Comments Add Comment

वीपीको योगदानबारे विमर्श

BP-Jayanti

काठमाडौं । वीपी कोइरालाको १०२औं जन्मजयन्तीको सन्दर्भ पारेर उनको साहित्यिक र राजनीतिक पक्षमाथि राजधानीमा विमर्श गरिएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठान समालोचना तथा निबन्ध विभाग एवं वीपी कोइराला स्मृति ट्रष्टद्वारा मंगलबार आयोजित गोष्ठीमा साहित्यकार तथा नेताहरूले वीपीको विविध पक्षबारे चर्चा गरे ।

आख्यानकार ध्रुवचन्द्र गौतमले वीपीको विराट् व्यक्तित्वबारे अनेकन कोणबाट चर्चा गरेर विविध आयाम खोतल्नुपर्ने बताए । यस्तै, लेखक तथा नेकपा एमाले नेता प्रदीप नेपालले वीपी सफल साहित्यकार र असफल राजनीतिज्ञ भएको टिप्पणी गरे । ‘वीपी जसरी साहित्यमा खुल्नुभएको छ, त्यति राजनीतिमा खुलेको पाइँदैन । जसले गर्दा नेपाली राजनीति धेरै पछाडि धकेलिएको हो,’ उनले भने ।

साहित्यकार तथा नेपाली कांग्रेसका नेता तथा बलदेव शर्मा मजगैँयाले नेताहरुले आफ्नो विचार लाद्नुअघि धेरै पटक वीपीको बारेमा सोच्नुपर्ने बताए । उनले आजका युवा राजनीतिज्ञहरुले वीपीको साहित्यहरु पढिरहेकोमा खुशी समेत प्रकट गरे ।

कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. विष्णुविभु घिमिरे, वीपीपुत्र एवं ट्रष्टका कार्यवाहक अध्यक्ष श्रीहर्ष कोइराला, कांग्रेसका नेता गुरुराज घिमिरे, धर्मेन्द्रविक्रम नेम्वाङ, माओवादी केन्द्रका लेखनाथ न्यौपाने, पत्रकार धर्मेन्द्र झा लगायतले वीपीको समग्र व्यक्तित्व प्रभावशाली रहेको भन्दै आफ्ना विचार राखेका थिए ।

प्रज्ञा-प्रतिष्ठान समालोचना तथा निबन्ध विभाग प्रमुख प्रा. डा. ज्ञानू पाण्डेले साहित्य र राजनीतिको अन्तरसम्बन्धबारे केलाउनु नै कार्यक्रमको उद्देश्य भएको प्रष्ट पारिन् ।

कार्यक्रममा मजगैँयाको उपन्यास ‘बौन्स्री’ को लोकार्पण समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment