Comments Add Comment

मोटरसाइकल छाडेर कार किन्दै हुनुहुन्छ ? यी हुन उपयुक्त विकल्प

Cars 810
१४ भदौ, काठमाडौं । मोटरसाइकल छाडेर आफ्नै गाडी किन्ने चाहना नराख्ने कमै होलान् । विगत केही वर्षदेखि मोटरसाइकलको विकल्पमा कार किन्नेहरुको संख्या दिनप्रतिदिन बढ्दो पनि छ ।

मध्यमस्तरका नियमित आम्दानीको स्रोत हुनेहरुले ‘अटो लोन’ लिएर गाडी चढ्न ठूलो समस्या पनि छैन । अटो लोनको ब्याजदर पनि विस्तारै घट्दै गर्दा मोटरसाइकल छाडेर इन्ट्री लेभलका गाडीमा धेरैको चासो बढ्दो छ ।

गाडी दैनिक आवश्यकताको साधन बनेपछि निर्माता कम्पनीहरुले मध्यमवर्गका ग्राहकलाई समेत लक्षित गरी साना गाडी उत्पादन तीव्र बनाएका छन् । यसैकारण मोटरसाइकललाई विस्थापित गर्ने योजना बनाएका ग्राहकलाई गाडी चढ्न पनि उर्जा मिलेको छ ।

नेपालमा पछिल्लो समयमा साना, सस्तो र धेरै माइलेज दिने कारहरुको माग बढ्दो क्रममा छ । त्यसैले आजभोलि सडकहरुमा विभिन्न कम्पनीका इन्ट्री लेभलका गाडी बाक्लिएका छन् ।

गाडी उत्पादक कम्पनीहरुले पनि मोटरसाइकल छाडेर गाडी किन्न चाहाने मध्यमवर्गलाई लक्षित गरेर इन्ट्री लेभलकै कारमा उत्कृष्ट सुविधा, डिजाइन, इञ्जिन, माइलेज र ग्राउण्ड क्लेयरेन्स प्रदान गरेका छन् । त्यसैले नियमित आम्दानीबाट थोरै बचत गर्न सक्ने उपभोक्तालाई यस्ता गाडीले गजबसँग आकषिर्त गरिरहेका छन् ।

सडकको दुरावस्थाले मोटरसाइकल यात्रा जोखिमपूर्ण बन्दै गएकाले पनि विकल्पमा कार प्रयोग गर्नेहरुको संख्या दिनपि्रतिदिन उकालो लागिरहेको छ । अझ सार्वजनिक सवारी साधनको यात्रा सहज र भरपर्दो नहुँदा पनि इन्ट्री लेभलकै कार खरिदमा ग्राहकको चासो बढ्दो छ ।

त्यसमाथि मोटरसाइकलमा यात्रामा गर्दा धुवाँ धुलो मात्रै भोग्नु पर्दैन, झरीको समयमा रुझ्नुपर्छ भने घाममा पनि धेरै समस्या भोग्नुपर्छ ।

यस्तो अवस्थामा आफूले ‘अर्फोड’ गर्न सक्ने मूल्यमा राम्रा स्तरका गाडी किन्न पाइने अवस्था छ । त्यसैले गाडीमा धेरैको चासो बढ्नु स्वभाविक नै भएको कम्पनीहरु बताउँछन् ।

नेपालमा सामान्यतया हुण्डाई, सुजुकी र टाटाका साना गाडीहरू बढी प्रचलित छन् । सँगै अन्य थुप्रै कम्पनीहरु पनि इन्ट्री लेभलको कार लिएर बजारमा आएका छन् ।

यो लेभलको कार बजारमा केही नयाँ गाडी प्रवेश गरेका छन् भने कुनैले बजारमा बर्चश्व नै कायम गरेका छन् । इन्ट्री लेभलका कारहरु मध्यमर्बगमा आफ्नो प्रभाव छाड्ने क्रममा छन् ।

डाटसन रेडी गो
Datsun-Redi-Go-1
मूल्यको हिसाबले ग्राहकको मन जित्न सफल कार हो जापनीज ब्राण्ड डाटसनको ‘रेडी गो’ । ८ सय सीसी क्षमताको पेट्रोल इञ्जिन जडित यो अर्वन क्रस कार नेपाली बजारमा १३ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ ।

डाटसन गाडीको नेपाली आधिकारिक विक्रेता पायोनियर मोटोकर्प हो । ‘रेडी गो’ फेमिली ह्याचब्याक कार हो ।
‘रेडी गो’ नेपाली बजारमा हुन्डाई इओन र मारुती अल्टोसँग प्रतिस्पर्धा गरिरहेको छ । प्रतिलिटर २५.१७ किलोमिटर माइलेज दिने भएकाले पनि रेडी गो ग्राहकमाझ लोकपि्रय बन्ने क्रममा रहेको छ ।

यसमा फाइभ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ । यो गाडी १५.९ सेकेण्डमै १०० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन सक्छ । जसले गर्दा काठमाडौ लगायत सवारी जाम हुने शहरमा यसको महत्व बढेको कम्पनीको दावी छ ।

रेडी गो कारको सबैभन्दा आकर्षक पक्ष हो, ग्राउन्ड क्लियरेन्स । यसमा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ । ह्याचब्याक कार भएर पनि यसमा एसयुभी कारको जत्तिकै ग्राउन्ड क्लियरेन्स छ ।

यो गाडीमा तीन वर्ष वा ३० हजार किलोमिटर स्टान्डर्ड वारेन्टीको सुविधा दिइएको छ ।

मारुती-सुजुकीको अल्टो
Maruti-alto-800-final
इन्ट्री लेभलको अल्टो मारुती-सुजुकीको उत्पाद हो । अहिले यो सबैभन्दा बढी बिक्री हुने कारमा पर्छ । अल्टोको अपग्रेडेड भर्सन आएपछि उपभोक्ताले अत्याधिक रुचाएका छन् ।

सिजी मोटोकोर्पकाअनुसार नेपाली बजारमा अल्टो तीनवटा भेराइटीमा उपलब्ध छ । अल्टो ८०० सीसी इञ्जिन क्षमताको कार हो । यो गाडी ६ वटा कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । १ सय ६५ मिलिमटिरको ग्राउण्ड क्लियरेन्स रहेको कारमा ३५ लिटरको पेट्रोल टयांकी छ ।

यसले प्रतिलिटर २४ दशमलव ७ किलोमिटर माइलेज दिन्छ । माइलेजका कारण पनि यसले नयाा गाडी ग्राहकको ध्यान तानेको छ ।

नेपाली बजारमा अल्टोको मूल्य १४ लाख ९९ हजार रुपैयाँबाट हुन्छ भने फुल अप्सन अल्टो १७ लाख २९ हजार रुपैयाँसम्म पर्छ । अल्टो स्टान्डर्ड नेपालमा ट्याक्सीका रुपमा प्रयोग गरिएको छ ।

अल्टोलेे शहरी क्षेत्रमै पनि १९ किलोमिटर प्रतिलिटरको माइलेज दिइरहेको सिजी मोटाकोर्पले बताउँछ ।अल्टो इन्धन किफायती भएकाले पनि धेरैको रोजाइमा पर्ने गरेको छ ।

हुण्डाइको इओन
hyundai-eon-final
इओन गाडी हुण्डाईको उत्कृष्ट इन्ट्री लेभलको कार हो । विभिन्न विशेषताका कारण यो कार नेपालमा लोकपि्रय भइससेकेको छ । त्यसैले यो कार ट्याक्सीका रुपमा पनि प्रयोग भइरहेको छ ।

नेपालमा चार कलर र ४ वटै भेरियन्टमा इओन उपलब्ध छ । सस्तो मूल्यमा उत्कृष्ट डिजाइजसहित विभिन्न विशेषताले भरिपूर्ण भएकाले यो कारलाई धेरैले रुचाएका छन् ।

८ सय सीसीको इओनमा १ सय ७० एमएमको ग्राउण्ड क्लिरेन्स छ । यसै कारण पनि ग्राहकको मन जित्न यसलाई गाह्रो परेको छैन ।

मोटरसाइकल ‘सब्स्टीच्युट’ गर्नेका लागि इओन उत्कृष्ट र महत्वपूर्ण भेहिकल हुनसक्छ । किनकी यसले पनि कम इन्धन खपत गर्छ भने लुक्स बेजोडको छ । यसले प्रतिलिटर २१ दशमलब १ किलोमिटर गुड्ने क्षमता राख्छ । यो कारमा ३२ लिटरको इन्धन टयांकी छ ।

नेपाली बजारमा पेट्रोल भर्सनको इओन डिलाइटको प्रारम्भिक मूल्य १६ लाख ५६ हजार रुपैयाँ छ । फुल अप्सनको इओनको मूल्य २० लाख ७६ हजार रुपैयाँसम्म पर्छ ।

इओन डिलाइट प्लसको मूल्य १७ लाख ५६ हजार रुपैयाँ छ भने इओन इरा प्लसको १८ लाख ५६ हजार र इओन माग्नाको २० लाख ७६ हजार रुपैयाँ छ । सानो खालको गाडी भएपनि स्पेसमा कुनै कमी नरहेको कम्पनीको दाबी छ ।

रेनल्ट क्वीड
REANULT-KWID
‘रेनल्ट क्वीड’ इन्ट्री लेभलको ८ सय सीसी क्षमताको ह्याचब्याक कार हो । रेनल्टले भर्खरै विक्री सुरु गरेको यो कार पनि अब नेपाली मध्यमबर्गमाझ छुट्टै पहिचान बनाउनेक्र ममा छ । स्पोर्टी लुक्सको क्वीडले यसअघि नै बजारमा कब्जा जमाएका कारहरुको बीचमा भिन्न पहिचान छाड्न सक्ने कम्पनीको दावी छ ।

उत्कृष्ट डिजाइन, मूल्य र माइलेज र फिचर्सका कारण यसले धेरैको ध्यान खिच्ने देखिएको छ । रेनल्टले आˆनो इन्ट्री लेभल गाडी क्वीडमा सकेसम्म धेरै फिचर्स राख्न प्रयास गरेको छ । ड्राइभर सिटमा एयरब्याग, एयर कन्डिसनसहित सुन्दर आन्तरिक सजावटले यसलाई थप आकषिर्क बनाएको छ ।

इन्ट्री लेभलको कारक्वीडको फ्युल इफिसियन्सी उत्कृष्ट छ । यसले २५.१७ किलोमिटर प्रतिलिटरको माइलेज दिने कम्पनीको दावी छ । यसमा २८ लिटर क्षमताको इन्धन ट्यांक रहेको छ । क्वीडको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ भने बुट स्पेश ३०० लिटर क्षमताको छ ।

युरोप, ब्राजिल र भारतजस्ता बजारमा सफलता हासिल गरिसकेको क्वीडले चालक र यात्रुको सुरक्षाका सवै उपायहरु अपनाएको छ । ड्राइभर सिटमा रहेको एयरब्याग सुविधा यो क्लासमा रहेका अन्य कारको भन्दा फरक छ ।
रेनल्ट क्वीडको मूल्य १६ लाख ८९ हजार ९९० रुपैयाँभन्दा माथि छ ।

टाटा टियागो
TATA-TIAGO
भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको टियागो स्र्पोटी ह्याचव्याक भर्खरै नेपालमा सार्वजनिक भएको कार हो । उत्कृष्ट डिजाइनसहित विभिन्न फिचर्सका कारण यिागोले धेरैको ध्यान तानेको छ ।

टाटा मोटर्सको नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालीले यसलाई नेपाली बजारमा ल्याएको हो । यो कार तीन वटा भेरियन्टमा उपलब्ध छ । यो कार स्ट्राइकर ब्ल्यू, बेरी रेड, सनब्रस्ट अरेन्ज, एक्प्रेसो ब्राउन, पर्लसेन्ट हृवाइट र ल्पाटिनम सिल्भर कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

४ वर्षको वारेन्टी रहेको टियागोको प्रारम्भिक मूल्य २२ लाख ५५ हजार रुपैयाँ छ । एक्सइ भेरियन्टको मूल्य २२ लाख ५५ हजार रुपैयाँ छ भने एक्सएमको २५ लाख ५५ हजार र एक्सजेडको मूल्य २८ लाख ५५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

विभिन्न फिचर्सहरु समावेश भएको यो १२ सय सीसीको कार मोटरसाइकलको विकल्प खोज्नेहरुका लागि एउटा राम्रो ‘अप्सन’ हो । यो कारको बनोट आकर्षक छ भने सार्प लाइन, सिग्नेचर हेग्जागन गि्रलसहित प्रस्तुत गरिएको छ ।

कारमा सिटी र इकोसहित मल्टि ड्राइभ मोड राखिएकाले फ्युल इफिसियन्सी पनि राम्रो छ । यसैका कारण गाडी चढ्नेबारे योजना बनाएकाहरुले यसलाई विकल्पका रुपमा राख्नसक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment