Comments Add Comment

नशालाई जितेका राजेश पायल

Rajesh Payal Rai_810

प्रज्ञा भवनको प्रांगणमा खेमराज गुरुङको पार्थिव शरीर लडिरहेको थियो । उनलाई अन्तिम श्रद्धाञ्जलि दिन गायक, संगीतकार, गीतकार, कवि, संगीतप्रेमीहरू लगायत उपस्थित थिए । त्यही भिडमा राजेश पायल राई पिलपिल आँसु खसालिरहेका थिए ।

त्यो रुवाइमा निकट मित्र गुमाउनुको पीडा मात्रै थियो कि आफू धन्न खेमकै नियतिमा पुगिएन भन्ने भावले पनि पगालेको थियो ? ‘उसले हाँसेको, गीत कम्पोज गरेको क्षणले मात्र दिमागमा स्ट्राइक गरिरहृयो’, राजेश भन्छन् । ‘सँगै पिएको पनि याद आएन । खालि ऊ हाँसिरहेको, उसले डार्लिङ, जिन्दगी भनेको त यस्तो चिज हो भनेको मात्र आइरहृयो । मैले सबै चिज भुलेँ । त्यहाँ को छ, को छैन ? सबै भुलेर रोएँ ।’

०००

सात दिन भइसक्यो उनले कुनै काम अघि बढाएका छैनन् । गीत रेकर्डिङ, म्युजिक भिडियो सुटिङ, नयाँ एल्बमको फोटो सेसन लगायतका जम्मै काम थाती नै छ ।  ‘भोलिदेखि गर्छु भन्छु, सकेको छैन । खाली उसकै याद आइरहन्छ,’ सेट अपको क्रममा रहेको आफ्नो नामको संस्थाको नक्सालस्थित कार्यालयमा भेटिएका राजेशले सुस्केरा हाल्दै सुनाए ।

नयाँ अफिसको इन्टेरियर डिजाइनिङमा कामदारहरू व्यस्त भइरहँदा ठोकठाकको कर्कश आवाजले ठुँगिरहेको थियो । जसरी राजेशको मन-मगजलाई ‘डार्लिङ’ खेमको स्मृतिहरूले ठुँगिरहेको छ ।

नठुँगोस् पनि किन ? एक-अर्कालाई डार्लिङ सम्बोधन गर्ने उनीहरू धेरै समय सँगै हुन्थे । सँगै दिन बिताउने मात्र होइन, कयौं रातहरु पनि उनीहरुले कहिले नशाको मात त कहिले गफको सुरमा छ्याङ्ङ पारेका थिए ।

एउटै कर्मक्षेत्र र उस्तै रसिक स्वभाव भएका कारण राजेश र खेम लामो समयदेखि अभिन्न मित्र थिए ।

रेष्टुरेन्टमा जमघट गर्ने, घुमघाम गर्ने त हुन्थ्यो नै, एक-अर्काको घरमा आउजाउ पनि चलिराख्ने राजेश सम्झिन्छन् । देश-विदेशका धेरै ठाउँमा सांगीतिक कार्यक्रममा सँगै पनि गएका थिए । ‘०५४ सालदेखिको चिनजान हो हाम्रो । दिनरात सँगै हुन्थ्यौं हामी । खेमले परिवारभन्दा बढी माया गथ्र्यो मलाई,’ राजेशको मनभरि अटेसमटेस सम्झना छ ।

धेरैले अहिले खेमराजको ४२ वर्षको उमेरमा भएको निधनलाई अत्यधिक मदिरा सेवनलाई कारण मानेका छन् । निकटवर्तीहरुका अनुसार, जन्डिस भएपछि चिकित्सकले उनलाई नपिउन भनेका थिए ।

खेमराज आफूलाई रोक्ने प्रयास पनि गर्थे । तर, रसिक माहौलको अगाडि उनको केही लाग्थेन । साथीहरूले बसौं भन्दा हार्न सक्थेनन् ।

एक समय खेमभन्दा कम थिएनन् राजेश पनि । तर, उनले अहिले आफूले मदिरा र धूमपानलाई छाडेको बताउँछन् ।

आफूले छाडे पनि त्यति निकट साथीलाई अब पिउन बन्द गर्नू भनेर सम्झाउने काम हुन्थेन त ?

‘उसलाई सम्झाइन्थ्यो, सम्झिन्थ्यो पनि । ५/६ वर्षअघि उसलाई जन्डिस हुँदा अब चाहिँ छोड्ने हो कि भन्ने कुरा हुन्थ्यो । केही समय छोडे पनि निको भएपछि फेरि सुरु गथ्र्यो,’ राजेश भन्छन्, ‘तर, यसले कतै काममा बाधा गरिरहेको छ भन्ने फिल भइसकेपछि पिउन छोड्छु भन्ने सोच पनि थियो उसको । छोड्ने तयारीमा पनि थियो । तर, मृत्युले त्यो चिजलाई देख्दैन रहेछ !’

उनी अरुले भनेको जस्तो खेमको अल्पायुमै बित्नुको कारण मदिरा मात्र मान्दैनन् । उनी भन्छन्, ‘लेखान्त कहीँ न कहीँ छ ।

नारायणगोपाललाई म भगवान् जस्तो मान्छु । उहाँले पनि पिउनुहुन्थ्यो । हामीकहाँ कस्तो चलन छ भने, कोही कलाकारले पिउँथ्यो भन्ने थाहा पाएपछि ऊ जे-जस्तो कारणले मरे पनि राम्रो गाउँथ्यो, पिउँथ्यो र मर्‍यो भन्ने गरिन्छ ।’ उनलाई लाग्छ – ‘उहाँहरु अझै जीवित हुनुहुन्छ । मात्र पार्थिव शरीर छैन ।’

०००

एक समय राजेश पनि खेमभन्दा कम पिउँदैनथे । रक्सीमा डुबेका दिनहरूमा उनको खराब हालत देख्नेहरु भन्ने गर्थे, ‘राजेश पायलले खतरा गाउँछ, तर ट्वाँट पिउँछ ।’ उनी आफैंले यस्तो सुनिरहन्थे ।

खेमको निधनपछि चाहिँ कहीँ कतै म पनि झण्डै खेमकै नियतिमा पुगिनँ भन्ने लाग्यो ?

‘जन्मेपछि मर्नुपर्नेे शाश्वत सत्य हो । रक्सी नखाने मान्छे पनि अल्पायुमै विभिन्न रोगले मरेको देखेको छु,’ राजेशले भने । तर, एक दिन मर्नुपर्ने भए पनि आफूलाई सम्हालेर बाँच्नुपर्ने उनले तत्वबोध गरेका छन् ।

फरक कति हो भने, राजेशले समयमै बुझेर आफूलाई सम्हाले । उनका अनुसार, ६/७ वर्ष भयो चुरोट र रक्सी त्यागेको । खेमराजको भने नशालु जिन्दगीलाई ब्रेक लगाउने कुरामा केही जोर चलेन ।

उसो त राजेशले पनि मदिरा सजिलै छोडेका होइनन् । एकफेर हल न चल भएर बिरामी परेपछि बाँच्ने रहर जागेर आयो र ‘नशा-ए-दोस्ती’ लाई दुश्मनीमा बदल्ने अठोट लिए ।

Rajesh Payal Rai (1)

झण्डै ९ वर्षअघिको कुरा । राति अबेर सुत्ने र बिहान निकै ढिलो उठ्ने उनी नायिका रेखा थापाले बनाएको ‘किस्मत’ फिल्मको प्रिमियर शो हेर्न बिहान ७ बजे कुमारी हल पुगेका थिए । दस बजेतिर घर फर्केर पानी खाई ओछ्यानमा पल्टिए । उठ्न खोज्दा त हातखुट्टा नै चलेन । डाक्टरले स्ट्रोक भएको छ भने । रक्सी, चुरोट र अनिदोलाई कारण मानियो । ‘त्यसको उपचार फिजियोथेरापी मात्र रहेछ । ६ महिनापछि अलि ठीक भएँ,’ विगतमा फर्किए राजेश ।

बिरामी भएपछि उनी ओम अस्पताल, त्रिवि शिक्षण अस्पताल हुँदै अन्तिममा उपेन्द्र देवकोटाको शरणमा पुगे । डाक्टरले फिजियोथेरापी विधि सिकाइदिए । तपाईँमा बाँच्ने इच्छाशक्ति छँदै छ, सब ठीक हुन्छ भनेर ढाडस पनि दिए । नभन्दै बिस्तारै निको हुँदै गए ।

बिरामी परेर थलिँदा पनि उनको गाउने भोक भने पटक्कै कम भएको थिएन । क्रेज त छँदै थियो । उनी खुट्टा खल्च्याङ्-खल्च्याङ् गरेर रेकर्डिङ स्टुडियोमा गीत गाउन जान्थे । कहिले फिल्म निर्माताहरूले डोर्‍याएर लैजान्थे उनलाई । ट्याक्सी चढेर जान्थे र स्टुडियोमा एक-दुई जनाको सहाराले उभिएर गाउँथे । डाक्टरले हाइ स्वरमा गीत नगाउनू भने पनि गाउँथे ।

बेहोशीमा बाँचेको जिन्दगीभन्दा अहिलेको जिन्दगी प्यारो छ उनलाई । बोलीमा दर्शन घोल्दै भन्छन्, ‘मृत्यु शाश्वत भए पनि आफूले सम्हाल्न सकियो भने जीवन सुन्दर बनाउन सकिँदो रहेछ । मान्छेले लत्तो छाड्नु हुँदैन भन्छन् । यो जीवन यस्सै खेर फाल्नु हुँदैन भन्ने दिमागमा आएपछि सही बाटो समाएँ ।’

डाक्टरले राजेशलाई मदिरा र चुरोट छाड्नैपर्छ भनेर निर्देशन दिएनन् । जीवन के हो भनेर तपाईंले बुझ्नुहुन्छ भनेपछि उनले मनबाट नशालाई निकालिदिए र चटक्कै छाडिदिए ।

०००

मदिरा छाडे पनि साथीभाइबीचको जमघटबाट उनी भागेनन् । अक्सर खेमराज र अन्य संगीतकर्मी साथीहरूसँग दिनदिनै जमघट भइरहन्थ्यो । ‘अरु साथीहरूले चियर्स भन्दा म जुसको गिलास ठोक्काउँथेँ,’ रमाइलो गर्ने बहाना सुनाए ।

तर, लामो समय पिउने र धुवाँ उडाउने बानी बसेका कारण कहिलेकाहीँ बिर्सँदा रहेछन् । खेमले चुरोट सल्काइरहँदा उनी सरक्क तानेर ओठमा च्यापिहाल्थे । झुक्किएर बियरको गिलास उचाल्थे । तर, खानु हुँदैन है भन्ने सम्झेपछि झसंग भएर पन्छाइहाल्थे । खेमराजमा पनि रक्सी, चुरोट र अनिदो बस्ने बानी रहेको राजेश बताउँछन् ।

नशासँग सम्बन्ध तोडेपछि पहिलेको तुलनामा अलि कम भेटघाट हुन्थ्यो राजेश र खेमको । तर, कतै भेटेपछि गफमै समय बिताइदिन्थे ।

उनी सम्झिन्छन्, ‘अचम्म लाग्छ, के गफ आउँथ्यो त्यस्तो ! टुंगिने कुरै हुन्थेन । कसले धेर पैसा गुमायौं, रक्सीमा सिध्यायौं कि चुरोटमा सिध्यायौं भन्ने कुरा पनि हुन्थ्यो ।’

मद्यपान र धूमपान त्यागे पनि ढिलो सुत्ने बानी भने राजेशको अझै हट्न सकेको छैन । ‘फेसबुक चलायो, विदेशका कार्यक्रम आयोजकहरुसँग कुरा गर्‍यो । कार्यक्रम हुने ठाउँको लोकेसन गुगल म्यापमा हेर्‍यो । सुत्ने बेला १/२ बज्छ । उठ्ने बेला ११, १२ बजिसकेको हुन्छ ।’

०००

भर्सटायल गायकको चिनारी बनाएका राजेश पायलले फिल्ममा पाश्र्व गायनसँगै आधुनिक, लोक, गजल र पप फ्लेवरका गीत पनि गाएका छन् । र, अधिकांश गीतबाट चर्चा र माया बटुलेका छन् ।

उनले दिएका हिट गीतमध्ये ‘शिरै फूल शिरबन्दी’ सहितका केही गीतहरू खेमराजको शब्द र संगीतमा गाएका छन् । खेम लोकगीतमा फ्युजन गरेर नयाँ स्वाद ल्याउनुपर्ने बताइरहन्थे ।

राजेश पनि लोकगीतमा रुचि राख्छन् । आफ्नो एल्बममै समेट्दै आएका पनि छन् । पछिल्लो समय आफ्नो अठारौं एल्बम ‘दर्शन नमस्ते ३’ ल्याउने तयारीमा छन् उनी ।

त्यसपछि सेप्टेम्बर २४ तारिखदेखि अमेरिका, क्यानडा, हङकङको सांगीतिक भ्रमणमा निस्किने योजना छन् । देशभित्रभन्दा विदेशमा हुन्छन् धेरै । विदेश उडिरहने भएकाले उनले ‘६ महिना धरतीमा, ६ महिना आकाशमा’ रहने गायक भन्ने टिप्पणी पनि पाउने गरेका छन् ।

०५२ सालदेखि फिल्मको पाश्र्व गायनमा रहेर जमेका राजेश संगीतमा सधैं प्रयोग गर्न रुचाउँछन् । कहिले दर्शन र नमस्तेलाई सँगै जोडेर गीत गाउँछन् त कहिले निकै बौद्धिक शब्द ल्याएर श्रोतामाझ जोखिम मोल्छन् । ‘नयाँ-पुराना कलाकारहरु हामीकहाँ जोखिम मोल्न डराउँछन् । एउटा चल्यो भने त्यसकै सिको गर्ने चलन छ । तर, म आफूले एउटा शैलीको गीत गाएपछि त्यो भन्दा नयाँ शैलीको मात्र गाउँछु,’ उनको आफ्नै बाटो छ ।

Rajesh Payal Rai (3)

‘दर्शन नमस्ते २’ एल्बममा संस्कृतको श्लोक राखेर ‘असतोमा सद्गमय’ गाएका उनले अब आउने एल्बममा कवि/गीतकार रत्नशमशेर थापाको मुक्तकलाई गीतका रूपमा गाएका छन् । जुन गीतको उठानमा नायक राजेश हमालले आवाज पनि दिएका छन् । एल्बममा अर्को एउटा गीत हुनेछ- राई, लिम्बू, नेवारी र थारु भाषा एकमुष्ठ रुपमा समेटेर गाइएको ।

देश-विदेशका गरी चार दर्जनभन्दा बढी भाषाभाषीमा पाँच हजारभन्दा बढी गीत गाइसकेका छन् उनले । आफ्नो नयाँ एल्बम १५ लाख रुपैयाँमा विन्दवासिनी म्युजिक कम्पनीलाई बिक्री गरिसकेका छन् ।
यसलाई उनी सुखद मान्छन् ।

पछिल्लो समय उनले कतिपयले चिन्ता गरेको सुनेछन्, ‘संगीतको माहौल र श्रोता सबै आफ्नो हातमा भएको बेला राजेश पायलले यतिखेर राम्रो गीत दिएर संगीतको टे्रन्ड परिवर्तन गर्न सक्थ्यो । जुन उँचाइको गीत दिनुपर्थ्यो, सकिरहेको छैन । बरु आफैं गीत-संगीत बिगार्नतिर लाग्यो !’ उनले बेलाबेला गर्दै आएको प्रयोगबारे लक्षित रहेछ यो चिन्ता ।

उनको जवाफ छ, ‘लोकगीत गाएर माथि उठाउनुपर्छ भन्ने मैं हुँ ।  राम्रो गीत-संगीत ल्याउनुपर्छ भन्छु म नै । भनेपछि मैले कहाँ बिगारेको छु ? मेरा अधिकांश हिट गीतमध्ये एक/दुई प्रतिशत नराम्रा पनि हिट भए । तर, धेरै त राम्रा गीत नै हिट भएका छन् ।’

हेर्नुस् भिडियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment