Comments Add Comment

अब विद्यालयको पाठ्यक्रममै स्काउट समावेश हुने

nepal scout

१३ भदौ, काठमाडौं । विश्व स्काउट महिला सङ्गठनको १२औं एसिया प्रशान्त क्षेत्रको क्षेत्रीय सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । एक सातासम्म चल्ने यो अन्तर्राष्ट्रिय सम्मेलनमा २६ देशका २ सय ५० भन्दा बढि स्काउटीहरु सहभागी छन् ।

नेपाल स्काउटको आयोजनामा होटल याक एन्ड यतिमा सञ्चालन हुने क्षेत्रीय सम्मेलनको सोमवार एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको छ । राष्ट्रपति भण्डारीले नेपालमा स्काउटिङलाई जनमुखी बनाई विशेष गरी युवापुस्तालाई व्यावहारिक सीप र ज्ञान दिन सरकारको तर्फबाट विशेष भूमिका निर्वाह हुनुपर्ने विचार व्यक्त गरिन् ।

नेपालमा स्काउटिङ सुरु भएको छ दशकको अवधिमा बालबालिका, युवा-युवती तथा किशोर-किशोरको सर्वाङ्गीण विकासका साथै राष्ट्रप्रति समर्पित कर्तव्यबोध नागरिक तयार पार्ने कार्यमा नेपाल स्काउटले शैक्षिक अभियानका माध्यमबाट खेलेको भूमिकाको उनले सराहना समेत गरिन् ।

प्राकृतिक विपत्ति, विनाशकारी भूकम्पका बेला नेपाल तथा विश्व स्काउटले पुर्‍याएको सहयोगप्रति धन्यवाद दिँदै राष्ट्रपतिले देश अहिले पुनःनिर्माणको अभियान अगाडि बढेको सन्दर्भमा स्काउटको परोपकारी भूमिकालाई अरु व्यापक बनाउने कार्यमा सरकारका सम्बन्धित निकायले थप सहयोग र समन्वय गर्नुपर्ने खाँचो औँल्याएकी थिइन् ।

स्काउट शिक्षा स्कूलमै

युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले नेपालमा स्काउट्री क्रियाकलापले युवापुस्ताको क्षमता अभिवृद्धि र सामाजिक सेवामा पुर्‍याएको योगदानको सराहना गर्दै स्काउट सेवालाई विद्यालय तहमै पाठ्यक्रममा समावेश गरिने बताइन् ।

स्काउट एसिया प्रशान्त क्षेत्रीय प्रमुख लोली जाङले एकतामा विविधतासँगै नेतृत्व विकास र क्षमता अभिवृद्धिमा विश्व स्काउटका करिब ३५ लाख स्वयम्सेवकले सेवा दिइरहेको बताए ।

स्काउट पर्यटनको ढोका खुल्यो

नेपाल स्काउटका प्रमुख आयुक्त रवीन दाहालले युवापुस्तालाई क्षमतावान र कर्तव्यशील नागरिक बनाउन स्काउटिङ गतिविधिले सहयोग पुगेको बताए । उनले यो सम्मेलनले एशिया प्रशान्त क्षेत्रको नयाँ नेतृत्व समेत चयन गर्ने जानकारी दिएका छन् ।

नेपाल स्काउटका सदस्य सचिव लोकबहादुर भण्डारीका अनुसार हरेक तीन वर्षमा यस्तो सम्मेलन आयोजना हुने गरेको छ । सम्मेलनमा महिला नेतृत्व तथा क्षमता विकास, विपद् व्यवस्थापनका साथै महिला सशक्तीकरणसम्बन्धी कार्यशाला सञ्चालन हुनेछन् । ‘विश्वलाई नै जोड्नु, उत्पादन र प्रभाव पार्नु’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनको प्रतिक चिहृन ‘हाम्रो डाँफे’ राखिएको छ । नेपाल स्काउटमा युवा नेतृत्व आएपछि यसले अन्तर्राष्ट्रिय स्तरमा शाख बढाएको सहभागीहरुले बताएका छन् ।

स्काउटिङ पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने र विश्व स्काउटका संस्थापक वेडेन पावेलको नामकरण गरिएको रसुवाको ‘उर्केमा’ हिमाल आरोहणमा स्काउटको सहभागिता बढाउने उद्देश्यले सम्मेलन काठमाडौंमा गरिएको भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment