Comments Add Comment

कथा : नादिया र परेवाहरु

 

Mani-Lohani
मणि लोहनी

‘उनी मलाई आत्मघाती बमवर्षक भएको देख्न चाहान्थे ।’

आफ्ना पतिका बारेमा उनले मलाई बताएको कुरा यही थियो । उनका पति अमेरिकी सेनाको सिकार बने । आफ्नो भूमिमा भएको अमेरिकी हस्तक्षेपको विरोधमा उनका पति अफरोज हुसेन लागेका थिए ।

अफरोजलाई के लाग्थ्यो भने देशभन्दा ठूलो केही पनि हुँदैन । प्रेम पनि हुँदैन । श्रीमती, परिवार र माया भन्ने कुरा देशभन्दा महान् हुँदैन भन्नेमा उनी विश्वस्त थिए । त्यही भएर उनी आफ्नी पत्नि नादियालाई शरिरभरि बम बेरेर अमेरिकी सैनिकको क्याम्पमा पठाउन चाहान्थे ।

‘तर मैले मानिनँ,’ नादियाले भनी, ‘मलाई उनीसँगको मेरो जीवनको माया लाग्थ्यो । मैले उनलाई पटकपटक आग्रह पनि गरेकी थिएँ । देश-देश भन्न छाडिदेऊ । दुई छाक खान पुगिहाल्छ किन पीर लिने ? तर, मेरो केही लागेन ।’ नादियाले लामो सुस्केरा फाली ।

इराकी नौजवानहरुका खुनमा दौडिएको राष्ट्रियता उनको पतिको खुनमा पनि थियो । ‘किनभने मेरा पति पनि इराकी जवान थिए,’ उनले भनिन् ।

अफरोज इराकी सेनाको ज्यादतीलाई नरोकी बाबु बन्न पनि चाहँदैनथे । उनी अक्सर नादियासँग भन्थे रे, ‘हेर हाम्रै जीवनको कुनै ठेगान छैन । यस्तोमा के सन्तानको लोभ गर्नु ! हामी मर्‍यौं भने तिनीहरुको बिचल्ली हुँदैन ?’

‘अफरोजको यो प्रश्नको मसँग कुनै जवाफ थिएन । त्यही भएर पछिल्ला दिनहरुमा मैले उनीसँग सन्तानको जिद्दी गर्न छाडिदिएँ ।’ पछ्यौरा जस्तो सानो कालो कपडाले उनले कपाल छोपिन् ।

मोटो भए पनि फुर्तिलो कालो ज्यानकी उनी मसँग पति वियोगका कुरा गरिरहेकी छिन् । आफूलाई आत्मघाती विष्फोटमा मर्न प्रोत्साहन गर्ने निर्दयी पतिको वियोगमा उनी विह्वल थिइन् । भनिन्, ‘ऊ त मरिहाल्ने रै’छ । मैले उसले भनेको मानेको भए पनि हुने रहेछ । कम्तीमा ऊ खुशी त हुन्थ्यो ।’

यतिखेर हामी इराकी राजधानी बग्दादमा रहेको एक महिला शरणार्थी शिविरमा छौं । यहाँ सयौं विधवा महिलाहरु छन् । मानिसका लागि सहयोग भन्ने एक अन्तर्राष्ट्रिय संस्थाले मलाई यहाँसम्म आउने अवसर दिएको हो । विश्वका प्रायः सबै मुलुकमा सञ्जाल भएको यो संस्थाले विशेष गरी द्वन्द्व र युद्धका चपेटामा परेका महिलाहरुको पक्षमा काम गर्छ ।

यसै संस्थामा आबद्ध रहेकी महिला अधिकारकर्मी हाना अदवरले यस महिला शरणार्थी शिविरमा भएका कामहरु हामीलाई बताइरहेकी छिन् । मसँगै पाकिस्तानका फारुक रहमान, जापानका अकिहितो नोकु र भारतकी सलिना वर्मा छिन् । अकिहितो र सलिना महिला अधिकारकर्मी हुन् भने फारुक र म पत्रकारका नाताले यहाँ छौं ।

शिविर आइपुगेको दोस्रो दिन बिहान म आफ्नो कोठाको झ्यालमा बसेर वैरागलाग्दो इराकी राजधानी नियालीरहेको थिएँ । टाढा-टाढासम्म रुखविरुवा कतै नदेखिने यो रङहीन शहरभन्दा पनि निरीह छ यो शिविर, जहाँ हामी छौं ।

शान्त र जीवनहीन जस्ता देखिने सयौं महिला मौन र चुपचाप छन् यहाँ । कोही कसैसँग बोलेको सुनिँदैन । हाना बताउँदै थिइन्, शिविरभित्रका महिलाहरु अक्सर एक आपसमा बोल्दैनन् रे ।

पीडाले आक्रान्त उनीहरु थाहा छैन मौनतामा कस्तो शान्ति भेट्थे ? त्यसो त मौनतामा झन् ठूलो कोलाहल हुन्छ । झन ठूलो तनाव र पीडा हुन्छ ।

‘बोल्नैपर्ने कुरामा पनि थोरै बोल्छन् यिनीहरु ।’ हानाले भनेकी थिइन्, ‘यिनीहरुको मनमा अलि राम्रो जीवन पनि बाँच्न सकिन्छ भन्ने भावना जन्माउनु निकै कठिन काम हो ।’

त्यसो त इराक प्रवेश गरेदेखि नै मैले त्रास र तनावमुक्त आँखा कसैको पनि देखिनँ । यही हाना जो लामो समयदेखि यस शिविरमा काम गरिरहेकी छिन्, उनकै आँखामा पनि विचित्रको डर छ ।

‘हाना, यो के को डर हो तिम्रो आँखामा ?’ शिविर आइपुगेकै साँझ मैले सोधेथेँ ।

‘अरुलाई भन्न त हुँदैन लोहनी, तर हामी पनि कहाँ सुरक्षित छौं र ?’ मन डरले ढक्क फुल्यो ।

‘किन, के भनेकी ?’ म आात्तिएँ ।

‘हामी इराकी आतंककारी र अमेरिकी सैनिक दुवैको तारो छौं । किनभने हामीले इराकी सामान्य नागरिक होस् या आंतककारी सबैका विधवालाई यहाँ शरण दिएका छौं । आतंककारी र अमेरिकी सैनिक दुवैलाई लाग्छ, यहाँभित्र बसेर हामी उनीहरुका विरुद्धमा योजना बनाइरहेका छौं । त्यही भएर यहाँ पटक-पटक आक्रमणका प्रयास पनि भएका छन् ।’

हानाको कुरा नसकिँदै सलिना डरले मेरो हात चपक्क समाउँछे । म उनको कुममा हात राख्छु र नडराउन अनुनय गर्छु, आँखाले ।

म अघि कुरा गर्दै थिएँ । शिविर आइपुगेको दोस्रो दिन बिहान ।

त्यो बिहान झ्यालबाट बाहिर हेरिरहँदा मैले जीवनविहीन झैं शिविरको एक कुनामा एउटी २४-२६ की महिलाले परेवालाई चारो खुवाउँदै गरेको देखेँ । आफ्नै जीवनमाथि विश्वास र सम्मान गर्न नसकिरहेकाहरुको यो भिडमा अरुको जीवनको ख्याल गर्दै चारो खुवाइरहेको दृश्यले मलाई निकै रोमाञ्चित बनायो ।

म कोठाबाट तल ओर्लिएँ । उनीसँग परिचय गरिहालेँ ।

त्यहीँ चारो खुवाउँदै गरेको अवस्थामा भेटिएकी महिला नै हुन् नादिया हुसेन । उनका पति र तीन दाजुभाइ अमेरिकी सैनिकबाट मारिए । बाबुआमा पहिल्यै स्वर्गे भइसकेका थिए । उनको घर जलाइयो । पछिल्ला महिना नादियाले अझ बढी कष्टमय दिनहरु झेल्नु पर्‍यो । अहिले उनी यही शरणार्थी महिला शिविरमा छिन् ।

यो ठाउँ इराकी विधवाले समाजमा खेप्नुपरेको जोखिम र सास्तीबाट बच्ने ठाउँ हो । यहाँ उनको काम भनेको खाना पकाउने हो । बिहानको एक समय भने उनी सधैं परेवालाई चारो खुवाउन भुल्दिनन् ।

‘यिनीहरुको जीवनको पनि के भर, कतिबेला कहाँ बमको छर्राले भेट्टाउने हो ?’ उनले फेरि लामो सुस्केरा फालिन्, ‘यहाँ कसैको पनि जीवन सुरक्षित छैन । तपाईंहरुको पनि छैन ।’

नादियाका शब्दहरु गोलीका पर्राजस्तो लाग्छ सायद सलिनालाई र उनी फेरि मेरो हात समाउन आइपुग्छिन् डरले ।

‘मेरा श्रीमान् मलाईभन्दा बढी देशलाई माया गर्थे र म उनलाई भन्दा बढी माया कसैलाई पनि गर्न सक्दिनथेँ । मलाई आफ्नो जीवनको माया लागेकै उनको कारणले हो । उनी नहुँदा हुन् त म उहिल्यै शरीरमा आत्मघाती बम बेरेर अमेरिकी सैनिकको क्याम्पमा छिरिसकेकी हुन्थेँ ।’

प्रेममा पनि यो कत्रो आतंक ! यो कत्रो विध्वंस । सुनेर हामी हैरान हुन्छौं । अकिहितो त आँखाभरि आँसु बोकेर नादियालाई हेरिरहन्छ । इराक छिरेदेखि नै ऊ त नर्भस जस्तै भएको छ । राम्रोसँग बोल्न पनि सकिरहेको छैन । बेला-बेलामा जापान फर्किन नपाइने हो कि भन्ने चिन्ताले उ व्याकुल पनि हुन्छ ।

‘तर, अब मलाई डर छैन ।’ नादियाका काला ठूला आँखा राता हुन्छन् ।

‘हेर्नोस् अफरोज मारिएपछि मेरो जीवनको पनि कुनै सार रहेन । अब म बमले आफैंलाई उडाइदिन चाहान्छु । म आफूलाई अति नै प्यारो लागेको मानिसलाई छिनेर लैजानेहरुलाई मार्न चाहान्छु ।’ नादियाको मनमा उम्लिएको बदलाको भाव देखेर हामीलाई नरमाइलो लाग्छ ।

यो शिविरमा अन्य कैयौं विधवा छन् । तर, उनीहरु कसैको मनमा पनि यस्तो बदलाको भाव देखिएको थिएन । उनीहरु जे भयो त्यसलाई ‘अल्लाहको इच्छा’ भन्ने ठान्दा रहेछन् ।

नादिया बदला भाव भएकी एक्ली महिला भए पनि पति वियोगको पीडा पाउने एक्ली महिला होइनन् । सन् २००३ मा आक्रमण हुनुअघि नै इराकमा लाखौं विधवा थिए । धेरैले सन् १९८० को इरान-इराक युद्धमा पनि पति गुमाएका थिए । अहिले पनि प्रतिदिन सय जना इराकी महिलाहरु विधवा हुने गरेका छन् । बग्दादमा जहाँ गए पनि मस्जिदको बाहिर सिँढीमा माथिदेखि तलसम्म कालो बुर्काले छोपिएका महिलाहरु भेटिन्छन् । ती सब विधवा इराकी हुन् ।

साता दिन लामो बसाइ सकेर हामी जोर्डन फर्किन्छौं । तीन दिनपछिका लागि हामी सबैको एयर टिकट मिल्छ । यहाँबाट हामी चारै जना आ-आफ्नो देश फर्किँदै छौं । मानिसका लागि सहयोगको जोर्डनस्थित कार्यालयलाई हामीले बग्दादको रिपोर्ट बुझाउनुपर्नेछ ।

साँझ म कोठामा बसेर रिपोर्टको खेस्रा गरिरहेको हुन्छु । सलिना हुत्तिँदै आउँछिन् र मलाई अँगालेर रुन थाल्छिन् । त्यत्तिकैमा फारुक र अकिहितो पनि रुँदै आइपुग्छन् । म केही बुझ्दिनँ ।

‘के भयो, किन रोएको ?’ म काखको ल्यापटप टेबलमा राख्छु । मेरा आँखा पनि भरिइसकेका छन् डरले ।

‘हामी बग्दादमा बसेको महिला शिविरमा अमेरिकी सेनाले बम आक्रमण गरेछ । हाना लगायत ३७ विधवाहरु मरेछन् ।’ सलिनाले रुँदै भनिन् ।

‘अनि नादिया ?’ मैले एक्कासि नादियालाई सम्झिएँ ।

कोही पनि बोलेनन् ।

मलाई त्यो ३७ जनामा नादिया नपरे हुन्थ्यो झैं लागिरह्यो ।

पछि थाहा भयो, हामी आएकै बिहान नादिया शिविरबाट भागिछिन् र शरीरभरि आत्मघाती बम बेरेर बग्दादको उत्तरमा पर्ने फालिका रोडमा अवस्थित अमेरिकी सैनिक क्याम्पमा छिरिछिन् । विष्फोटमा ११ अमेरिकी सैनिकको ज्यान गएछ ।

त्यही घटनाको बदलामा अमेरिकी सैनिकले भोलिपल्ट बिहान शिविरमा बम प्रहार गरेको रहेछ । सयौं हताहत छन् भनेर अलजजिरा टेलिभिजनले बताइरहेको थियो ।

मलाई भने नादिया र चारो खान आउने परेवाहरुको मात्र याद आइरह्यो ।

[email protected]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment