Comments Add Comment

अर्थमन्त्री महराको चिन्ताः पैसा छ, तर खर्च हुँदैन

१५ भदौ, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राज्यलाई बजेट (पैसा) को कुनै समस्या नभएको बताएका छन् । देशमा पैसा प्रशस्त भए पनि खर्च हुन नसक्नु हाम्रो अर्थतन्त्रको चुनौती रहेको महराको विश्लेषण छ । आफ्नो कार्यकालमा जतिसक्दो धेरै खर्च गर्नतिर जोड गर्ने महराले बताए ।

अर्थमन्त्री महराले संसदमा विचाराधीन बजेटसँग आश्रति विधेयकहरु चाँडै पारित गरिने जानकारी दिए । ती विधेयकहरु जस्ताको त्यस्तै पारित गर्ने बताउँदै महराले केही नयाँ कार्यक्रमहरु थप गर्न एमालेसँग सहमतिको प्रयास चाँहि गर्ने स्पष्ट पारे ।

अनलाइनखबरले नयाँ महराका भावी योजनाबारे गरेको छोटो कुराकानीः

Krishna Mahara (4)

ओली सरकारकै पालामा बजेट त पारित भयो, तर त्यससँग आश्रति विधेयकहरु भने तपाईहरुकै विरोधका कारणले पारित हुन सकेन । अब ती विधेयकबारे सरकारले के गर्छ ?

यो जुन विधेयक बाँकी छ, मूल विधेयक पास भैसकेको छ र मूल विधेयक पास भइसकेपछि ती पनि पास हुन्छन् । यो पास गर्ने कुरामा हामी त उतिखेरै तयारै थियौं । त्यतिखेरको प्रतिपक्षमा रहेको नेपाली कांग्रेस पनि यो पास गर्नुपर्छ, यसलाई रोक्नुहुँदैन भन्नेमै थियो ।

तैपनि पास नगर्नुको कारण के त ?

राजनीतिक कारणले अलिकति अविश्वास बढ्यो । मूल विधेयक पास गरिसकेपछि अविश्वासको प्रस्ताव पेश भयो । असिवश्वासको प्रस्ताव पेश भएका बेलामा अविश्वासको मात्रा बढ्यो ।

यात त्यो विधेयक पास गरेर मात्रै अविश्वासको प्रस्ताव पास गरेको भए पनि हुन्थ्यो । या विनियोजन विधेयकै पास नगरी त्योभन्दा पहिले अविश्वासको प्रस्ताव ल्याएको भए पनि हुन्थ्यो ।

अब मैले एकदमै तयारी गरेको छु । ती विधेयक छिटै पास गरिन्छ । पहिले पेश भएकोमा कुनै तात्विक अन्तर हुँदैन । यो समग्र बजेटको अंशियार हामी पनि हौं । हामी सरकारमै भएको हुनाले त्यतिबेला बजेट बनाउँदाखेरि त हामी पनि सहभागी छौं नि । त्यसकारण हामी यो विधेयक छिटोभन्दा छिटो संसदमा पेश गर्ने तयारीमा छौं ।

यो बजेट अघिल्लो सरकारले बनाएको हो । अहिले नयाँ सरकारका नयाँ प्राथमिकता होलान् । तपाईहरुका पनि त केही महात्वाकांक्षी योगजनाहरु होलान् नि ? यसका लागि यही बजेटबाट सम्भव होला ?

हामी अर्थमन्त्रीमा भएर आएको केही हप्ता भयो । म अर्थमन्त्रालयमा पनि बुझ्दै छु । मन्त्री बनेको लगत्तै चीन भ्रमण र त्यसपछि सार्क भ्रमणमा जानुपर्ने भयो । फर्केपछि अब म काम सुरु गर्छु ।

तर, मैले प्रारम्भिक रुपमा के देखें भने अहिले चाहिँ बजेटको समस्या हैन । राज्य संकलनमा समस्या छैन । पैसा छ तर खर्च हुँदैन । हामीले विनियोजित गरेको जति पनि रकम छ, त्यसलाई ठीक ढंगले खर्चमात्रै गर्न सकियो भने पनि हुन्छ । अहिले २५/३० वटा मन्त्रालय छन्, ती मन्त्रालयमा विनियोजित भएका पैसाहरु समयमै खर्च गर्नुपर्छ । गत वर्ष ५६ प्रतिशतमात्रै खर्च भयो, बाँकी पैसा त त्यसै बस्यो । असारको मसान्तमा खर्च गर्नुपर्ने विषयलाई मात्रै करेक्सन गर्न सकियो भने अर्थमन्त्रालय सफल हुन्छ अहिलेलाई । अहिले धेरै नसोचौं ।

म त्यो कसरी गर्ने होला भनेर सल्लाह गर्न खोज्दैछु साथीहरुसँग । परामर्श लिँदैछु । पूर्वअर्थमन्त्रीहरुसँग परामर्श लिँदैछु । पूर्वअर्थसचिवहरुसँग परामर्श लिँदैछु । अर्थ मन्त्रालयमा हाम्रो परिवारसँग पनि परामर्श लिँदैछु ।

अब बजेटको आकार बनिसक्यो, तर हामी अलिकति विकासका कुराहरुलाई पनि लिएर बजेटको विषयमा नयाँ ढंगले सोच्छौं । नेपाली कांग्रेस सरकारमा छ, अरु पार्टीहरुसँग पनि, म त भन्छु, नेकपा एमालेसँग पनि परामर्श गरेर हामीले अलिकति परिमार्जन गर्ने अथवा अलिकति पुरक ढंगले बजेट ल्याउने कोशिसचाँहि हाम्रो हुन्छ । तर, यसको अर्थ विगतको विरोध हैन, त्यसलाई एकदम प्रभावकारी ढुंगले कार्यान्वयन हुन्छ ।

केपी ओलीले रेलदेखि तेलसम्म सपना बाँडेका थिए, तपाईहरु अब के गर्नुहुन्छ ? ओलीको सपना च्यालेञ्ज हो कि अवसर ?

च्यालेञ्ज त नेपालमा छँदैछ । राजनीतिमा पनि चुनौति छ, आर्थिक सम्वृद्धिको दृष्टिकोणमा पनि चुनौती छ । तर, हामीले महत्वाकांक्षा त राख्नुपर्छ, तर महत्वाकांक्षा हावामा राख्नुहुँदैन । अब्जेटिभ भएर राख्नुपर्छ ।

जे गर्न सकिन्छ, त्यो गर्नुपर्छ । जे हुन सक्ने हो, त्यो गर्नुपर्छ । मैले भनें नि पैसा छ तर खर्च गर्न सकिँदैन, यो गर्न सकिने काम हो । त्यतिमात्रै गरे पनि उपलब्धि हुन्छ । जस्तो-तपाईले आर्थिक सम्वृद्धिको निमित्त पैसा खर्च गर्नुभयो भने पूँजी वृद्धि हुन्छ । पुजीँवृद्धि भयो भने अर्थतन्त्र बलियो हुन्छ । यताबाट घुम्छ नि यसको सर्कल त । पैसाचाँहि कोठामा या हाम्रो गाउँघरमा चलन छ नि, घरको छानामा राखेजस्तो ।

बाकसभित्र ताल्चा लगाएर पुँजीवृद्धि हुँदैन । तपाईले लगानी गर्नुभयो भने न पुँजीवृद्धि हुन्छ । पुँजीले त पुँजी उत्पादन गर्छ नि । खर्च पनि त्यस्तै हो । खर्च गर्न सक्नुभो, पुँजीको वृद्धि हुन्छ र अर्थतन्त्र पनि मजबुद पार्छ । यसबाट ठुल्ठुला कामहरु गर्न पनि सम्भव हुन्छ । यो दिशातिर सोच्ने हो भने अहिले वस्तुगत भएर सोच्नुपर्छ ।

विगतमा ओलीजीका कतिपय कुराहरु असम्भव नभनौं, तर अहिले हुने काम होइन । तर, केही कुराहरु हामीले सपना पनि बाँड्नुपर्छ । सपना पनि दिनुपर्छ । त्यो सपना १० वर्षपछि पूरा होला ।

तपाईलाई मैले एउटा उदाहरण दिऔं, मैले सुरुमा सञ्चारमन्त्री हुँदा हात-हातमा मोबाइल, घरघरमा इन्टरनेट भनेर नारा दिएँ । धेरैमान्छेले यो हावादारी कुरा भयो भने । पोहोर साल चुनावमा जाँदाखेरि बाग्लुङका एकजना नचिनेका मान्छेले फोन गरेर भन्नुभयो, तपाईले ल्याएको नारा शुरुमा हावादारी हो भन्थें, तर नारा सही रहेछ । पहिले उहाँको घरमा एउटा पनि मोबाइल थिएन, अहिले छोरीको हाममा मोबाइल, बुहारीको हातमा मोबाइल । ६ /७ वटा मोबाइल त मेरो घरमा मात्रै छन् भन्नुभयो उहाँले ।

अब २० वर्षपछि इन्टरनेट पनि घरघरमा हुन्छ । अहिले त हात हातमा इन्टरनेट भइसक्यो नि । त्यसकारणले अर्थतन्त्रमा पनि सपना त बाँड्नुपर्छ । तर, अहिले सम्भवबाट सुरु गरेर हामी त्यो लक्षमा पुग्नुपर्छ भनेर भोलि हुन सक्ने सम्भावनालाई संकेत गर्न सकिन्छ । तर, तपाईले यसलाई चुनौती ठान्नुहुँदैन । चुनौतीका रुपमा होइन, यसलाई सम्भावनाका रुपमा लिँदै अगाडि बढ्नुपर्छ ।

अहिले नै गर्न सक्ने काम गर्छु भन्नुभयो, यो भनेको अब विकास खर्च बढाउनुहुन्छ ? समयमै बजेट आएको छ, कृष्णबहादुर महरा अर्थमन्त्री हुँदाखेरि मान्छेले ठ्याक्कै बुझ्नेगरी विकास खर्च चाँहि बढाउने हो ?

हो एकदमै ठीक संकेत गर्नुभयो । अहिले मैले अरु के गर्न सक्छु, त्योचाहिँ सोच्छु । केही नीतिगत प्रश्नहरु, केही मोडेलका योजनाहरुका विषयमा हामी सोच्छौं । तर, एउटा काम, जुन चुनौतिपूर्ण छ, विकास खर्च नहुने सम्भावना । यसलाई ५६ प्रतिशतबाट १ सय नपुग्ला तर, अगाडि बढाइन्छ ।

यसका लागि के मेकानिज्म बनाउँदा हुन्छ, त्यो गरिन्छ । जस्तो-शक्तिशाली अनुगमन टीम बनाएर हुन्छ कि ? उहिले-उहिले पञ्चायतकालमा दौडाहा टोली जानेवित्तिकै थरथर हुन्थे नि । फिल्डमा काम गर्ने साथीहरुले किन काम गरेनन् ? टाइममा ठेक्का खोलिदिने, टेण्डर खोल्ने काम टाइममा गर्ने । कमसेकम माघ-फागुनमा ५०/६० प्रतिशतमात्रै रिजल्ट निकाल्न सकियो भने असारमा बाँकी काम हुन सक्छ । यो कामका निमित्त म गम्भीरतापूर्वक सोचिरहेको छ । यसबारेमा ठोस कार्ययोजना बनिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment