Comments Add Comment

बैंकले १५ वर्षे ‘अटो लोन’ दिनुपर्छ

नेपाल अटो मोबाइल्स डिलर्स एशोसियशनले भदौ १४ देखि १९ गतेसम्म काठमाडौंमा ‘नाडा अटो शो-२०१६’ आयोजना गर्दैछ । नेपालीहरुको पर्वको मौसम सुरु हुनु अघि एशोसियशनले हरेक वर्ष मेला आयोजना गर्दै आएको छ । दुई पांग्रे, चार पांग्रे र व्यवसायिक सवारी साधनहरुको प्रदर्शनका साथमा हुने मेलालाई अहिले धेरैले प्रतिक्षा गरिरहेका छन् । यो वर्षको आटो शोको विविध पक्ष र अटो मोबाइल्स क्षेत्रका विभिन्न सवालहरुमा रहेर नेपाल अटो मोबाइल्स डिलर्स एशोसियशनका अध्यक्ष अञ्जन श्रेष्ठसँग गरिएको कुराकानीः

Anjan Shrestha (1) a
यो वर्षको नाडा अटो शो संघारमा आइपुगेको छ । तयारी कस्तो छ ?

मेला भदौ १४ गतेदेखि ६ दिनसम्म चल्नेेछ । मेलाको तयारी तदारुकताका साथ भइरहेको छ । मेलाका लागि निम्ता बाँड्ने काम चलिरहेको छ । मेला आयोजना स्थल भृकुटीमण्डपमा शनिबार मात्रै हामीलाई हल उपलब्ध भएको छ । त्यसलगत्तै प्रवेशद्वारहरुको निर्माणका लागि हामीले तयारी थालेका छौं ।

मेलास्थल भृकुटीमण्डप सानो भएकाले हामीले समस्या भोगिरहेका छौं । यसलाई विस्तार गर्न वा विकल्प खोज्न विभिन्न पक्षले सरकारसँग आग्रह गरेको १ दशक भइसक्यो । नाडाले मात्रै होइन, नेपाल उद्योग वाणिज्य महासंघ र वस्तुगत संघहरुले वषौंदेखि यो माग उठाएका हुन् । अप्ठेरोकै बीचबाट भने हामी उत्साहका साथ मेलाको तयारीमा जुटेका छौं । मेलालाई सफल र सार्थक बनाउन हाम्रो तर्फबाट हुनसक्ने सबै प्रयत्नहरु गर्दैछौं ।

अटो शो हरेक वर्ष हुँदै आएको छ । यो वर्ष मेला यस अघिकाभन्दा केही फरक हुन्छ ?

अवश्य पनि मेलालाई नयाँपन दिन हामीले गृहकार्य गरिरहेका छौं । यो वर्षको मेला अघिल्ला भन्दा केही फरक हुन्छ नै ।

गतवर्ष मेलमा ६६ वटा एक्जिब्युटरहरु थिए । यो वर्ष बढेर ७४ वटा भएका छन् । यो वर्ष ३ वटा नयाँ चार पांग्रे सवारी र २ वटा दुई पांग्रे तथा थप एउटा व्यवसायिक सवारीको नयाँ कम्पनी आउँदैछन् । उनीहरुले मेलाबाटै नेपालमा कारोबारको थालनी गर्नेछन् । यो नै यस वर्षको लागि विशेष नयाँ कुरा रहने छ ।

भृकुटीमण्डपमा उपलब्ध स्पेश र संरचना झण्डै ३० अघिकै हो । लामो समयदेखि त्यहाँ कुनै मेन्टेनेन्स गरिएको छैन, स्पेस पनि बढाइएको छैन । त्यसैले त्यो जे-जस्तो अवस्थामा छ, त्यसैलाई ‘म्याक्सिमम युज’ गर्न खोजेका छौं ।

पहिलो ठूलो स्पेश लिनहरुलेलाई सानो दिएका छौं । एक्जिब्युटरको संख्या गुणात्मक रुपमा बढ्दा पनि प्रदर्शनस्थल जस्ताको तस्तै रहेका कारण एउटा कम्पनीले पहिले पाउनेभन्दा चारगुणासम्म स्पेस घटाएर लिनुपर्ने अवस्था छ । फेरि हिजो ५/६ वटा प्रोडक्ट भएकाहरुसँग आज प्रदर्शन गर्नुपर्ने गाडीको संख्या १०/१२ वटा पुगेका छन् । त्यसैका कारण स्टलहरुमा गजबको क्रियटिभिटी प्रयोग गर्न सकिने अवस्था छैन । यसैका कारण मेलामा ‘नोभल्टी’ ल्याउने स्कोप घटेको छ । धेरै कम्प्रमाइज गर्नुपर्ने स्थितिले समस्या छ । नयाँ एक्जिब्युटर, नयाँ लन्चिङ नै मेलाको नोभल्टी हो ।

भूकम्प र नाकाबन्दीले अटोसहित समग्र व्यापारिक क्षेत्रलाई ठूलो असर पारेको थियो । अहिले अटो बजार पुरानो गतिमा फर्किएको हो ?

पक्कैपनि भूकम्पपछि झण्डै १ महिना बजार पुरै प्रभावित भयो । त्यसपछि बजार फेरि रिकभर हुँदै थियो । तर, लगत्तैको नाकाबन्दीले हाम्रो बजारमा ठूलो असर गर्‍यो । हाम्रा कष्टमर यहाँ वेटिङमा थिए । बिक्री गर्ने गाडी बोर्डरमै रोकिएका थिए । हामीसँग नयाँ सवारी थिएनन् । ३ महिनासम्म सवारी ल्याउनै सकिएन । बुकिङ भएका गाडी पनि डेलिभर गर्न सकिएन ।

तर, ३ महिनापछि वीरगञ्जबाहेक अन्य बोर्डरबाट ल्याउने गरी सरकारले रि-रुटिङका लागि पहल गर्‍यो । त्यसपछि चौथो महिनामा बजारमा केही तीव्रता आयो । त्यतिबेला सेल्स अपर्च्युनिटी पनि बढ्यो, हामीलाई लाग्यो कि यो ‘ब्याक लक’ थियो । महिनौं रोकिएको डिमान्डले एकैपटक बजारलाई घचेटेको अनुभव हामीलाई भयो ।

तर, नाकाबन्दी सकिएपछि जस्तो अवस्थामा बजार फर्कियो, अहिलेसम्म बजारको माहोल त्यस्तै छ । आर्थिक वर्ष २०७१/७२ मा ३२ प्रतिशतले ‘ग्रोथ’ भएको अटो कोमाइल इन्डस्टि्रजमा नाकाबन्दी भएको आर्थिक वर्ष २०७२/७३मा झण्डै ४० प्रतिशतले अटो बजार बढ्यो । यो वर्ष पनि बजारमा यस्तै रेञ्जमा वद्धि हुन्छ भन्ने अपेक्षा छ ।

बजार बढ्ने आधार के छ ?

किनभने समग्रमा अटो इन्डस्टि्रज ४० प्रतिशत वृद्धि हुँदा कमर्सियल सवारी र कन्स्ट्रक्सन इक्वीपमेन्टमा सय प्रतिशत ‘ग्रोथ’ छ । झन् नयाँ ट्याक्सी थपिँदा त्यसले बजारलाई ‘पुस’ गर्‍यो । यो वर्ष पनि भूकम्पपीडितका लागि १५ सय ट्याक्सी थपिँदैछ । यही हिसावले यो वर्ष ३५ देखि ४० प्रतिशत बजार ‘ग्रोथ’ हुन्छ ।

सरकारले अटोमा लगाउने करको दर उच्च छ । लामो समयदेखि तपाईंहरुले यसलाई घटाउन दबाव दिएको भन्नुहुन्छ । तर, करको दर घट्ने भन्दा बढ्ने क्रममै छ, किन ?

हामीले बारम्बार दोहोर्‍याएको कुरा हो यो । पछिल्लो समयमा सरकारले अटोमोबाइल आवश्यक्ताको साधन भनेर बुझेको जस्तो देखिएको छ । हामीले यो बुझाउन लामो समय प्रयत्न गरेका हौं । तर, व्यवहारमा भने सरकारले त्यसलाई देखाउन सकेको छैन । यो वर्ष पनि मर्मत सम्भार शुल्कका नाममा २ प्रतिशत कर बढाएको छ । सरकारले अटोलाई आवश्यक्ता हो भनेर बुझेर पनि व्यवहारमा रुपान्तरण भने गरेको छैन ।

सरकारले यसलाई बढी राजश्वमुखी भएर हेरेको हो कि जस्तो लाग्छ । तर, यो क्षेत्र विलाशिताभन्दा आवश्यक्ताको हो भन्ने कुरा तथ्यले पनि पुष्टी गर्छ । अहिले जनसंख्याको हिसाबमा ७ प्रतिशतले मात्रै मोटरसाइकल प्रयोग गरेका छन् भने ०.७ प्रतिशतले मात्रै आफ्नै गाडी चढेका छन् । त्यसैले नेपालको अटो बजारमा ‘ह्युज पोटेन्सियालिटी’ छ भन्ने यहीँबाट प्रष्ट हुन्छ ।

सडक बढ्दैनन्त, तर गाडीहरु थपिँदैछन् । काठमाडौंकै कुरा गर्ने हो भने जति फराकिला सडक बनाए पनि गाडीको चापले साँघुरा भएका छन् । त्यसैले केही वर्षका लागि सवारी साधनको दर्ता बन्द गर्नुपर्छ भनेर पनि बहस उठ्ने गरेको छ । यसबारे के भन्नुहुन्छ ?

Anjan Shrestha (2)
हामी विकासको गतिमा अघि बढेको २१ औं शताब्दीमा छौं । सबैलाई अहिले समयको व्यवस्थापन महत्वपूर्ण र अत्यावश्यक बनेको छ । ‘पर्सनल प्रोडक्टीभिटी’ बढाउन पनि यो जरुरी भएको छ । आफू सक्षम हुन र काममा सहजता तथा प्रभावकारिताका लागि व्यक्तिगत सवारीसाधन आवश्यक छ ।

हामीले सवारी बढ्यो भनेर मात्रै हुँदैन, जनसंख्या कति बढेको भनेर पनि हेर्नुपर्छ । बजारमा डिमान्ड भएर नै यतिको सवारी आयात भइरहेको हो । त्यसैले अब सरकारले तीव्ररुपमा पूर्वाधार बनाउन जोड दिनुपर्‍यो । सरकारले पब्लिक ट्रान्सपोर्टेसनलाई व्यवस्थित गर्न नसकिरहँदा व्यक्तिको उत्पादकत्वसँग जोडिएको सवारीका लागि पनि आवश्यक पूर्वाधारहरु खडा गर्नुपर्छ ।

पछिल्लो समयमा अटोमा डिमान्ड र स्कोप छ । काठमाडौं २० वर्षमा जम्मा २ सय ९४ किलोमिटर सडक बढेको छ । तर, यही २० वर्षमा जनसंख्या कहाँबाट कहाँ पुग्यो भनेर सरकारले सोच्नुपर्दैन ? काठमाडौंको सडक चौंडा बनाउँदा सवारी व्यवस्थापनमा कति फरक पर्‍यो भन्ने सबैले देखेकै छन् । त्यसैले पूर्वाधार बढाउने काममा सरकार लाग्नुपर्छ ।

अहिले अटो क्षेत्रले आर्थिक तथा सामाजिक क्षेत्रमा रुपान्तरणका लागि ठूलो भूमिका निर्वाह गरिरहेको छ । राजश्वमा मात्रै यसको ३० प्रतिशत योगदान छ । यसलाई राज्यले अवमूल्यन गर्न सक्दैन । देशमा आर्थिक गतिविधि बढाउन यो क्षेत्रले अझै ठूलो भूमिका खेल्छ । सरकारले यसलाई आवश्यक्ताको साधनका रुपमा व्ववहार गर्‍यो भने यसको योगदान र महत्व अझै बढ्छ ।

नीतिगत रुपमा सरकारले व्यक्तिगत सवारीलाई भन्दा सार्वजनिक सवारीलाई प्राथमिकतामा राखेको छ । यो त जरुरी नै छ, हैन र ?

हो, सार्वजनिक सवारीलाई राज्यले विशेष प्राथमिकता दिनु सकारात्मक हो । नीतिगत रुपमा ‘मास ट्रान्सपोर्टेसन’लाई अझ प्रभावकारी बनाउने राज्यको दायित्व हो । यो सामाजिक समानतासँग जोडिएको विषय पनि हो ।

सार्वजनिक सवारीलाई प्राथमिकता दिनुपर्छ भन्नेमा कुनै दुईमत छैन । मान्छे ओसार्ने मात्रै होइन, ढुवानीका साधनलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ ।

तर, व्यक्तिगत सवारीलाई पनि विलाशिताको वस्तुको रुपमा व्यवहार गर्नुभन्दा आवश्यक्ताका रुपमा ग्रहण गरेर राज्यले उपभोक्तामैत्री नीतिगत व्यवस्थाहरु गर्नुपर्छ । त्यो पनि राज्यको दायित्व हो ।

नेपालमा गाडीको मूल्य अन्य देशको भन्दा उच्च छ । भूकम्प र नाकाबन्दी जस्तो अप्ठेरो परिस्थितिका बीच पनि नेपाली उपभोक्तामा गाडी प्रतिको आकर्षण कसरी बढ्यो ?

बजारलाई एक पक्षबाट मात्रै हेरेर हुँदैन । भूकम्पमा बेलामा विदेशमा रहेका हाम्रा धेरै दाजुभाइ, दिदीबहिनीले थुप्रै पैसा नेपाल पठाए । त्यतिबेला घरमा अनेक समस्या छ भनेर विदेशबाट पैसा पठाइएको छ । सो समयमा नेपालमा डलरको रेट पनि बढेको थियो । त्यसैले पनि विदेशमा हुनेहरुले बढी पैसा पठाएको भन्ने सुनिन्छ । तिनै रेमिट्यान्सले गर्दा भूकम्प र नाकाबन्दीपछि बैंकमा तरलता बढ्यो । बैंकहरुमा लगानीका लागि पर्याप्त रकम थियो । बैंहरुले मार्केट सहज हुनेवित्तिकै छिटो र सरलरुपमा लोन खोले ।

नेपालीहरुको संयमता पनि त्यतिबेला प्रशंसनीय छ । भूकम्पछि हाम्रा मूल पूर्वाधारहरुमा ठूलो क्षति भएन । भूकम्पले सडक संरचनामा निकै कम क्षति भएको थियो । नेपालीहरुको संयमताका साथ अघि बढ्ने व्यवहारले पनि बजारमा ठूलो असर देखिएन ।

अटो क्षेत्रमा बैंकहरुको ब्याजदर पनि ठूलो दरमा घटेको छैन । तर, पनि बजारले गति लिनुका मूलभूत के कारणहरु छन् ?

म बैंकको ब्याजदर घट्दो छैन भन्ने कुरा मान्दिन । नाकाबन्दी पछि ६-७ प्रतिशतमा अटो लोन पाइँदैछ । यही कारणले पनि बजारको वृद्धि ४० प्रतिशतमा पुगेको हो । बैंकले कम ब्याजदर लिएर मात्रै होइन, लोन प्रोसेस पनि सजिलो र छिटो गरिदिँदा अटो बजारलाई वृद्धिमा लैजान सहयोग भयो । अहिले २-३ दिनमै बैंकहरुले लोन प्रोसेस टुंग्याइदिने गरेका छन् । बैंकले गर्ने व्यवहारले अटो बजारलाई ठूलो इफेक्ट गर्छ ।

पुरानो समयलाई हेरौं, सन् २०१० मो अन्त्यतिर सरकारले बजेटमार्फत भन्सार दर बढायो त्यो बजेटकै अघिबाट सेयर घट्दो थियो, रियल स्टेट पनि क्र्यास भएको थियो । अटो लोन ब्याजदर १७-१८ प्रतिशत पुगेको थियो । सन् २०११ को मध्यतिर आएर बजार बढ्दै गर्दा अटो बजारको ग्रोथ २०-२५ मा आयो । अहिले हामी ४० प्रतिशतमा पुग्यौं । सन् २००९-१० सम्म अटो बजारमा १० देखि १५ प्रतिशत वृद्धि हुन्थ्यो ।

अहिले ६-७ प्रशितमा लोन पाउनु आकर्षक हो । सवारी साधनलाई ६-७ वर्षको लागि लोन दिइन्छ । तर, नेपालमा आउने सवारी साधन ‘प्रोपरली मेन्टेन’ गर्दा १५-२० वर्ष केही हुँदैनन् । यस विषयमा गम्भिर भएर सोचिदिन म बैंकहरुलाई आग्रह गर्छु ।

उपभोक्ताले सहजरुपमा गाडी कर्जा लिन के गर्नुपर्ला ?

बरु बैंकले अब गाडी कर्जा १०-१५ वर्षका लागि दिनुपर्छ भन्ने मेरो धारणा छ । किनकी जति बैंकको लोन तिर्ने समय बढी दिइन्छ त्यति नै उपभोेक्तालाई सहज हुन्छ । मैले त एक सार्वजनिक कार्यक्रममा बैंकर संघका अध्यक्षलाई यस विषयमा आग्रह पनि गरेको थिएँ । विदेशमा पनि १५-२० वर्षका लागि अटो लोन दिने अभ्यास छ । नेपालमा पनि बैंकहरुले १५ वर्षसम्मका लागि अटो लोन पाउने व्यवस्था गर्न जरुरी छ । घर कर्जामा पनि त्यसै गर्न सकिन्छ । घर पनि सबैलाई चाहिन्छ ।

पछिल्लो समयमा नेपाली उपभोक्ताहरु सवारी रोज्ने शैली कस्तो छ ? पहिलेभन्दा ट्रेण्डमा केही फरकपन आएको हो ?

नेपालीहरु निकै लामो समयदेखि इन्टरनेशनल ब्राण्डहरुसँग परिचित छन् । हाम्रो लाहुरे सभ्यताले हामीलाई विदेशी ब्राण्डसँग नजिक बनाएको हो । हामी पहिल्यैदेखि यो मामिलामा भारत र चीनभन्दा पनि अघि थियौं ।

पछिल्लो समयमा कम्युनिकेशनको क्षेत्रमा ठूलो क्रान्ति भयो । अहिले इन्टरनेटसहित सञ्चारका विभिन्न साधन र माध्यमले उत्पादनसँग जोडिन समय लाग्दैन । उत्तिकै सहज रुपमा प्रोडक्टहरुबारे विस्तृत जानकारी लिन घरमै बसेर गर्न सकन्छ । नेपालीहरु पनि यसलाई पछ्याउन थालेका छन् ।

अब कुनै प्रोडक्टबाारे मोबाइलमा एपमार्फत फिंगर टिप्स नै लिन सकिन्छ । ह्युमन नेचर जहिले पनि फरक चिज खोज्ने खालको हुन्छ । नयाँ के छ ? प्रोडक्टको ड्युरेबेलिटी के छ ? पर्फमेन्स के छ ? भन्नेमा चासो राख्छन् । त्यसैका आधारमा उनीरुले आफ्नो लागि अटो प्रोडक्ट रोज्छन् । अहिले जेसुकै वस्तु किन्नु अघि घरमै स्वअध्ययन गरेर जान सकिने अवस्था छ । हिजोका दिनमा यस्ता कुरा अरु बुज्रुकलाई सोध्नुपर्दथ्यो भने आज नजानेको कुरा पनि प्रविधिको सहयोगमा तत्काल अध्ययन गर्न सक्छ । भेहिकल किन्ने विषय लंगटर्मका लागि भएकाले यसबारे अधीक जानेर, बुझेर मात्रै किन्न पुग्ने क्रम बढ्दो छ ।

पछिल्लो समयमा धेरै उपभोक्ता मोटरसाइकल छाडेर इन्ट्री लेभलका कारमा आकर्षित छन् । यो कति स्वाभाविक हो ?

हो, यो स्वाभाविक हो । मान्छे परिवर्तनशील छ र सधैं ग्राजुएट हुन चाहान्छ । २१ औं शताब्दीको यो परिस्थितिमा म अगाडि बढ्दिन भन्ने त कसले सोच्ला र ?

मोटरसाइलकको आफ्नो युजेज र लिमिटेसन छ । इन्ट्री लेभलको कारमा पनि त्यस्तै छ । त्यसैले आफ्नो आवश्यक्ता र गच्छेअनुसारको साधन किन्न खोज्नु नौलो होइन । मान्छेले आफ्नो ‘अफोर्डिबिलिटी’ हेर्ने हो ।

पछिल्लो समयमा बजारमा नक्कली स्पेयर्स पार्टसहरुको जगजगी छ भन्ने सुनिन्छ । यसले दुर्घटना पनि बढाइरहेको छ । नाडाको यसमा भनाइ के हो ?

Anjan Shrestha_455 (1)हामीले सरकारलाई बारम्बार भन्दै आएका छौं की अटो मोबाइल इन्डस्टि्रजलाई फरक ढंगले हेर्नुपर्छ । भारतसँग १ हजार किलोमिटर ‘ओपन बोर्डर’ छ । यहीँबाट पाट्र्सहरुको चोरी पैठारी भइरहेको हामीले पनि सुनेका छौं । त्यसैले पार्टसहरुको भन्सार दर घटाउन आवश्यक छ । हामीले यो कुरा सरकारलाई पटक-पटक भनेका छौं ।

खुला सीमानाका कारण भारतबाट जथाभावी रुपमा पार्टसहरु झोलामै झुण्ड्याएर ल्याउन सकिने अवस्था छ । त्यो पार्टस कस्तो गुणस्तरको हो भन्ने कसैलाई थाहा छैन । त्यसमा ‘अथेन्टीसिटी’ हुँदैन । त्यसैले भन्सार शुल्क घटाइदिनुर्‍यो भनेर भनेका हौं । भन्सार घटाएपछि स्कोप घटेर तस्करी गरेर ल्याउन छोड्छन् । यो पाली पनि यो कुरा बजेटमा आउनुपर्‍यो भनेका थियौं, तर आएन । भन्सारका कारण मूल्यमा ग्याप बढ्दा तस्करी बढिरहेको छ । यही झोले-पोकेका कारण राज्यको राजश्व पनि घटिरहेको छ । यसमा भन्न्सार शुल्क घटाएर राजश्व घट्दैन, बरु व्यवसायको दायरा बढेर विविधीकरण भइ झनै राजश्व बढ्छ ।

अवैध पाट्र्सको चोरी पैठारीले दुर्घटना बढाएको छ भने राज्यले पनि राजश्व पनि गुमाएको छ । ग्राहक नक्कली पार्टपुर्जा प्रायोग गर्न बाध्य छन् । यसले बजारमा विकृति बढेको छ । दुर्घटना न्युनीकरणका लाग भन्सार घटाएर तस्करी नियन्त्रण जरुरी छ ।

अब फेरि नाडा अटो शोकै प्रसंगमा फर्कौं, मेलाको प्रवर्द्धनका लागि के-के गर्दै हुनुहुन्छ ?

अघिल्लो वर्ष हामीले नेपाली चलचित्र क्षेत्रमा महानायक राजेश हमाललाई ब्राण्ड एम्बास्डर राखेका थियौं । यो वर्ष पनि हामीले ब्राण्ड एम्बास्डर राखेर नै मेलाको प्रचार गरिरहेका छौं । यो वर्ष नायक तथा बिमान चालक बिजय लामालाई यसका लागि लिएका छौं । उहाँ नेपाल एयरलाइन्सको सिनियर क्याप्टेन पनि हुनुहुन्छ ।

लामा नेपालमा लोकपि्रय सेलिब्रेटी पनि हुनुहुन्छ । त्यसैले नाडा शोको प्रवर्द्धनका लागि उहाँलाई प्रयोग गर्ने सोच बनायौं । नाडा शोको प्रचारमा उहाँलाई लगाउँदा ‘जस्टीफाइ’ नै हुन्छ भन्ने सोच्यौं । हामीले शोको विज्ञापन प्रकाशन/प्रसारण गरेलगत्तै प्रतिक्रियाहरु आइरहेका छन् । सबैले सह्राना गर्नुभएको छ ।

गतवर्ष मेलामा १ सय ५० करोडको कारोबार भएको थियो । यो वर्ष ५० करोड बढी भएर २ सय करोडको कारोबार हुने अनुमान छ । गत वर्ष ४० हजारले हेरेको मेलामा यो वर्ष ५० हजार अवलोकनका लागि आउने अपेक्षा छ ।

मेलालाई लक्षित गरेर कुनै स्पेशल स्कीमहरु ल्याउनु भएको छ ?

यो मेला नेपाल अटो मोबाइल्स डिलर्स एशोसियशनले आयोजना गरेको हो । आयोजक आफैंले मेलामा आउनेहरुका लागि विशेष अफर केही गरेको छैन । तर, ग्राहकलाई आकर्षित गर्न एक्जिब्युटर कम्पनीहरुले नै विभिन्न अफरहरु गर्नेछन् । ग्राहकलाई तान्नका लागि कम्पनीहरुले विभिन्न पूर्वयोजनाहरु बनाएका छन् । मेलामा सवारी बुकिङ गर्नेहरुलाई कम्पनीहरुले विभिन्न माध्यम र तरिकाबाट प्रोत्साहित गर्नेछन् ।

अटो मेला सधैं किन दशैं-तिहारको अघि नै गर्नुुहन्छ ?

दशैं-तिहार नेपालीको त यसै पनि ठूलो पर्व हो । यो अटोमोबाइल क्षेत्रको पनि महाउत्सव नै हो । यतिबेला गाडी हेर्ने, छान्ने, बुकिङ गर्ने र दशैं-तिहार अघि नयाँ गाडी चढ्ने सोच धेरैमा हुन्छन् ।

दशैं-तिहारलाई नयाँ लाउने, नयाँ खाने पर्वका रुपमा मनाइन्छ । ऋण नै गरेर भएपनि पर्व मनाउने प्रचलन नयाँ होइन । यही अवसरमा आफ्नो गच्छेअनुसार गाडी किन्ने प्रचलन पनि छ । हामी यही अवसरमा हुने अटो मेलालाई ठूलो अवसरका रुपमा रुपान्तरण गर्न चाहान्छौं । दशैं सुरु हुनुअघि एकैथलोमा विभिन्न मोडलका गाडी हेरेर, कम्पेयर गरेर, ड्यरेबेलिटी, युजेज, डिजाइन, स्टाइललाई दाँजेर उपभोक्तालाई ‘बाइङ डिसिजन’लाई सहज गराउने हाम्रो मूल उद्देश्य हो । यो वर्ष हैन अर्को वर्ष किन्छु भन्नेलाई ‘माइन्ड सेट’ गराउन पनि मेलाले भूमिका खेल्छ । त्यसैले हरेक वर्ष मेलामा भिजिटर बढिरहेका छन् ।

मेलामा कस्ता व्यक्तिहरु बढी आउँछन् ?

मेलामा सबै वर्गका व्यक्तित्वहरु आउनुहुन्छ । मेला अलि बढी युवा लक्षित पनि हुन्छ । अघिल्ला वर्षहरुमा विद्यार्थीहरुको पनि ठूलो उपस्थिति हुन्थ्यो । परिवारका साथमा आउनेहरु पनि थुप्रै हुन्छन् । गाडी किन्ने निर्णय दीर्घकालीन महत्वको हुने भएकाले गर्न धेरैले परिवार नै लिएर आएको देखिन्छ । बढीजसोले बालबच्चासहित नै आएर नै निर्णय गर्छन् ।

मेलामा विभिन्न राष्ट्रिय जीवनका विभिन्न व्यक्तित्वहरु पनि आगमन हुन्छ । त्यसैले पनि विक्रेताका लागि यो महाउत्सव हो । हाम्रो पर्व नै यही मेलाबाट सुरु हुन्छ । वर्षदिनको ४० देखि ४५ प्रतिशत बुकिङ यही बेलामा हुन्छ । अटो मेला र दशैं-तिहारको यो तीन महिनाको अवधिमा वर्षभरिको कारोबारको ठूलो हिस्सा जोडिएको हुन्छ । त्यसैले यो हाम्रो लागि विशेष हो । एकै ठाउँमा देशमा उपलब्ध अधिकांश सवारी वितरकका बीचबाट आफ्नो पहिलो रोजाइको सवारी किन्न पाइने भएकाले उपभोक्तालाई यो झन् ठूलो अवसर नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment