Comments Add Comment

पार्टी फुट्न लागेपछि यसरी गले गच्छदार !

Bijay-Gachhadar

१५ भदौ, काठमाडौं । कांग्रेस माओवादी गठबन्धनले दिने भनेका दुई मन्त्रालय लिएर सरकारमा नगए पार्टीनै फुट्ने अवस्था आएपछि फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार गलेका छन् ।

उपप्रधानमन्त्रीसहित आकर्षक मन्त्रालय नपाएका कारण सरकारमा नजाने भने लगत्तै बहुसंख्यक सांसद र नेताहरुले पार्टीनै फुटाउने तयारी गरेपछि गच्छदार गलेका हुन् ।

स्रोतका अनुसार गच्छदारले आफू सरकारमा जान उपप्रधानमन्त्री नपाए सरकारमा नजाने निर्णय गरेका थिए । तर, रामेश्वर राय यादव, जितेन्द्र देव लगायतका नेताहरु सम्मानजनक रुपमा दुई मन्त्रालय लिएर सरकारमा जानुपर्ने पक्षमा उभिए ।

यादव र देवलाई फोरम लोकतान्त्रिकका १४ मध्ये सात आठ जना सांसदले साथ दिएको यादव निकट स्रोतले जनाएको छ ।

यसबीचमा गच्छदारले नेताहरुलाई बोलाएर केही समय पर्खिन आग्रह गरेका छन् । उनले संविधान संशोधन प्रस्ताव संसदमा पेश हुन्जेल पर्खिन आग्रह गरेका हुन् । त्यसपछि मधेसी मोर्चा सरकारमा सहभागी हुने अवस्थामा आएमा क्याबिनेट पुनर्गठन हुँदा आफूले उपप्रधानमन्त्री पाउने आशा गच्छदारको छ ।

गच्छदार निकट नेता तथा पूर्व मन्त्री रामजनम चौधरीले सरकारमा नजाने भन्ने नरहेको र केही समय पर्खिन अध्यक्ष गच्छदारले आग्रह गरेको बताए । ‘सरकारमा जाँदै नजाने भन्ने होइन,तर सम्मानजक उपस्थितिको लागि केही समय पर्खिउँ भन्ने कुरा हो’ उनले भने ।

यद्यपी अरु नेताले भने अबिलम्ब सरकारमा जानुपर्ने बताइरहेका छन् । अहिले सरकारमा जाँदा फोरम लोकतान्त्रिकलाई महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र विज्ञान तथा प्रविधि मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्ड तयार छन् ।

गच्छदारले भने मधेसी मोर्चा र सत्ता गठबन्धनबीच संविधान संशोधनमा कुरा नमिलेको खण्डमा सरकारलाई फोरम लोकतान्त्रिकको संख्या आवश्यक पर्ने भएकाले अहिले नै हतार गर्न आवश्यक नरहेको बताएका छन् ।

जानै परे पनि संविधान संशोधन प्रस्ताव नआउन्जेल पर्खिन उनले असन्तुष्ट नेतालाई आग्रह गरेका छन् । गच्छदार निकट एक नेताले भने, ‘उहाँले कम्तिमा भदौ ३० गतेसम्म पर्खिन आग्रह गर्नुभएको छ । त्यसपछि पनि हामीले आकर्षक मन्त्रालय पाउने अवस्था नरहे अरु नेता मन्त्री भएर जान्छन् ।’

सरकारमा जानुपर्ने पक्षको वकालत गरिरहेका नेता जितेन्द्र देवले भने सम्माजनक ढंगले सरकारमा अबिलम्ब सहभागिता जनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment