Comments Add Comment

दश दिनमा काटियो साढे ४ सय ग्राहकको विद्युत लाइन

bijuli-cut-electricity१५ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल नतिर्ने देशभरका साढे ४ सय ग्राहकको लाइन काटेको छ । प्राधिकरणले यही भदौ ३ गतेदेखि विद्युत उपयोग गरेबापत तिर्नुपर्ने महशुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान नै सुरु गरेको थियो ।

अभियान सञ्चालन भएको १० दिनमै ४ सय ५७ ग्राहकको लाइन काटिएको प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले अनलाइनखबरलाई जानकारी दिए ।

‘भदौ ३ गतेदेखि १३ गते साँझसम्म देशभर जम्मा ४ सय ५७ ग्राहकको विद्युत लाइन काटेका छौं, जसबाट १ करोड १६ लाख रुपैयाँ उठाउनुपर्ने बक्यौता छ,’ काफ्लेले भने- ‘अहिलेसम्म ९१ लाख ५६ हजार रुपैयाँ बक्यौता असूल गरिएको छ ।’ बक्यौता तिर्ने ३ सय ५१ ग्राहकको लाइन जोडिएको उनले जानकारी दिए ।

प्राधिकरणले काठमाडौंका ६०, बिराटनगरका ८०, नेपालगज्ञका १६, पोखराका ३५, हेटौडाका ४२, अत्तरियाका १०६, बुटवलका ६२ र जनकपुरका ५६ ग्राहकको लाइन काटिएको हो ।

जसमध्ये बक्यौता तिर्ने काठमाडौंका ४३, विराटनगरका ६९, नेपालगञ्ज र पोखराका १४/१४, हेटौडाँका ३५, अत्तरियाका १००, बुटवलका ५० र जनकपुरका १६ गरी जम्मा ३ सय ५१ ग्राहकको लाइन जोडिएको छ ।

प्राधिकरणको ६ अर्ब रुपैयाँको हाराहारीमा बक्यौता छ जसमध्ये ३ अर्ब सडक बत्तिको बक्यैता हो । विद्युत महशुल नबुझाउने ग्राहकलाई कुनैपनि हालतमा नछाड्ने प्राधिकरणका कार्यकारी निर्देशक काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment