१५ भदौ, काठमाडौं । पर्यटन मन्त्रालयले आफ्नो मातहतका कार्यालयहरुमा विदेशबाट आयातीत खादा प्रयोगमा रोक लगाएपछि यसको पक्ष र विपक्षमा बहस चलिरहेका बेला हामी खोज्दै गयौं, नेपाली खादा बनाउने घरेलु उद्योग ।
कुनै नाम चलेको उद्योग होइन अनि ठूला मान्छेले चलाएको पनि होइन । भक्तपूरको गठ्ठाघर चोकमै एउटा घरको कोठामा नेपाली खादा उद्योग चलिरहेको छ । चुपचाप नेपाली खादा उत्पादन हुन्छ यहाँ ।
विदेशी खादाको पक्ष बिपक्षमा बहस चलिरहँदा तीनजना महिलाको नेतृत्वमा सन्चालित खादा उद्योगले फाट्टफुट्ट अर्डर समेत पाउन थालेको छ । उनीहरु अहिलेसम्म बजारमा गएका छैनन् र यहाँका उत्पादन बजारमा जादैनन् । तर बजार बिस्तारै उनीहरुतिर आकिर्षत हुन थालेको छ ।
खादा बहसले जन्मियो नेपाली खादा
पछिल्लो समयमा नेपालमा खादा संस्कृति मूलधार बनिसकेको छ । कुनै पनि औपचारिक कार्यक्रममा अतिथीहरुलाई खादा लगाएर स्वागत गर्ने आम प्रचलन भइसकेको छ । विदेशका नेपालीहरुबीच त कुनै कार्यक्रममा झुक्किएर कसैलाई खादा लगाइएन भने अपमानको विषय बन्ने गरेकेा छ ।
खादा बुद्ध धर्माबलम्बीमा मात्र सीमित नरहेका कारण यसको प्रयोग तथा आयात समेत असीमित बन्दै गएपछि हाम्रै उत्पादनबाट खादा किन नबनाउने भन्ने बहस केही समयदेखि शुरु भयो ।
यही बहसकै बीचमा आस्था हस्तकला उद्योगले नेपाली ढाकाको खादा बनाएर केही कार्यक्रममा अतिथीहरुलाई लगाइदिन थाल्यो ।
पछिल्लो पटक गठ्ठाघरकै आस्था महिला विद्यालयको वाषिर्कोत्सवमा पुगेका तत्कालिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र सांसद केदार सन्जेललाई त्यही विद्यालयकै छात्राले बनाएको नेपाली खादा लगाइएपछि केही ठाउँमा यसको चर्चा हुन थाल्यो ।
नेपाली खादाले क-कसलाई लोभ्यायो ?
यो गत जेठ १४ को कुरा हो । त्यसदिन नेपाली खादा लगाएपछि लोभिएका सांसद सन्जेलले पेशागत महासंघको कार्यक्रममा नेपाली खादा अर्डर गरे । पार्वती ज्ञवाली, रुपा केसी र शारदा शर्मा तीन स्वाबलम्बी महिलाको यो उद्योगले पहिलो पटक नेपाली खादाको अर्डर पायो ।
कार्यक्रमका प्रमुख अतिथी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, एमाले महासचिव इश्वर पोखरेल जस्ता नेताहरु समेत नेपाली खादाप्रति लोभिएपछि उनीहरुको उत्साह बढ्यो ।
‘खासमा त्यसपछि नेपाली कपडाकै मौलिक खादा उत्पादन गर्न सम्भव छ भनेर हामीले खादा बनाउन थाल्यौं’ रुपाले अनलाइनखबरसँग भनिन् ।
रुपा भन्छिन्- ‘नेपालमै उत्पादन भएको कपडा, नेपाली श्रम र सीपबाट खादा बनाउदा यसले पैसा बाहिर नजाने र रोजगारी पनि बढ्ने भएकाले हामी यो अभियानमा जुट्यौं । शुरुवात हो तर हामी जति ठाउँमा पुग्यौं,न ेपाली खादा लगाएपछि सबै खुसी भएका छन् ।’
बिदेशी खादासँग प्रतिस्पर्धा होइन
विदेशबाट आयात हुने चलनचल्तिको खादा प्रयोगमा रोक लाग्छ वा लगाइनुपर्छ भनेर यी महिलाले नेपाली खादा उत्पादन थालेका भने होइनन् । ‘हामीले आफ्नै मौलिक उत्पादन प्रयोग गरौं न त भनेर थालेका हौं, बाहिरबाट आउने खादा रोक्नुपर्छ भन्नेसँग हाम्रो सरोकार छैन’ आस्था महिला विद्यालयकी प्राचार्य पार्वती ज्ञवालीले भनिन् ।
सानैमा पढ्न नपाएका महिला तथा बृद्धाहरुलाई अध्यापन गराउने आस्था महिला स्कूल र आस्था घरेलु उद्योगको सम्बन्ध एक अर्कासँग गाँसिएको छ । यहि विद्यालयमा पढ्ने महिलाले नेपाली खादा बनाउँछन् ।
ढाका कपडा घरमा लगेर अर्डर बमोजिम खादा सिलाउने महिलाले एउटा खादा बनाए बापत १० देखि १४ रुपैयासम्म पाउने गरेको अध्यक्ष रुपा केसीले बताइन् । ‘आ-आफ्नै घरबाट खादा सिलाउन सक्छन्, एकजनाले महिनामा १२ हजार रुपैयासम्म कमाउने गरेका छन्’ उनले भनिन् ।
सीप र शिक्षालाई सँगै लैजाने उद्देश्यले खादा बनाउने काममा आस्था महिला विद्यालयकै छात्राहरुलाई काम दिइएको हो । पछिल्लो समयमा नेपाली खादाको माग बढ्न थालेपछि रोजगारी पनि बढ्न थालेको छ ।
यी स्वाबलम्बी महिलालाई घरेलु उद्योग खोल्न तत्कालिन उद्योग मन्त्री महेश बस्नेतले सघाएका रहेछन् । तर उनलाई यो उद्योगमा बनेको खादा भने लगाइदिन नपाएको सन्चालिका शारदाले बताइन् ।
पर्यटन मन्त्रालयले ५ सय खादा माग्यो
पछिल्लो पटक आफ्नो माताहतका ४० निकायमा विदेशी खादा प्रयोगमा रोक लगाएको पर्यटन मन्त्रालयले आस्था महिला हस्तकलासँग ५ सय थान नेपाली खादा अर्डर गरेको छ ।
पर्यटन सचिव प्रेमकुमार राईकै आग्रहमा अहिले नेपाली मौलिकताको खादा बनाउने काम भइरहेको छ । मन्त्रालयले अर्डर गरेको खादामा नेपालको राष्ट्रिय झण्डा र लोगो भरिनेछ ।
‘सादा खादा प्रयोग गर्ने कि त्यसमा के भर्ने भन्ने सम्बन्धित पक्षको आग्रह अनुसार बनाउछौैं,अर्डर गर्नेले यस्तो लोगो वा झण्डा राख्नु भनेपछि हामी सोही अनुसार गर्छौं’ रुपाले भनिन् ।
स्वदेशमै पैसाःवातावरण मैत्री
नेपाली खादा प्रयोग गर्दा मुलुकको अर्थतन्त्रदेखि पर्यावरणमा समेत सघाउने पुग्ने दावी यी उद्यमी महिलाहरुको छ । पहिलो कुरा त ढाका कपडा नेपालमा बुनिने भएकाले स्वदेशी उत्पादनले ठाउँ पाउनेछ ।
दोस्रो कुरा यो ढाकाको खादा नेपालमै बनाउदा रोजगारी पढ्ने छ भने पैसा पनि बाहिर जाने छैन । स्वदेशको उत्पादन स्वेदशी सीपःस्वदेशमै रोजगारी मुुलुकको हित भन्ने नाराले आर्थिक सम्बृद्धि र स्वाबलम्बी बनाउन सघाउने उनीहरुको विश्वास छ ।
नेपाली खादा बहुउपयोगी र वातावरणमैत्री रहेको रुपाको दावी छ । उनीहरु अहिले प्रयोग भइरहेको विदेशी खादाका बिरोधी होइनन् तर विस्तारै आफ्नै मौलिक खादा उत्पादनमा बौद्ध गुम्बा तथा बौद्धमार्गी संस्थाहरु पनि लाग्ने हो भने खादामा आत्मनिर्भर बन्न सकिन्छ भन्छन् ।
रुपा भन्छिन्-तिब्बती खादा डिस्पोजल गर्न सकिन्न र यो कार्यक्रममा बाहेक अन्त लगाएर पनि हिड्न नमिल्ने भएकाले एकपटक प्रयोग गरेपछि उपयोग विहीन छ । तर ढाकाको स्वेदेशी खादा गलबन्दीका रुपमा पनि प्रयोग गर्न सकिन्छ र बच्चाको लुगा बनाउन पनि काम लाग्छ । यो वातावरणमैत्री छ ।
नेपाली खादाको मूल्य
नेपाली खादाको मूल्य पनि धेरै महँगो छैन । सामान्यतःविदेशबाट आयात गरिएका खादाको मूल्य कम्तिमा ३० देखि माथि ९ सय रुपैयासम्म पर्छ । आस्था महिला हस्तकलाबाट उत्पादित खादाको मूल्य औषत छ ।
कम्तिमा ५० रुपैयादेखि डेढ सय रुपैयासम्मका खादा उत्पादन गरिरहेका यी महिलाले बजारमा माग बढ्दै गएकोमा उत्पादन बढ्ने र मूल्य अझ घटाउन सकिने बताएका छन् ।
‘ढाकाको कपडा भएकाले सामान्य खादाको ५० रुपैयासम्म पर्छ, बुट्टादार र दोहोरो सिलाइ भएको खादाको डेढ सय पर्छ’ ज्ञवालीले भनिन् । पुनः उपयोग र अन्य प्रयोजनमा समेत लगाउन मिल्ने भएकाले यो मूल्य उपयुक्त रहेको उनले बताइन् ।
त्रिदेवीको स्वाबलम्बी संयोग
पार्वती ज्ञवाली गुल्मीकी हुन् भने रुपा केसी बाग्लुङ अनि शारदा शर्मा पर्वतकी । यी तीन महिलाको भेट आस्था महिला विद्यालय स्थापनाका सन्दर्भमा भएको हो । यो भेटको सम्बन्ध अहिले खादा उद्योग चलाउनेसम्म पुगेको छ ।
शुरुमा आस्था महिला हस्तकला उद्योगमार्फत प्लास्टिक झोलाको बिकल्पमा कटन झोला बनाएर सहकारी संस्थाहरुलाई बेच्न थालेका यी महिला बिस्तारै ढाकाका झोला बनाउन थाले । अब खादाको बजार बढ्न थालेपछि नेपाली खादालाई समाजमा स्थापित गर्ने र आफ्नै पहिचान जोगाउने अभियानमा लाग्ने संकल्पन गरेका छन् यी त्रिदेवीले ।
यो पनि पढ्नुहोस्
विदेशी खादामाथिको प्रतिवन्ध कार्यान्वयन नगर्न मन्त्रीको निर्देशन
तस्वीरः श्रीधर पाैडेल