Comments Add Comment

‘प्रधानमन्त्री ज्यू ! सोर्सफोर्स लगाइदिने छैनन्, हाम्रो उद्धार गरिदिनुस्’

Saudi-ma-Alapatra-Nepali
१२ भदौ, काठमाडौं । रोजगारीका लागि साउदी अरब पुगेका सुर्खेतका इन्द्रबहादुर विक आजभोलि निकै पीडामा छन् । साउदी पुगेको ६ महिनासम्म उनले तलव पाएका छैनन् । आजभोलि त काम पनि बन्द भएको छ ।

इन्द्रबहादुरसँगै स्नाफ इन्टरनेशनल कम्पनीमा कामका लागि पुगेका ४५ जना नेपाली युवक त्यहाँ अलपत्र छन् । त्यहाँ ७ महिनादेखि तलव नपाएर अलपत्र पर्ने नेपालीहरु छन् । एकमहिना अघिदेखि खुला आकाशमुनि जीवन गुजारिरहेका उनीहरुले पेटभरि खान नपाएको गुनासो गरेका छन् ।

घरबाटै खर्च माग्दै

काठमाडौंको एयरपोर्ट नजिकै रहेको जेभीआर म्यानपावरलाई १ लाख १५ हजार रुपैयाँ तिरेर त्यहाँ विकले खानका लागि घरबाटै पैसा मगाउन सुरु गरेका छन् । उनले पछिल्लोपटक नेपालबाट ५ सय रियाल (१५ हजार नेपाली रुपैयाँ) मगाएका छन् । अहिले त्यसै खर्चबाट खाना खाएर बाँचेका छन् ।

साउदीको हाइलबाट विकले टेलिफोनमा भने, ‘अहिलेसम्म त यहाँ वरपरका नेपाली दाजुभाइले सहयोग गर्दै हुनुहुन्थ्यो । तर, सधैं यो सम्भव छैन । कोही साथीले त घरबाट १५ रियाल (५४ हजार रुपैयाँ)सम्म मगाएर खाइसके । कमाउन आएका हामी बाँच्नका लागि घरमा ऋण थपिरहेका छौं ।’

यसअघि उनीहरुले स्थानीय क्षेत्रमा काम गर्ने नेपालीहरुबाट सहयोग मागेर गुजारा चलाएका थिए । तर, साउदीमा बढ्दो आर्थिक समस्याले सबैलाई च्यापेपछि भने उनीहरु बाँचेर फर्किन पाए मात्रै पनि पुग्थ्यो भन्न थालेका छन् ।

‘नफर्किन म्यानपावरको दबाव’

उनीहरु सबैलाई जेभीआर म्यानपावरले साउदीमा गजबको कमाइ हुन्छ भनेर लगेको हो । सो म्यानपावरका प्रतिनिधि दीपक घिमिरे अहिले साउदीमा पुगेका छन् । तर, उनले कामदारको समाधान गर्नेभन्दा उल्टै कम्पनीकै पक्षमा बोलिरहेका छन् ।

घिमिरेले कामदारलाई फिर्ताको पहल गर्नुभन्दा त्यहीँ बस्न दबाव दिइरहेको नेपालीहरु बताउँछन् । कम्पनीले पनि घर फर्किनका लागि ६ हजार रियाल मागेको पीडितहरुले बताए । उनीहरु कोही पनि त्यत्रो रकम तिर्न सक्ने अवस्थामा छैनन् ।

प्रहरीको यातना, छतको बास

अलपत्र परेका सबैले अहिले मानसिकसँगै शारिरीक यातना पनि भोगिरहेका छन् । कम्पनीले उनीहरुलाई साउदीमा सरकारले विदेशी कामदारलाई दिने परिचयपत्र (अकामा) पनि दिएको छैन । त्यसैले अलपत्र परेकाहरुलाई खान मात्रै समस्या छैन, बस्न र सुत्न पनि उस्तै छ ।

‘राति छतमा म्याट ओछ्याएर सुत्छौं । विहान सधैं प्रहरी आएर हाम्रो आइडी कार्ड खोज्छ । सधैं चौकी लगेर २ घण्टा चर्को घाममा उभ्याइदिन्छ । अनि फिंगर पि्रन्ट लिएर छोड्छ,’ विकले निराश स्वरमा भने, ‘दिउँसोभरि हामीलाई झाडी खोज्दै हिँड्नुपर्छ । ज्यादै दुःख पाइयो ।’

अलपत्र युवाले शीघ्र आफ्नो उद्धार गरिदिन अपिल गरेका छन् । भोकै बस्नुपर्ने र खुला आकाशमुनी सुत्नुपर्ने आफ्नो बाध्यतालाई बुझिदिन आग्रह गरेका छन् ।

उद्धारका लागि सोर्सफोर्स चाहियो !

यसअघि उनीहरुसँगै झण्डै ५० भन्दा बढी नेपाली थिए । तर, उद्धारमा पनि विभेद गरिएको अलपत्र कामदारको गुनासो छ । उनीहरुकाअनुसार केही राजनीतिक चिनजान भएकाहरुलाई भने दूतावासको पहलमा उद्धार गरिएको छ । सोर्सफोर्स लगाउन नसक्नेहरु त्यही अलपत्र छन् ।

‘हामीले दूतावासमा पनि खबर गरेका थियौं, तर त्यहाँका मान्छेले तिमीहरुलाई उद्धार गर्न माथिकै सोर्सफोर्स र पावर चाहिन्छ भनेका छन्,’ विकले फोनमा अनुनय गर्दै भने, ‘हाम्रा त सोर्सफोर्स लगाइदिने कोहि छैनन् । अहिलेका प्रधानमन्त्री प्रचण्डले विदेशमा अलपत्र कामदारको उद्धारका लागि आदेश दिएको समाचार पढेको थिएँ । उहाँलाई हाम्रो दुःखको खबर पुर्‍याइदिनुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment