Comments Add Comment

प्रचण्डलाई एमालेको प्रश्नः २२९ दिनमा के-के गर्नुहुन्छ ?

samsad

१२ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्नै प्रश्न तेर्स्याएको छ ।

व्यवस्थापिका संसदको आइतबार बैठकमा विशेष समय लिएर बोल्दै एमाले नेताहरुले प्रचण्डसँग राजनीतिक तथा संवैधानिक प्रश्नहरु राखेका हुन् ।

एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्रीले भारतीय समकक्षीलाई पठाएको पत्र गोप्य रहन नहुने भन्दै संसद र जनतासँग किन लुकाइयो भनी प्रश्न गरे । रावलले संविधान संशोधनको विषयमा नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई पठाइएको भन्दै आपत्ति जनाए ।

रावलले दुईजना उपप्रधानमन्त्रीलाई प्रधानमन्त्रीले विशेष दूत बनाएर भारत र चीन पठाएकोमा समेत प्रश्न गरे । उनले के कति कारणले विशेष दूत पठाउनुपरेको हो भन्दै उपप्रधानमन्त्रीलाई विशेष दूत बनाइनु नै अनुपयुक्त भएको दाबी गरे ।

उपप्रधानमन्त्री आफैं वार्ता गर्ने र सम्झौता गर्ने हैसियत राख्ने ओहोदाका व्यक्ति हुन् भन्दै रावलले राष्ट्रसंंघको परिभाषा र मान्यता विपरीत दूत पठाइएको बताए । ‘संकटपूर्ण अवस्थामा द्वन्द्वरत पक्षबीच भयावह अवस्थामा कुनै निकाय नहुादा विशेष दूत पठाइन्छ’ रावलले भने, ‘अहिले के त्यस्तो उत्पात मच्चियो र विशेष दूत पठाइयो ?’

एमालेकै अर्का नेता तथा पूर्वकानुनमन्त्री अग्नि खरेलले प्रधानमन्त्री प्रचण्डसामु थप प्रश्नहरु वर्षाए । उनले प्रचण्डसँग अब प्रधानमन्त्रीका रुपमा २ सय २९ दिन बाँकी रहेको भन्दै यसबीचमा के-के गर्नुहुन्छ भनी प्रश्न गरे ।

संविधान अनुसार २०७४ माघ ७ आउन ५११ दिन बाँकी रहेको भन्दै उनले भने, पुष्पकमल दाहाल प्रचण्ड सरकारको चाहिँ २२९ दिन मात्र बाँकी छ । यो मैले भनेको होइन, चैत महिनासम्म मात्र म्याद छ भनिएको छ, जस अनुसार २२९ दिन मात्र बाँकी छ ।’

खरेलले प्रश्न गरे, तपाईको कार्यतालिका के हो ? स्थानीय निकायको चुनाव गर्ने कि स्थानीय तहको ? अघिल्लो सरकारले स्थानीय निकायको चुनाव गरौं भन्दा कांग्रेसले नमालेको र माओवादीले लोतेलोते तरिकाले मात्र समर्थन गरेको भन्दै पूर्व कानुनमन्त्री खरेलले भने, हिजो मात्र प्रधानमन्त्रीको कार्याक्रम हेरिरहेको थिएा, त्यहाँ पनि उहाँले लोतेलोते पारले आफ्नो कुरा प्रस्तुत गर्दै हुनुहुन्थ्यो ।’

उनले अघि भने, ‘अब प्रश्न छ, अब तपाई स्थानीय निकायको चुनाव गर्नु हुन्छ कि स्थानीय तहको ?’

स्थानीय तह पुनर्संरचना गर्न बनेको आयोगले ५६५ को प्रस्ताव गरेको र त्यसको कतैकतै विरोध भएको भन्दै उनले भने, ‘अब तपाई ५६५ मान्नुहुन्छ कि मानुहुन्न ? मान्नुहुन्न भने तपाई स्थानीय निकायको चुनाव गर्नु हुन्छ कि गर्नु हुन्न ?’

अघिल्लो सरकारले ऐन मस्यौदा गरिसकेको भन्दै त्यसलाई स्वीकार गर्ने नगर्ने प्रश्न गरे । कपाली तमसुक गरेर सरकार बनेको सुनेको भन्दै उनले अघि भने, संविधान कार्यान्वयन कार्यतालिका अघिल्लो सरकारले नै पास गरेको थियो । तपाई मान्नुहुन्छ कि मान्नुहुन्न? ३० वटा भन्दा बढी कानुनको मस्यौदा बनिसकेको भन्दै उनले त्यसलाई मान्ने कि नमान्ने भनेर प्रधानमन्त्री सामू प्रश्न गरेका छन् ।

एमाले नेताहरुले संविधान सर्वस्वीकार्य बनाउने नाममा चुनाव नगराई संविधान असफल बनाउने खेलमा सरकार र सत्तारुढ गठबन्धन लागेको आरोप लगाएका छन् ।

निधीको जवाफः पत्रमा गोप्य कुरा छैन

यसैबीच एमालेको आरोप र प्रश्नको जवाफ दिादै सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले संविधान कार्यान्वयन र चुनाव गराउनकै लागि आफूहरु लागेको बताए ।

निधीले प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई सामान्य राजनीतिक पत्र पठाएको दावी गरे । निधीले एमालेले भने जस्तो कुनै गोप्य कुरा पत्रमा नरहेको प्रष्टीकरण आइतबार सदनलाई दिएका छन् ।

मन्त्री निधीले भने- नयाँ सरकार गठनपछिको राजनीतिक परिस्थितिको विश्लेषण गरेर विशेष दूत पठाइएको जानकारी पत्रमा छ ।

दुवै देशलाई कुटनीतिक रुपमा उच्च प्राथमिकता दिइएको र समान सम्बन्ध राख्न चाहेको कुरा पत्रमा रहेको निधीले बताए । उनले नयाँ सरकार गठनपछि संविधान कार्यान्वयन र निर्वाचन गराउने विषय मोदीलाई पठाइएको पत्रमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment