Comments Add Comment

ओलीको दस्तावेजः संविधान संशोधन र सीमांकन हेरफेर गर्न नदिने

मधेसी मोर्चा र माओवादीविरुद्ध भण्डाफोर अभियान चलाउने प्रस्ताव

Kp-oli

४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन तयार पारेका छन् । प्रतिवेदनमा संविधान संशोधन गर्न नदिने र उनकै शब्दमा ‘अतिवादीहरु’सँग सम्झौता नगर्ने उल्लेख छ ।

संविधान संशोधनका लागि मधेसी मोर्चाले राख्दै आएका मागहरुप्रति विगतको भन्दा कडारुपमा प्रस्तुत हुँदै पूर्वप्रधानमन्त्री ओलीले आफ्नो प्रतिवेदनमा लेखेका छन्- ‘संविधान गतिशील दस्ताबेज भएको र देश र जनताका हितमा आवश्यक पर्दा संशोधन गर्न सकिने भए पनि बिना औचित्य संविधान संशोधन हुन नसक्ने कुरा स्पष्ट छ ।’

बुधबारदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्न लागिएको ओलीको दस्तावेजमा अगाडि भनिएको छ- ‘जो कसैले दलगत/व्यक्तिगत स्वार्थ पूर्तिका लागि गरिएका संविधान संशोधनका वाचाहरु पूरा गर्न एमाले सहयोगी बन्न नसक्ने कुरा पनि हामी स्पष्ट पार्न चाहन्छौं ।’

संविधान संशोधन एवं सीमांकन हेरफेरबा नाममा द्वन्द्व चर्काउन लागिएको ओलीको आरोप छ । यसबारे आपत्ति जनाउँदै ओलीको प्रतिवेदनमा भनिएको छ- ‘यसबीचमा मत्थर भइसकेका सामाजिक द्वन्द्व र विद्वेषहरुलाई पुनः चर्काउने प्रयत्न सुरु भएका छन् । सीमाङ्कन हेरफेरका नाममा सामान्य बन्दै गएको समाजलाई फेरि द्वन्द्वतिर धकेल्ने, किनारा लागिसकेका अतिवादी सोचहरुलाई पुनः दुरुत्साहन गर्ने र सामाजिक ध्रुवीकरणलाई बढावा दिने प्रयाशहरु सुरु भएका छन् ।’

एमाले अध्यक्ष ओलीले पार्टीको आगामी भूमिकाबारे व्याख्या गर्दै भनेका छन्- ‘संविधानको रक्षा र कार्यान्वयन तथा निर्धारित समयमै निर्वाचनका लागि पार्टीले संसदभित्र र बाहिरबाट निरन्तर खबरदारी गरिरहनेछ ।’

ओलीले तयार पारेको यो दस्तावेजमाथि बुधबारदेखि बस्ने केन्द्रीय कमिटीको बैठकले छलफल गर्नेछ । र, यो दस्तावेज यहीरुपमा पारित भयो भने सत्तापक्षले गर्न खोजेको संविधान संशोधन र सीमांक हेरफेरको तयारी धरापमा पर्न सक्छ ।

भारत र चीनवीच तुलना हुन सक्दैन

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आफ्नो प्रतिवेदनमा प्रचण्डको भारत भ्रमणले छिमेकीसँगको सम्बन्ध असन्तुलित बनाउन खोजेको आरोप लगाएका छन् । उनले छिमेकीसँग मित्रवत व्यवहार गर्ने दस्तावेजमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे समीक्षा गर्दै ओलीको दस्तावेजमा भनिएको छ- ‘प्रधानमन्त्री दहालको भारत भ्रमणका क्रममा नेपालको संविधानका सन्दर्भमा भारतको अनुचित दृष्टिकोणलाई संयुक्त वक्तव्यमा स्थान दिएर प्रकारान्तरले सहमति जनाउने र प्रमुख अन्तर्राष्ट्रिय मामलामा संयुक्त अवधारणा बनाउने प्रतिवद्धता जाहेर गरेर नेपालको वाहृय सम्बन्धलाई असन्तुलित बनाउने दहालको कदमको गम्भीर विवेचना गरिनुपर्छ ।’

ओलीले भारत र चीनवीच तुलना गर्न नमिल्ने उल्लेख गर्दै दस्तावेजमा भनेका छन्- ‘स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियतले सबै मित्र राष्ट्रहरुसँग र विशेष गरी छिमेकीहरुसँग असल सम्बन्ध राख्नु नेपालको अधिकार मात्रै होइन, आवश्यकता पनि हो । नेपाल- भारत र नेपाल-चीन सम्बन्धका आˆनै विशेषताहरु छन् र ती एकापसमा तुलना गर्ने विषय होइनन् ।’

एमाले सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरु प्रचण्ड सरकारले उल्टाएको भन्दै ओलीले आपत्ति जनाएका छन् । उनको दस्तावेजमा भनिएको छ- ‘पूर्ववर्ती सरकारको कार्यकालमा सहमतिमा गरिएका नीतिहरु उल्ट्याउने, निर्णयहरु बदर गर्ने र नियुक्तिहरु खारेज गर्ने क्रम सुरु भएको छ । संविधान कार्यान्वयन कार्ययोजना परिवर्तन गरिएको छ । स्थानीय तह पुनर्संरचना आयोगका काममा वाधा पुर्‍याउने काम भइरहेको छ । संसदीय सुनुवाइ समितिमा विचाराधीन राजदूतहरुको नियुक्ति संसदीय अभ्यासलाई समेत चुनौती दिँदै बदर गरिएको छ । यी सबै कामहरु राजनीतिक धु्रवीकरणलाई बढावा दिने, द्वन्द्व बढाउने र नेकपा एमालेलाई कमजोर पार्ने उद्देश्यतिर लक्षित छन् ।’

‘प्रचण्डलाई प्रधानमन्त्री बनाउन लागेको थिएँ’

एमाले अध्यक्ष ओलीले आफ्नो दस्तावेजमा आफ्नो सरकारले गरेका काम र सरकार ढाद्यन माओवादीबाट गरिएको प्रयासबारे लामो व्याख्या गरेका छन् ।

सुरुमा वामदेव गौतम लगायतको प्रयासबाट ९ बुँदे समझदारी गराएर माओवादीलाई कन्भिन्स गरेको भए पनि पछि यसले सरकार ढालेको ओलीको विश्लेषण छ । तर, एमालेको कमजोरीले सरकार ढलेको कुनै पनि हालतमा होइन भन्दै ओलीले बाह्य योजनामा एमालेलाई घेराबन्दी गर्नका लागि सरकार ढालिएको दाबी गरेका छन् ।

अन्तिम घडीमा आफूले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गर्दागर्दै उनी कांग्रेसतिर मिल्न गएको ओलीले समीक्षा गरेका छन् । एमालेसँग मिलेर अघि बढ्दा एमालेको लोपि्रयताबाट छायाँमा परिने प्रचण्डलाई डर देखाएर प्रतिक्रियावादी शक्तिले भय दोहन गरेको ओलीको विश्लेषण छ । उनले प्रतिवेदनमा भनेका छन्- ‘हामी स्पष्ट हुनुपर्छ, हाम्रा कमजोरीका कारण सरकार परिवर्तन भएको हुँदै होइन ।’

एमालेले केही गरेर देखाउनका लागि प्रधानमन्त्री पद लिएको ओलीले बताएका छन् । माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई प्रस्ताव गरेर एमालेलाई सत्ताबाहिर पार्न खोजेको भन्दै ओलीले त्यसलाई चिरेर राष्ट्रपति पनि एमालेले आफ्नो भागमा पारेको बताएका छन् ।

साथै आफ्नो सरकारले राम्रो काम गरेको, मधेसीको आन्दोलनलाई कमजोर पारेको र भारतीय नाकाबन्दीको सामना गर्न सफल भएको ओलीको समीक्षा छ ।

माधव नेपाल पक्षलाई थुम्थुम्याउने प्रयास

पार्टीभित्र गुटबन्दी भएको आरोप लगाउँदै आएको माधव नेपाल पक्षलाई ओलीले थुम्थुम्याउने प्रयास गरेका छन् ।

ओलीले दस्तावेजको अन्त्यतिर ‘कतिपय कमीकमजोरी भए होलान्’ भन्दै लेखेका छन्- ‘मैले व्यस्तता कारण कतिपय कमरेडहरुलाई समय दिन पाएको छैन, र सायद यसले पनि कतिपय कमरेडहरुलाई केही परेको हुन सक्छ । आगामी दिनमा यसमा ध्यान दिइनेछ र पर्याप्त परामर्श गरिनेछ ।’

माओवादीको भण्डाफोर गर्दै जनपरिचालन अभियान चलाइने

एमाले अध्यक्ष ओलीले ‘पार्टी सुदृढीकरण तथा जनपरिचालन अभियान-२०७३ सञ्चालन गर्ने प्रस्ताव गरेका छन् ।’ गाउँ र तराई मधेसमा विभिन्न कार्यक्रमहरु गर्ने उनको प्रस्ताव छ ।

आफूले ल्याएको बजेट कार्यान्वयनमा जोड दिने, माओवादीको भण्डाफोर गर्ने, चुनावको मिति तोक्न सरकारलाई दबाव दिने, पार्टी प्रवेश र घरफिर्ती अभियानलाई निरन्तरता दिने र देशका विभिन्न भागमा जनभेलाहरुको आयोजना गर्ने लगायतका कार्यक्रमहरु प्रस्ताव गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment