Comments Add Comment

चुरे दोहन रोकिएन, रेल्वेको काम भन्दै बालुवा-गिट्टीको अवैध व्यापार

Chure-Dohan-Dhanusha2

१३ भदौ, जनकपुर । सरकारीको ऐन कानूनलाई उल्लंघन गर्दै धनुषाको नदीबाट अवैध रुपमा बालुवा गिट्टी उत्खनन गरी ढुवानी गर्ने तीन ट्रिफरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यद्यपी अवैध रुपमा ग्राभेल तथा ढुंगा उत्खनन् रोकिएको छैन ।

धनुषाका नक्टाझिझ र लक्ष्मीनिवामा पर्ने औरही खोला र सौते खोला किनारबाट अवैध रुपमा बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन् गरेर जनकपुर ल्याउंदै गरेको तीन ट्रिफरलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो ।

ट्राफिक प्रहरी पोष्ट जनकपुर मुजेलियाले चेकजाँचको क्रममा आइतबार राति बालुवा, गिट्टी र ग्राभेल लिएर आउँदै गरेको ट्रिफर चेकजाँच गर्दा आवश्यक कागजात नभेटिएपछि नियन्त्रणमा लिएको ट्राफिक प्रहरी निरिक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

प्रहरीले ए.यस.शुन्य.एन.एन.जी.सी. २१७३, ना.१ ख. ५५४८ र एस.शुन्य जी.सी. ८३२७ नम्बरको टि्रफर अवैध ग्राभेल सहित नियन्त्रण्मा लिएको बताए । नियन्त्रणमा लिएको ट्रिफर रेल्वेको काम गर्ने भारतीय कम्पनी नायक इन्फ्रष्ट्रक्चर प्रालिको हो । पक्राउ गरिएका तीन वटै टि्रफर जिल्ला विकास समिति धनुषालाई सोमबार जिम्मा लगाउने धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीको निर्देशनलाई ठेकेदारले टेरेनन्

Chure-dohan
आइतबार प्रहरीले बरामत गरेको अबैध ग्राभेलसहितको ट्रिफर

सरकारले अर्वाैं लगानी गरेर चुरे क्षेत्र सरंक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएको समयमा चुरे क्षेत्र सहित जिल्लाको विभिन्न नदी तथा स्थनबाट भइरहको अवैध बालुवा गिट्टी उत्खनन रोक्न धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले निर्देशन दिएपनि उत्खनने कार्य रोकिएको छैन ।

प्रमुख जिल्ला अधिकारी चापागाईले अवैध उत्खनन् रोक्न जिल्ला प्रहरी कार्यालय र जिल्ला विकास समिति धनुषालाई पत्राचार गरिसकेको बताएका छन् । यद्यपी जिविस र जिल्ला प्रहरीको लापरवाहीका कारण ठेकेदारहरुले निजी आवादी क्षेत्रको जग्गा भनेर चुरे क्षेत्र, नदी किनार तथा खोलामा गैरकानूनी रुपमा स्काभेटर प्रयोग गरेर धमाधम ग्राभेल, बालुवा, गिट्टी निकालिरहेका छन् ।

धनुषाको लक्ष्मीनिवास, नक्टाझिझ, बेंगाडाबरको लालगढ, मालटोल लगायतका स्थनबाट अवैधरुपमा स्काभेटर प्रयोग गरेर बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन भइरहेको छ ।

 

रेल्वेको काम भन्दै बालुवा गिट्टीको अवैध व्यापार

रेल्वेको काम पाएको कालिकारमण जेभी निर्माण कम्पनी र भारतको नायक इन्फ्राष्ट्रक्चर प्रालीले गैरकानूनी रुपमा लक्ष्मीनिवास र नक्टाझिझमा पर्ने औरही नदी तथा किनारबाटस्काभेटर प्रयोग गर्दै आएको छ । उक्त ठेकेदार कम्पनीले रेल्वे निर्माण भन्दा पनि बालुवा, गिट्टी र ग्राभेल विक्रीमा बढी ध्यान दिएको स्थानीय युवा सुरेश शर्माले आरोप लगाए ।

‘उक्त निर्माण कम्पनीले रेल्वेको काम भन्दै बढी मुनाफा कमाउने उद्देश्यले जिल्लाको चुरे क्षेत्र तथा नदीको मूल प्रवाहमै स्काभेटर प्रयोग गरी ठूलठूला टिफरबाट ग्राभेल, बालुवा तथा गिट्टी धमाधम लगिरहेको छ ।’ स्थानीय शर्माले जानकारी दिए ।

जिल्ला विकास समिति धनुषाले साउन र भदौ महिनामा जिल्लामा बालुवा, गिट्टी, ढुंगा र ग्राभेल उत्खनन निकासीमा रोक लगाएपनि प्रहरी प्रशासनको मिलेमतोमा ठेकेदारले धनुषाको नदीमा दोहन गरिरहेको निमित्त स्थानीय विकास अधिकारी राजकिशोर प्रसाद साहको आरोप छ ।

पक्राउ परेका ट्रिफरका चालकहरुले दुई भारतीय र एक नेपाली कम्पनीको रहेको बताए । साहुको निर्देशन अनुसार साउनदेखि आफुहरुले जनकपुरमा ग्राभेल जम्मा गर्दै आएको चालकहरुले बताए ।

Gitti-Baluwa-utkhanan-dhanu

करोडौं राजश्व छली

राजश्व छली गर्ने उद्देश्यले जिविसले रोक लगाएको समयमा ठेकेदारहरुले अवैध उत्खनन् तर्फ आकर्षित भएको जिविस धनुषाका राजश्व शाखाका कर्मचारी नन्दु सिंहले बताए ।

साउन र भदौमा मात्र बालुवा गिट्टी र ग्राभेलबाट आउने करोडौं राजश्व गुमेको उनले बताए । जिल्ला भित्रका नदीनाला, खोलाबाट बालुवा गिट्टी तथा ग्रभेल उत्खनन् तथा ओसार पोसार गर्दा जिविसले राजश्व लिने गरेको छ । तर यो दुई महिनामा उत्खनन् कार्य जारी छ तर जिविसमा राजश्व आउदैन ।

‘साउन र भदौमा दैनिक सय भन्दा बढी टि्रफर ग्राभेल ओसारपोसार भएपनि जिविसले राजश्व पाएको छैन, जबकी यसअघि दैनिक झण्डै एक लाख राजश्व आउँथ्यो,’ सिंहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment