Comments Add Comment

एमालेका सदस्यले अब पार्टीको स्कूलमा भर्ना हुनैपर्ने

सय पूर्णाङ्कको परीक्षामा ४० कटाउनेले प्रशिक्षक बन्न पाउने

Uml

१३ भदौ, काठमाडौं । बैचारिक राजनीतिक प्रशिक्षण नभएकै कारण पार्टीमा गुटबन्दी झाँगिएको भन्दै नेकपा एमालेले देशव्यापी रुपमा स्कूल सञ्चालन गर्ने भएको छ । एमालेका प्रत्येक सदस्यले अब पार्टी स्कूलमा भर्ना भएर पढ्नुपर्ने छ ।

एमालेको केन्द्रीय स्कूल बिभागले कार्यकर्तालाई पढाउने पाठ्यक्रम नै बनाएको छ । सोही पाठ्यक्रम अनुसार अहिले केन्द्रीय स्कूल च्यासलमा प्रशिक्षकहरु उत्पादन गर्ने काम भइरहेको स्कूल बिभाग उपप्रमुख शंकर पोखरेलले बताए ।

हालसम्म तयार पारिएको पाठ्यक्रम अनुसार बिभिन्न १४ विषय समेटिएका छन् । जुन विषयहरु सहभागीहरुको प्रकृति अनुसार थपघट हुने गरेका छन्

एमालेमा बैचारिक नेताका रुपमा चिनिएका पोखरेलले स्कूल विभागको नेतृत्व गरेपछि नियमित कक्षा सञ्चालन शुरु भएको छ । स्कूल विभाग प्रमुख पार्टी अध्यक्ष केपी ओली भए पनि कार्यकारी जिम्मा उप्रमुख पोखरेेलले पाएका छन् ।

एमालेले सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण स्कूलमा एक सय पूर्णाङ्कको परीक्षा समेत राखिएको छ । सामान्यतः एक सय पूर्णाङ्कको परीक्षामा पास हुन ३२ देखि ३५ नम्बर ल्याउनुपर्ने मान्यता विश्वविद्यालयहरुमा छ ।

तर, एमालेको स्कूलमा भने पास हुनका लागि कम्तिमा ४० नम्बर ल्याउनुपर्ने प्रावधान राखिएको छ । बढीमा एक साताको स्कुलिङपछि लिइने लिखित परीक्षामा राम्रो नम्बर ल्याएर पास भएकाहरुलाई प्रशिक्षक बनाएर देशव्यापी स्कूल चलाउन पठाइने स्कूल विभाग सचिव ईश्वरी रिजालले बताए ।

यसबीचमा अनेरास्ववियु र युवा संघका नेतृत्व तहका व्यक्तिलाई प्रशिक्षक रुपमा तयार पारिएको अब महिला,किसान हुँदै सबै जनसंगठनमा प्रशिक्षण दिइने रिजालले बताए । ‘यो स्कूलबाट पास भएकाहरु अन्यत्र पढाउन जानेछन्’ उनले भने ।

पार्टी स्कूल विभागको कक्षामा उत्तीर्ण भएकाहरुलाई विभागले दीक्षान्त समारोह गरेर दीक्षित समेत गर्न थालेको छ । पछिल्लो परीक्षामा युवा संघका अध्यक्ष राजिव पहारी प्रथम भएका छन् ।

परीक्षामा पास भएकाहरुलाई ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको हलमा दीक्षान्त समारोहबीच महासचिव ईश्वर पोखरेलले दीक्षित गरेका थिए । एमालेले आफ्नो स्कूल यही हलमा चलाउने गरेको छ ।

एमालेको स्कूलमा पढाइने विषय एकैखालका छैनन् । ठाउँ, संगठन र कार्यकर्ताको स्तर हेरेर विभिन्न विषयमा पढाइने गरेको छ । प्रशिक्षकहरु आवश्यकता अनुसार पार्टी भन्दा बाहिरका विज्ञहरु समेत बोलाइने गरेका छन् ।

हालसम्म तयार पारिएको पाठ्यक्रम अनुसार बिभिन्न १४ विषय समेटिएका छन् । जुन विषयहरु सहभागीहरुको प्रकृति अनुसार थपघट हुने गरेका छन् । पछिल्लो पटकका प्रशिक्षहरुमा समेटिएका विषय यस्ता छन् ।

  • मार्क्सवादी दर्शन र आर्थिक सामाजिक रुपान्तरण
    जनताको बहुदलीय जनवाद
    नेपालको सामाजिक चरित्र र सांस्कृतिक रुपान्तरण
    तराई मधेस समस्या र समाधान
    प्रशिक्षण सीप र कला
    सामाजिक समावेशीकरण
    भूराजनीति र परराष्ट्र सम्बन्ध
    संगठन निर्माण परिचालन र व्यवस्थापन
    कम्युनिस्ट आन्दोलनको इतिहास
    एक्काइसौं शताव्दीको राजनीति र सञ्चार
    नेपालमा विकास सम्भावना र चुनौति
    विकास र सम्वृद्धिका लागि ओली सरकारको नीति तथा कार्यक्रम र बजेट,
    स्थानीय तहको पुनसंरचना

यी विषयहरुमा घनश्याम भुसाल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, किरण गुरुङ, रविन्द्र अधिकारी, लालबाबु पण्डित, बिन्दा पाण्डे, घनश्याम कोइरालालगायतले प्रशिक्षण दिएका छन् ।

सोमबार सम्पन्न भएको युवा संघको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अब प्रत्येक एमाले सदस्यले पार्टी स्कूलमा भर्ना भएर बैचारिक शिक्षा लिनुपर्ने बताए ।

बैचारिक राजनीतिक प्रशिक्षण नभएकै कारण पछिल्लो समयमा पार्टीमा तलदेखि माथिसम्म गुटबन्दी र अराजकता बढेको भन्दै पोखरेेलले अब नेतृत्व तहबाटै आफूलाई रुपान्तरण गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment