Comments Add Comment

आफैंले फेल गरेको बजेट आश्रित विधेयक सत्ता गठबन्धनलाई गलपासो !

बिष्णु पौडेल भन्छन्-हामीलाई सोध्नु पर्दैन, सरकारले नियमसम्मत गरोस्

mahara and poudel

१४ भदौ,काठमाडौं । आफैंले फेल गराएको बजेट आश्रित बिधेयक कांग्रेस माओवादी गठबन्धनलाई गलपासो बनेको छ ।

बजेटसँग आश्रित तीनओटा बिधेयक फेल गराएको एक महिना नपुग्दै फेरि तीनै बिधेयक संसदमा ल्याउन खोजेपछि एमालेले सरकारलाई संवैधानिक र नियमावलीको पासो थापेको छ ।

सरकारले बजेट आश्रित बिधेयकहरु परिमार्जन सहित संसदमा पठाउन लागेको सूचना पाएपछि एमालेले संविधान र संसदको नियमावलीको प्रश्न उठाएको हो । मंगलवार प्रधानमन्त्री प्रचण्डले बोलाएको शीर्ष बैठकमा समेत यो विषयले प्रवेश पाएको छ ।

आफ्नो सरकार ढाल्ने क्रममा बजेट आश्रित बिधेयकहरु बिना कारण फेल गराएको भन्दै एमाले मौका हेरेर बसेको छ । आखिर ती विधेयक आफू सरकारमा आएपछि पनि ल्याउनैपर्छ र पारित गर्नैपर्छ भन्ने थाहा हुँदा हुँदै कांग्रेस माओवादीले असफल बनाएका थिए ।

शीर्ष बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले आश्रित बिधेयक सम्बन्धी विषय प्रवेश गराउनसाथ निवर्तमान अर्थमन्त्री समेत रहेका एमाले उपमहासचिव बिष्णु पौडेलले सरकारलाई अप्ठ्यारो पार्ने तर्क गरे ।

पौडेल बोलेपछि यो विषय छलफलबाटै बाहिरिएको स्रोतले जनाएको छ । पौडेलले आश्रित बिधेयक के गर्ने भन्ने सरकारको विषय भएकाले यसमा प्रतिपक्षसँग सल्लाह गर्नु आवश्यक नरहेको बताएका थिए ।

‘सरकारले संविधान सम्मत र व्यवस्थापिका संसदको नियमावली सम्मत ढंगले काम गरे हुन्छ,यसमा हाम्रो सल्लाह आवश्यक छैन भनेको हुँ’ बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै पौडेलले भने ।

उनले यसो भनेर सरकारलाई झनै अप्ठ्योरो पार्न खोजेको विज्ञहरु बताउँछन् । संविधान अनुसार जेठ १५ गतेमात्र बजेट ल्याउन मिल्ने भएकाले यसमा तलमाथि गर्न मिल्दैन । त्यस्तै संसदको नियमावलीले एउटा अधिवेशनमा फेल भएको बिधेयक त्यहि अधिवेशनमा पेश गर्न नपाउने भनेको छ ।

यहि अधिवेशनमा यसअघि आफैंले फेल गराएको आश्रित बिधेयक सरकारले ल्याउन नसक्ने बुझाइ एमालेको छ । यो संसदको अधिवेशन अन्त्य गरेर अर्को अधिवेशनमा भने यहि आश्रित बिधेयक ल्याउन मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment