Comments Add Comment

तरुण दल धादिङका अध्यक्ष पुर्पक्षका लागि थुनामा

लागूऔषध कारोबारको अभियोग

१५ भदौ, काठमाडौं । लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाल तरुण दल धादिङका अध्यक्ष दिनेश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

Dinesh-Gurung,-Tarun-Dal-Dhथाइल्याण्डमा बसेर एमफेटामाइनको कारोबार गरिरहेका धर्म पाख्रिनसँग गुरुङ पनि संलग्न रहेको खुलेपछि लागूऔषध नियन्त्रण ब्यूरोले गत शुक्रबार काठमाडौंको महाराजगंजबाट उनलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई केन्द्रीय कारागार भद्रगोल जेलमा राखिएको छ । गुरुङसहित एमफेटामाइनको कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका ६ जनालाई नै थुनामा राखिएको छ ।

गुरुङमाथि धर्म पाख्रिनका भाइ पूर्ण पाख्रिनमार्फत बर्माबाट एमफेटामाइन ल्याएर काठमाडौंमा बिक्री गर्ने गरेको आरोप छ । गत असारमा पक्राउ परेका नेत्र गुरुङ र चित्र तामाङले एमफेटामाइनको कारोबारमा पूर्णसँगै दिनेश गुरुङ पनि संलग्न रहेको बयान दिएपछि उनी ब्यूरोको फरार सूचीमा परेका थिए ।

ब्यूरोका एसएसपी गणेश केसीका अनुसार, काठमाडौंमा एमफेटामाइन ल्याउन दिनेशले पूर्णसँग मिलेर लगानी गर्दै आएका थिए ।

दिनेशले धर्म पाख्रिनसँग मिलेर ५ वर्षदेखि एमफेटामाइनको कारोबार गरिरहेको खुलेको ब्यूरोका एक अधिकृतले बताए । त्यसका लागि पाँच वर्षअघि उनी आफैं थाइल्याण्ड पुगेको पनि ब्यूरोको अनुसन्धानबाट खुलेको छ ।

बालुवाखानीदेखि दोहोरीसम्ममा लगानी

विगतमा प्रहरी कारबाहीमा मारिएका दिनेश अधिकारी ‘चरी’ को समूहमा रहेर गुण्डागर्दी समेत गरेको आरोप लागेका दिनेश गुरुङको बालुवाखानीमा पनि लगानी रहेको भेटिएको छ ।

धादिङको बेनीघाटमा रहेको एक वालुवाखानीमा अन्य तीन जनासहित तरुण दल अध्यक्ष गुरुङको पनि लगानी रहेको खुलेको हो ।

त्यस्तै, ठमेलको फेवा दोहोरी साँझमा पनि दिनेशकै लगानी रहेको खुलेको छ । त्यसरी लगानी गर्न उनको आम्दानीको स्रोत के थियो भन्ने प्रष्ट देखिएको छैन । करिब तीन वर्षअघि २२ लाख रुपैयाँमा उक्त दोहोरी सेन्टर खरिद गरेका दिनेशले लागूऔषध कारोबार गरेरै राम्रो आम्दानी गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

२६ लाख रुपैयाँको गाडी चढ्ने गुरुङले काठमाडौंको फुटुङमा एक करोड ३३ लाख रुपैयाँमा घरसमेत खरिद गरेको खुलेको छ । लागूऔषध कारोबार र अन्य अवैध धन्दाबाटै कराडौं सम्पत्ति कमाएको देखिएकाले उनको सम्पत्तिबारे छानबिन हुनुपर्ने ब्यूरोका एक अधिकृत बताउँछन् ।

युवतीका सौखिन

दिनेश चरीको समूहमा लाग्दा उनी ‘सेते’ नामले परिचित थिए । विभिन्न अभियोगमा पटक-पटक पक्राउ परिसकेका गुरुङ पछिल्लो समय आफूलाई जोगाउन कांगे्रसको भ्रातृ संगठन तरुण दलको राजनीतिमा लागेका थिए ।

तिनै गुरुङले १६ वर्षको अवधिमा तीन जना युवतीसँग विवाह गरेको भेटिएको छ । ०५६ सालमा निर्मला गुरुङसँग विवाह गरेका गुरुङले ०६६ सालमा स्वेच्छा रिमाल र ०७० सालमा छुल्टिम डोल्मासँग विवाह गरेका थिए । तर, ती सबैसँग सम्बन्ध विच्छेद भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment