Comments Add Comment

तरुण दलको अध्यक्षमा कांग्रेसका चार गुटको भिडन्त

नेतृत्व कब्जा गर्ने होडबाजीले तरुण दलको महाधिवेशन सर्ने संकेत

tarun dal१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको शक्तिशाली भातृ संगठन नेपाल तरुण दलको नेतृत्व कब्जा गर्न पार्टीका तीन गुटकै नेताहरु सक्रिय भएका कारण निर्धारित मितिमा महाधिवेशन हुने सम्भावना टर्न थालेको छ ।

संस्थापन पक्ष, रामचन्द्र पौडेल पक्ष र कृष्ण सिटौला पक्षले आ आफ्नो वर्चश्व देखाउन जिल्ला अधिवेशनहरुमा चलखेल गरिरहेका छन् । विवादकै कारण २३ जिल्लामा अधिवेशन हुन नसकेकाले निर्धारित मिति भदौ २३ मा महाधिवेशन हुन नसक्ने तरुण दलका नेताहरु बताउँछन् ।

तरुण दल महाधिवेशन गराउनका लागि सभापति शेरवहादुर देउवाले बालकृष्ण खाँडको संयोजकत्वमा ७ सदस्यीय निर्देशक समिति गठन गरेका छन् । निर्देशक समितिमा महाधिवेशनको मितिसम्म बढीमा ६० जिल्लाको मात्र अधिवेशन हुने आँकलन भएको छ ।

निर्देशक समिति सदस्य सरिता प्रसाईका अनुसार हालसम्म ५१ जिल्लामा निर्वाचन भइसकेको छ । अब एक साताभित्र थप ९ जिल्लामा अधिवेशन हुने तयारी छ । बाँकी जिल्ला अधिवेशन नभई महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा टुंगो नलागेको उनले बताइन् ।

निर्देशक समितिमा थपिएका विश्वप्रकाश शर्मा र महेन्द्र यादवको नाममा पौडेल पक्षले आपत्ति जनाएपछि खाँड समितिको औपचारिक बैठक बस्न सकेको छैन । देउवा सिंगापुरबाट फर्किएपछि मात्र यसबारे टुंगो लाग्ने प्रसाइले बताइन् । पौडेल पक्षले शर्मा र यादवलाई स्वीकार नगर्ने प्रष्ट पारेको छ ।

अध्यक्षका दाबेदार को-को ?

तरुण दलको अध्यक्षका लागि करीव एक दर्जन आकांक्षीहरु देखिएका छन् । अहिलेको कार्य समितिमा रहेकामध्ये देउवा पक्षबाट जन्मजय तिम्सिना प्रमुख दाबेदार हुन् ।

देउवा पक्षबाट कार्य समिति बाहिरका कर्णवहादुर मल्ल, नागेश्वर यादव,निरञ्जन केसी र पदम पालुङ्वा अध्यक्षका दावेदार हुन् ।

यीमध्ये मल्ल खुमवहादुर खड्का पक्षधर हुन् । नेविसंघको अध्यक्षमा डडेलुधराका नैनसिंह महर जितिसकेको अवस्थामा देउवा पक्षले डडेलधुराकै पार्टी सभापति समेत रहेका मल्ललाई तरुण दलको अध्यक्षको उम्मेदवार बनाउने अवस्था छैन । त्यो भएमा उनी खुमबहादुरको मात्र उम्मेदवार बन्नेछन् ।

नागेश्वर यादव विमलेन्द्र निधीका उम्मेदवार हुन् भने निरन्जन केसी पूर्णवहादुर खड्काका भान्जा हुन् । पालुङवालाई भीष्मराज आङदम्बेले साथ दिएका छन् ।

रामचन्द्र पौडेल पक्षबाट हालको कार्य समितिका लक्ष्मी खतिवडा,टेकराज पौडेल अध्यक्षका मुख्य दाबेदार हुन् । कार्य समिति बाहिरबाट दामोदर कोइराला अध्यक्षको उम्मेदवारका रुपमा चर्चामा छन् । उनलाई शेखर कोइरालाको साथ छ ।

शशांक कोइरालाको साथ पाएकी लक्ष्मी खतिवडाले रामचन्द्र पौडेलबाट पनि आश्वासन पाएकी छन् । उनी तरुण दलमा पहिलो महिला अध्यक्ष हुने दौडमा लागेकी छन् ।

नेविसंघमा जितेको संस्थापन पक्ष लामो समयदेखि आफ्नो पकडमा रहेको तरुण दल कुनै हालतमा गुमाउन चाहँदैन

नारायण भट्टराई र मेदिनी सिटौला वर्तमान कार्य समितिमा पौडेल पक्षमै रहे पनि उनीहरु कृष्ण सिटौला निकट मानिन्छन् । यी दुवैजना अध्यक्षका दाबेदार हुन् । यदि वर्तमान कार्य समितिबाट उम्मेदवार बन्न नपाएमा धेरैजसो दाबेदारहरु बाहिरिनेछन् ।

कसको शक्ति कति ?

तरुण दलको नेतृत्व कसले कब्जा गर्ने भन्ने होडकै कारण महाधिवेशन निर्धारित मितिमा नहुने सम्भावना बढेको छ । नेविसंघमा जितेको संस्थापन पक्ष लामो समयदेखि आफ्नो पकडमा रहेको तरुण दल कुनै हालतमा गुमाउन चाहँदैन ।

तरुण दलमा हालको कार्य समितिमा अध्यक्ष उदय शमसेरसहित २३ जना देउवा पक्षका र २२ जना रामचन्द्र पौडेल पक्षका छन् । तर, विगतमा कृष्ण सिटौला सुशील कोइरालासँग रहँदा मनोनित भएका २२ मध्ये केही सिटौलासँग हुन सक्ने सम्भावना छ ।

पौडेल पक्षबाट अध्यक्षको दावी गरिरहेकी लक्ष्मी खतिवडाले भने सिटौला पक्षलाई समेत व्यवस्थापन गरेर आफूहरु चुनाव जित्ने अवस्थामा रहेको बताइन् । उनले संस्थापन पक्षले विभिन्न जिल्लामा धाँधली गरेका कारण महाधिवेशन प्रभावित भएको आरोप समेत लगाइन् ।

सिटौलाको शक्ति परीक्षण

सिटौला पक्ष भने यसपटक नेविसंघमा जस्तो देउवा पक्षलाई अध्यक्षमा सघाए जस्तो तरुण दलमा कुनै पनि पक्षलाई सघाउन नहुने निष्कर्षमा पुगेको सिटौला निकट नेताहरु बताए । हारे पनि आफ्नो बैचारिक र सांगठानिक उपस्थिति देखाउन सबै पदमा उम्मेदवारी दिनुपर्ने बहस सिटौला पक्षमा भइरहेको छ ।

काठमाडौं जिल्लाको आशन्न अधिवेशनमा ४२ मध्ये आधा प्रतिनिधि सिटौला पक्षलाई दिए पौडेल पक्षसँग मिल्न सकिने प्रस्ताब गगन थापाले पठाएको पौडेल पक्षका एक नेताले बताए । तर, सिटौला पक्षले भने त्यो दाबीको खण्डन गरेको छ ।

त्यसो त खुमबहादुर खड्का पक्ष पनि आफ्नो शक्ति देखाउने प्रयासमा छ । शंकर भण्डारीको संरक्षणमा रहेका कर्ण मल्ल, मीनकृष्ण महर्जनलगायतले खड्का पक्षको प्रतिनिधित्व गरे पनि वर्तमान कार्य समितिमा उनीहरुको प्रभाव छैन ।

आयोजकलाई रोकिए उम्मेदवारकै खडेरी !

तरुण दलको अधिवेशन गर्न भनेर चार वर्षअघि उदयशमसेर राणाको अध्यक्षतामा ४५ सदस्यीय तदर्थ समिति गठन भएको थियो । ६ महिनाभित्र महाधिवेशन गराउने र कार्य समितिका सदस्यले चुनावमा भाग लिन नपाउने भनिएको थियो ।

तर यसबीचमा महाधिवेशन नभएका कारण अब पहिलेको निर्णय लागु हुन नहुने भन्दै अहिलेको कार्य समितिका अध्यक्षका दाबेदारहरुले सबैले भाग लिन पाउनुपर्ने लबिङ गरिरहेका छन् । निर्देशक समितिका संयोजक खाँडले भने यसबारेमा अहिलेसम्म केही छलफल नभएको बताए ।

तरुण दलको हालको समितिका सदस्यहरुले चुनावमा भाग लिन नपाएमा अध्यक्षको उम्मेदवारकै खँडेरी पर्ने तर्कसमेत गर्न थालिएको छ

अहिलेका कार्य समितिका सदस्यहरुले भने सबै नेतालाई भेटेर आफूहरुले चुनावमा भाग लिन नपाउँदा अन्याय हुने भन्दै बाटो फुकाइदिन आग्रह गरेका छन् । खाँडले पनि सबै नेताहरुसँग परामर्श गरेर सहज बनाउने आश्वासन दिएको स्रोतले जनाएको छ ।

तरुण दलको हालको समितिका सदस्यहरुले चुनावमा भाग लिन नपाएमा अध्यक्षको उम्मेदवारकै खँडेरी पर्ने तर्कसमेत गर्न थालिएको छ । तर, नेविसंघमा आयोजक समितिका सदस्यले चुनाव लड्न नपाएकाले तरुण दलमा सो नियम परिवर्तन गर्न गाह्रो हुने नेताहरु बताउँछन् ।

नेविसंघको महाधिवेशन गराएर बिदा भएका तत्कालीन कार्य समितिका १२१ सदस्यले भेला गरेरै तरुण दल महाधिवेशनमा स्वतः प्रतिनिधि हुन पाउनुपर्ने माग गर्ने भएका छन् । निर्देशक समिति सदस्य सरिता प्रसाईले भने यो विषय छलफलमा नआएको बताइन् ।

तरुण नेता अपराधकर्ममा ?

महाधिवेशन भएका जिल्ला मध्ये धादिङमा सबैभन्दा विवाद छ । देउवा पक्षले एकलौटी गरेको भन्दै पौडेल पक्षले अधिवेशन अस्वीकार गरेको थियो । अध्यक्षमा जितेका दिनेश गुरुङ लागु औषधकारोबारमा परेर केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरिसकेको छ ।

त्यस्तै बाँके जिल्लामा पनि देउवा पक्षले एकलौटी गरेको भन्दै पौडेल पक्षले बहिस्कार गरेको छ । त्यहाँका क्षेत्रीय अध्यक्ष रिगल ढकाल पनि गुण्डागर्दी र संगठित अपराधको अभियोगमा जेलमा छन् ।

त्यस्तै रुकुममा पनि विवाद छ । पछिल्लो पटक अधिवेशन भएका दोलखा र रामेछापमा जितेपछि पौडेल पक्ष उत्साहित भएको छ । यद्यपी तरुण दलमा देउवा पक्ष विगतदेखि नै बलियो रहँदै आएको छ ।

अधिवेशन हुन बाँकी कहाँ ?

काठमाडौं, भक्तपुर, सप्तरी, धनुषा, सर्लाही, महोत्तरी, बारा, पर्सा, रौतहट, रुपन्देही, कपिलवस्तु लगायत २३ जिल्लामा अधिवेशन भएको छैन । ती जिल्ला सबैभन्दा धेरै प्रतिनिधि आउने जिल्ला हुन् । नेविसंघमा जस्तो अधिवेशन नभएका जिल्लाका प्रतिनिधि बाँड्ने सम्भावना तरुण दलमा नरहेको स्रोतले जनाएको छ ।

नेविसंघमा जस्तो तरुण दलमा गुटका आधारमा प्रतिनिधि बाँड्ने वा अनसन बसेर प्रतिनिधि पाउने सम्भावना नरहेको अध्यक्षकी दाबेदार लक्ष्मी खतिवडाले बताइन् । ‘यो क्याडर बेस संगठन हो, पार्टीमा जस्तै गाउँ तहदेखि नै निर्वाचित भएका र आउनुपर्ने भएकाले भागवण्डा स्वीकार्य छैन’ उनले भनिन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment