Comments Add Comment

काठमाडौं-नौबिसे सुरुङमार्ग बनाउन १८ अर्ब सहयोग गर्ने जापानी मन्त्रीको आश्वासन

एक अर्ब ८३ करोड २० लाख रूपैयाँ अनुदान सहयोग सम्झौता

PM-Prachand-and-Japanese-St

१५ भदौ, काठमाडौं । काठमाडौं-नौबिसे सुरुङ मार्ग निर्माणमा सहयोग गर्न नेपाल सरकारले राखेको प्रस्तावमा जापानका एक मन्त्रीले सकारात्मक जवाफ दिएका छन् ।

काठमाडौं भित्रिने यातायातलाई सहज बनाउन भन्दै सरकारले काठमाडौंको सितापाइलादेखि धादिङको नौबिसे जोड्ने अन्तराष्ट्रियस्तरको सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाउन १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो । तर, काम भने अघि बढ्न सकेको छैन ।

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानका परराष्ट्र राज्यमन्त्री नोबु किसीसँगको भेटमा उक्त सुरुङ मार्ग निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए । र, त्यसमा राज्यमन्त्री किसीले १८ अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग दिलाउन प्रक्रिया अघि बढाउने जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

sitapaila-to-naubise

२ दशमलव ६ किलोमिटर लम्बाइ रहने उक्त सुरुङमार्ग निर्माणमा २० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । जापान सरकारको ऋण सहयोगमा जापानी सहयोग नियोग (जाइका)ले सुरुङमार्ग निर्माणमा इच्छा व्यक्त गरेको छ ।

एक अर्ब ८३ करोड २० लाख रूपैयाँ अनुदान सहयोग सम्झौता

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई जापानले एक अर्ब ८३ करोड २० लाख अनुदान सहयोग पनि उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका राज्यमन्त्री किसीको उपस्थितिमा अनुदान सहयोगसम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित आठवटा विमानस्थलमा हवाई सुरक्षा सुधार परियोजना कार्यान्वयन गर्न जापानले एक अर्ब ५१ करोड ८० लाख उपलब्ध गराउने छ । त्यसैगरी विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न जापानले ३१ करोड ३० लाख अनुदानस्वरुप प्रदान गर्नेछ ।

द्विपक्षीय दौंत्य सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव समारोहमा भाग लिन किसी नेपाल आएका हुन् ।

जापानका परराष्ट्र राज्यमन्त्री किसीसँग सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तनको दिशामा अघि बढेकाले जापानको निरन्तर सहयोग र सदभाव रहने विश्वास व्यक्त गरेका थिए ।

राज्यमन्त्री किसिले संविधान कार्यान्वयन, शान्ति प्रक्रिया, पुर्निर्माण र सम्वृद्धिका लागि प्रधानमन्त्री प्रचण्डले अघि बढाएको कार्ययोजनाको प्रशंसा गर्दै नेपालको हितप्रति जापानको साथ र सहयोग रहने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment