । जसले व्याजदरलाई न्यून विन्दूमा झारेको हो ।

अस्थिर राजनीतिकै कारण मुलुकको आर्थिक वृद्धिदर भने खुम्चिरहेको छ । अहिलेको मुलुकको आर्थिक वृद्धिदर ०.७७ प्रतिशत मात्रै हो ।

व्याजदर बढाउन करिडोर

मूल्यवृद्धिभन्दा बैंकले दिने व्याजदर कम हुनु भनेको अर्थतन्त्रका लागि गंभीर समस्या भएको बताउँछन्, राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठ ।

त्यसैले व्याजदर बढाउने उद्देश्यले राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौदि्रक नीतिमा व्याजदर करिडोर ल्याएको उनको भनाई छ ।

‘हामीले विगतदेखि नै ऋणात्मक व्याजदरको समस्या भोग्दै आएका छौं । जुन अर्थतन्त्रका लागि घातक हो,’ श्रेष्ठले भने- ‘करिडोर लागू भएपछि कुनै निश्चित सीमाभन्दा माथि र तल व्याजदर जाँदैन भन्ने ग्यारेन्टी मात्रै हुँदैन, विस्तारै व्याजदर बढ्दै जानेछ । मुल्यवृद्धिभन्दा बढी निक्षेपको व्याजदर हुनुपर्छ भन्ने हाम्रो सोचाइ हो ।’

राष्ट्र बैंकले व्याजदर करिडोर लागू गरेकोा तीन हप्ता भइसकेको छ । करिडोर कार्यान्वयन भएसँगै बैंकहरुले केही व्याजदर बढाउन थालेका छन् ।

तर, अझै पनि निक्षेपकर्ताहरुले महशुस हुनेगरीको व्याजदर बढ्न सकेको छैन । र, तत्काल बढ्ने सम्भावना पनि देखिँदैन । यसरी व्याजदर घटेका बेला बैंकमा पैसा राख्नुभन्दा केही जोखिम मोलेर सेयरमा लगानी गर्ने हो भने मालामाल कमाउन सकिने सेयर विश्लेषक रविन्द्र भट्टराई बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment