Comments Add Comment

पूर्वसांसदका अध्यक्ष भन्छन्- कर्मचारीले पेन्सन पाउँदा हामीचाँहि मःमः बेच्न बस्नु ?

१५ भदौ, काठमाडौं । पूर्वसांसदहरुले बुधबार प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डलाई भेेटेर पेन्सन र उपचार खर्च माग गरे ।

पूर्वपदाधिकारीकै नाममा राज्यकोषको दोहन गर्ने परम्परा बढिरहेका बेला पूर्वसांसदहरुले पनि पेन्सन खोजेपछि यसलाई धेरैले निको मानेका छैनन् । पूर्वसांसद मञ्चका अनुसार देशमा अहिले झण्डै ९०० पूर्व सांसद छन् ।

किन चाहियो पूर्वसांसदलाई पेन्सन ? हामीले यसबारे पूर्वसांसद मञ्चका अध्यक्ष ओमकार श्रेष्ठलाई सोधेका छौः

Omkar shrestha

 

प्रधानमन्त्रीलाई भेटेर पूर्वसांसदहरुलाई पेन्सन र उपचार खर्च चाहियो भन्नुभएको हो ? किन ?

सांसद भइयो । सांसद भएपछि सरकारले नै हैसियत नै बढाइदियो । बढिसकेको हैसियत घटाउन बडा गाह्रो हुँदोरहेछ ।

पूर्वसांसद मञ्च भनेको सर्वदलीय र अनुभवीहरुको संस्था हो । यसलाई राज्यले सदपुयोग गर्नुपर्‍यो । किनभने यो त पोलिटिकल एक्टिभिष्टहरुको संस्था हो । यसको सहयोग लिनुपर्‍यो ।

दोस्रो कुरा, राज्यले सबैलाई कुन न कुनै किसिमले सहयोग गरेको छ भने कतिपय पूर्वसांसदहरु औषधि गर्न पनि नपाएर बसेका छन् । त्यसैले औषधि उपचारको व्यवस्था सरकारी अस्पतालमा गरिदिनुपर्‍यो । हिँडडुलका लागि यातायातको व्यवस्था गरिदिनुपर्‍यो । र, कतिपय पूर्वसांसदहरु मन्त्री भइसकेका छन्, उनीहरुको मर्यादाक्रम कायम गरिदिनुपर्‍यो ।

पूर्वसांसदका हैसियतमा सबैले सम्मान गरेकै छन् । फेरि अर्को मर्यादाक्रम किन चाहियो ?

पूर्वसांसद, पूर्वमन्त्री कुनै कार्यक्रममा जान्छन्, उनीहरुले पहिले जुन इज्जत पाउँथे । त्यो अहिले कर्मचारी वर्गले दिन छाडे । चिनेका मान्छेहरु जाँदा त गर्छन् । तर, कति साथीहरु जिल्लामा जाँदा वास्ता नगर्ने, कहाँ आयो, कहाँ बस्यो केही नगनर्ेे भयो । हृयुमिलेटेड भएका छन् । आउनुस्, बस्नुस् भन्नु र वास्ता नगर्नु त फरक हुन्छ नि । त्यसैले १९६७ भन्दा पहिला जुन मर्यादाक्रम थियो, त्यो अहिले पनि कायम गरिदेऊ भनेको हो ।

कर्मचारीहरुलाई जस्तै पेन्सन पनि चाहियो भन्नुभयो रे ?

पेन्सन भनेर पेन्सन होइन । हामी त राजनीतिक कार्यकर्ता हो । जानेबुझेदेखि नै आफ्नो घरको खाएर देश र जनताको सेवा गर्दै आएका हौं । वीचमा सांसद भइयो । सांसद भएपछि सरकारले नै हैसियत नै बढाइदियो । बढिसकेको हैसियत घटाउन बडा गाह्रो हुँदोरहेछ ।

अर्को कुरा, संसारभरको अभ्यास के रहेछ भने सांसद भइसकेको मान्छे एउटा हैसियतले बाँचोस् भनेर केही दिँदोरहेछ । यो भनेको फेरि पूर्वराष्ट्रपतिले उपचार गर्न तीन करोड माग्यो भनेर जस्तो पनि होइन । हामीले खोजेको बाँच्नका लागि केही देओस् भन्ने हो ।

वृद्धभक्ता दिएको छ, विधवा भत्ता दिएको छ । अपाङ्गलाई दिएको छ । सबैलाई दिएको छ भने पूर्वसांसद पनि एउटा वर्ग हो । फेरि कर्मचारीले भनेको अफिसमा पसेको दिनदेखि छाड्दाको दिनसम्म तलब लिन्छ । र, पनि जीवनभर पेन्सन दिएर पाल्नुपर्ने भने पूर्वसांसदलाई पनि राज्यले केही दिनुपर्छ भनेको हो ।

तर, राजनीति गर्ने त सेवाभावले हो कि कमाउन र भोलि पेन्सन खानका लागि ? मन्त्री र सांसदहरु कमाउ धन्दामा लागे भन्ने गुनासो आइरहेका बेला ‘पूर्व’ भएपछि पनि यसरी पेन्सन माग्न सुहाउँछ ?

हामीले धेरै खोजेका छैनौं । पेन्सन नै पनि मागेको होइन । तर, राज्यले सम्बोधन गरिदेओस् भनेको हो । बाँच्न त पाउनुपर्‍यो नि ।

एकपटक व्यवहारिक भएर हेर्नुस् त सांसद/मन्त्री हुँदा एउटा हैसियत हुन्छ । त्यसपछि सबैको कमाइ हुँदैन । कि मःमः बेच्न जानुपर्‍यो । यसले राज्यको इज्जत त बस्दैन । एउटा देशको सांसद, मन्त्रीले मःमः पसल राख्यो, नाङ्लो पसल राख्यो भन्दा देशको इजत कहाँ बस्छ र ?

एकजना पूर्वसांसदलाई कति चाहिन्छ भन्ने पनि छ कि ?

छैन । राज्यले जति उपयुक्त ठान्छ । हामीलाई यति चाहियो, उति चाहियो भन्ने छैन । तर, बाहिर के अभ्यास रहेछ भने क्यानडामा बाषिर्क १ लाखदेखि १ लाख ५० हजार डलर दिँदोरहेछ । अमेरिकाका १ लाख ३३ हजार डलर दिँदो रहेछ । भारतमा २० हजार आईसी र यातायातको सुविधा दिँदोरहेछ । हामीलाई जति दिन सक्छ, देओस् । हामीलाई घर, गाडी, सुरक्षा चाहिएको होइन, खाली बाँच्न सक्ने बनाइदेऊ भनेको हो ।

तर, यसरी पेन्सन दिँदा राजनीति भनेको कमाइ गर्ने ठाउँ हरेछ भन्ने हुँदैन ?

हामीले कमाउन खोजेको होइन । नाफा हुने गरी पैसा चाहिएको होइन, बाँच्न सक्ने बनाइदेउ भनेको मात्र हो । कि त हामीले मन्त्री, सांसद हुँदा नै कमाउनेतिर लाग्नुपर्‍यो ।

होइन भने उहिल्यैदेखि पार्टीमा लागियो, आफैं घरको खाएर काम गरियो । दुई पैसा कसैले दिएनन् । सांसदबाट हटेेपछि पनि त काम गरेकै छौं । हुनेले त खान्छन्, नहुनेले ? लोकराज भन्ने दैलेखका सांसद औषधि खान नपाएर मरे, मनबहादुर डाइलोसिस गर्न नसकेर मरे । यस्तो कुरामा मानवीयरुपमा हेर्नुपर्छ ।

प्रधानमन्त्रीले प्रचण्डले के आश्वासन दिनु भो त ?

उहाँले म ‘सकारात्मक छु’ भन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment