Comments Add Comment

एमालेले भन्यो- ओली आफ्नै खर्चमा उपचार गर्न गएका हुन्

अध्यक्षको उपचार निजी स्रोतबाट, व्यवस्थापन पार्टीकोः कृष्णगोपाल श्रेष्ठ

KP-Sharma-Oli, Chairman of UML

१९ भदौ, काठमाडौं । पूर्वराष्ट्रपतिलाई सरकारले उपचार खर्च दिएको विषयमा बहस भइरहेका बेला निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निजी खर्चमा नियमित स्वास्थ्य जाँचका लागि थाइल्याण्ड गएको नेकपा एमालेले प्रष्ट पारेको छ ।

पूर्वप्रधानमन्त्री ओली राज्यको खर्चमा उपचार गर्न विदेश गएको भनी प्रचार भएपछि एमालेले ओलीले राज्य कोषबाट एक पैसा पनि नलिएको दाबी गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले ओली पार्टीको व्यवस्थापन र निजी स्रोतबाट उपचार गर्न गएको बताए । श्रेष्ठले भने-अहिले जसरी हल्ला गरेर ओलीले राज्य कोषबाट उपचार खर्च लिएर गए भनिएको छ, त्यो झूठो हो, सबै व्यवस्थापन पार्टीले उहाँको निजी स्रोतबाट गरेको हो ।

एमालेले राज्य कोषबाट उपचार खर्च लिएको भए सार्वजनिक गर्नसमेत सम्बन्धित निकायहरुलाई चुनौति दिएको छ । यसअघि प्रधानमन्त्री बन्नुभन्दा पहिले सिकिस्त बिरामी परेका बेलामा भने तत्कालीन सरकारले उपचार खर्च सहयोग गरेको श्रेष्ठले बताए ।

नौ महिना प्रधानमन्त्री रहुञ्जेल नियमित स्वास्थ्य जाँचका लागि समय नभएको र धपेडीमा समेत परेकाले दुई साता बिदा मनाउन पत्नी राधिका शाक्यसहित ओली थाइल्याण्ड गएको एमालेले जनाएको छ ।

‘हाम्रोमा नेताहरुको निजी जीवन नै हुँदैन । नेताले बिदा मनाउने प्रचलन पनि छैन, ओलीले यो समयलाई निजी बिदा मनाउने रुपमा प्रयोग गर्नुभएको हो,’ श्रेष्ठले भने ‘उपचारको फलोअप पनि हुने, अफ्रो एशियाली संगठनको भेलामा सहभागी हुने र बिदा मनाउने ढंगले उहाँ जानुभएको हो ।’

पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य र एमाले पोलिटब्यूरो सदस्य विष्णु रिमालसहित बैंकक गएका अध्यक्ष ओली सोमवार स्वदेश र्फकँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment