Comments Add Comment

कांग्रेसका सयौं बेरोजगार ‘होलटाइमर’ युवाले मागे नयाँ काम

काम गर्ने युवालाई बेरोजगार बनाएर बुढा नेताले पद ओगटेको आरोप

Congress-Youth-Leader

१६ भदौ,काठमाडौं । कांग्रेसमा बेरोजगार बनेका पाँच सय युवा कार्यकर्ताहरुले जिम्मेवारी माग्दै नेतृत्वलाई दबाब दिन शुरु गरेका छन् । नेविसंघबाट बिदा भएका र तरुण दलबाट बिदा हुने अवस्थामा पुगेका समेत जोड्दा बेरोजगार पूर्णकालीन कार्यकर्ताको संख्या एक हजार नाघ्ने भएको छ ।

बागबजारको हार्दिक होटलमा बुधवार भेला आयोजना गरेर नेतृत्वलाई ध्यानाकर्षण गराउने निश्कर्षमा पुगेका कांग्रेसका युवा नेताहरुले पार्टीका शीर्ष नेताहरुलाई समेत भेटेर दबाब दिन थालेका छन् ।

नेविसंघ महाधिवेशन गराएका तर प्रतिस्पर्धा गर्न नपाएका तत्कालिन केन्द्रीय सदस्य तथा अन्य नेताहरुले तरुण दलको महाधिवेशनमा स्वतः प्रतिनिधि बन्न पाउनुपर्ने माग समेत गरेका छन् । नेविसंघबाट बाहिरिनु परेका महिला कार्यकर्ताले महिला संघमा समेत दावी गरेका छन् ।

प्रतिस्पर्धामा भाग लिन नपाएका र बिभिन्न कारणले जिम्मेवारी बिहीन रहेका ५ सय बेरोजगार युवा कार्यकर्ताको पार्टीले व्यवस्थापन गर्नुपर्ने माग आफूहरुले राखेको नेविसंघका निवर्तमान प्रवक्ता युपी लामिछानेले बताए । उनले तरुण दलमा जान इच्छुकलाई त्यहाँ प्रतिनिधि बनाउनुपर्ने बताए ।

नेविसंघबाट बाहिरिएकालाई स्वतः तरुण दलको महाधिवेशन प्रतिनिधि बनाउन माग आए पनि यसबारे निर्णय नभएको तरुण दल निर्देशक समिति सदस्य कांग्रेस नेतृ सरिता प्रसाइले बताइन् । नेविसंघबाट बाहिरिएकालाई स्वतः तरुण दलमा प्रतिनिधि बनाउन तरुण दलका नेताहरु इच्छुक छैनन् ।

नेविसंघको महाधिवेशन समेत हारेका नेता कार्यकर्ताहरुको संख्या जोड्दा बेरोजगार पूर्णकालीन कार्यकर्ता एक हजार नाघि सकेको नेविसंघको भेलामा चर्चा चल्यो । पार्टीमा योगदान गर्ने योग्यता क्षमता र उमेर भएका कार्यकर्तालाई बेरोजगार बनाएर बुढा नेताले नेतृत्व ओगटेको भन्दै उनीहरुले आलोचना गरेका छन् ।

नेविसंघका पूर्व अध्यक्ष तथा पदाधिकारीहरु रन्जित कर्ण, ऋषिकेश जंग शाह, रामकृष्ण चित्रकार, भुपेन्द्र विक्रम शाही, प्रमोदहरी गुरागाई, दीपक अधिकारी, प्रतिमा गौतम लगायतले यो अभिायनको नेतृत्व गरेका छन् ।

उनीहरुले एमालेको उदाहरण दिदै कार्यकर्ता व्यवस्थापन गर्न नेतृत्वलाई सुझाव दिएका छन् । ‘एमालेमा अखिल, युवा संघमा हारेका र चुनाव नलडेकालाई पार्टीका बिभिन्न कमिटी र बिभागहरुमा जिम्मेवारी दिइन्छ तर हाम्रोमा बुढा नेताले ओगटेका छन्’ नेविसंघका एक पूर्व पदाधिकारीले बताए ।

नेविसंघको प्रतिस्पर्धामा भाग लिन नपाएका र जिम्मेवारी विहीनहरुलाई पार्टीका बिभिन्न बिभागहरु गठनमा प्राथमिकता दिन माग गरिएको लामिछानेले बताए । त्यस्तै तरुण दलमा प्रतिनिधि बनाउन रन्जित कर्णले नेविसंघ महाधिवेशनअघिनै नेतृत्वलाई आग्रह गरेको उनले बताए ।

नेताहरुले आश्वासन दिए पनि कसरी व्यवस्थापन गर्ने भन्ने नीति र योजनानै नरहेकाले युवा कार्यकर्ताले संगठित रुपमा दबाब दिन थालेको नेविसंघका पूर्व उपाध्यक्ष दीपक अधिकारीले बताए । लगत्तै हुन लागेका तीन तहका चुनावलाई ध्यान दिएर बेरोजगार पूर्णकालिन कार्यकर्तालाई जिम्मेवारी दिनुपर्ने माग आफूहरुले गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment