Comments Add Comment

अर्घाखाँचीमा जीप दुर्घटना, ११ को मृत्यु, ६ घाइते

१२ भदौ, सन्धिखर्क । अर्घाखाँचीको हंसपुर-५ रतनमारेमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका छजना मध्ये चार जनाको अवस्था गम्भीर छ ।

Jeep-Accident.jpg1अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्यूठानको बाँदिकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जीप दिउँसो सवा तीन बजेतिर रतनमारे बजार नजिकै पोष्टापाटको भीरबाट करिब सात सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा अधिकांश हंसपुर गाविसका छन् । हंसपुर गाविस-४ का ३५ वर्षीय मिनबहादुर केसी, हंसपुर-१ का ३६ वर्षीय देवबहादुर थापामगर, हंसपुर-५ का ४५ वर्षीय हुमबहादुर घर्तीमगर, हंसपुर-२ का ४५ वर्षीय रामबहादुर घर्तीमगर र धारापानी-६ अर्घाखाँचीकी ३६ वर्षीया कमला पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-११ किमडाँडाका नारायणबहादुर राना, सन्धिखर्क नगरपालिका-२ बस्ने ३२ वर्षीया सीता नेपाली, गुल्मीको पुर्कोटदह-८ का ५९ वर्षीय भेषबहादुर थापामगर, पुर्कोटदह-४ गुल्मीकै ३७ वर्षीय जिवबहादुर कुँवर, गुल्मी भनभने-१ का ५९ वर्षीय बुद्धिबहादुर परियार र प्यूठान बांगेमरोठ ८ का ६८ वर्षीय शोभा सिंह रोकामगरको पनि दुर्घटनामा मृत्यु भएको प्रहरी निरीक्षक सुजनकुमार राजभण्डारीले जानकारी दिए ।

कमला पौडेल र जिबबहादुर कुँवरको उपचारको क्रममा जिल्ला अस्पतालमा र अन्यको घटनास्थलमै मृत्यु भएको थियो ।

घाइते प्यूठान बाँदिकोटका जिबलाल पोख्रेल, सन्धिखर्क नगरपालीका-१ अर्घाखाँचीका अर्जुन खनाल, खन-७ अर्घाखाँचीका सुरज खनाल र पुर्कोटदह-४ गुल्मीका यमलाल कुँवरको सन्धिखर्क जिल्ला अपस्ताल अर्घाखाँचीमा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

धारापानी-६ की मुना पौडेल र धारापानी-६ कै कविता पौडेलको भने जिल्ला अपस्ताल अर्घाखाँचीमा उपचार भइरहेको छ ।

गाडी चालक प्रहरी हिरासतमा रहेका छन् ।

जीपमा तीनजना बच्चासहित १९ जना यात्रु चढेका थिए । उकालोमा गाडीको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

घटनास्थल अर्घाखाँची सदरमुकाम सन्धिखर्कदेखि झन्डै ३० किलोमिटर पश्चिममा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment