Comments Add Comment

साँचो हराएको एउटा दराजः जुन ८२ वर्षदेखि बन्द छ !

'भुत कोठा' र रहस्यको दराज खोल्न चाहियो मन्त्रीको निर्णय

daraj harayeko_england (2)६ असोज, काठमाडौं । लण्डनमा एउटा यस्तो दराज छ, जुन कम्तिमा ८० वर्षदेखि कसैले खोलेको छैन । जसलाई फोर्ने हिम्मत कहिलेसम्म कसैले गरेन । र, यो एउटा यस्तो दराज हो, जसलाई खोल्न नेपाल सरकारले नै निर्णय गर्नुपर्ने हुन्छ ।

यो दराज चानचुने होइन । लण्डनस्थित नेपाली दूतावास रहेको कम्तिमा १५० वर्ष पुरानो भवनको बेसमेन्टमा रहेको दराजको कुरा हो यो । दराज पनि काठको होइन, फलाम वा त्यस्तै कुनै बलियो धातुको हुनुपर्छ ।

फोर्न सरकारको निर्णय चाहिन्छ

केही समय पहिले अनलाइनखवरकर्मी बेलायत पुग्दा लण्डनको केसिङ्टन प्यालेस गार्डेनमा अवस्थित नेपाली दूतावासको भवनमा त्यहाँका कर्मचारीले यही दराज देखाए । उनीहरुले भने-यो दराज र नेपाली दूतावासको इतिहास उत्तिकै पुरानो छ ।

रहस्यको भाँडो बनेको यो दराजभित्र के छ त ? अहिलेसम्म कसैलाई थाहा छैन । खोलेर हर्ने हिम्मत पनि अहिलेसम्म कसैले गरेका छैनन् । यो दराज खोल्न वा फोर्न सरकारको निर्णय चाहिने कार्यवाहक राजदूत शरदराज आरणले बताए ।

आरणले भने-यो दराज खोल्नका लागि पहिलो कुरा त यसको चाबी नै छैन । धेरै गह्रौं भएकाले फुटाउनैपर्छ । त्यो पनि विज्ञहरुले मात्र सक्छन् । यसका लागि परराष्ट्र मन्त्रालयस्तरीय निर्णय चाहिन्छ ।

रहस्यको भाँडो

आरणभन्दा अघिका कार्यवाहक राजदूत तेजवहादुर क्षेत्रीले पनि यो दराज खोल्ने उपाय नखोजेका होइनन् । तर, फुटाउनै पर्ने भएपछि सरकारको निर्णय बिना कसैले जोखिम मोल्न नसक्ने उनले बताए । क्षेत्रीले भने- त्यो दराजभित्र के छ भन्ने कसैलाई थाहा छैन । अनुमानका आधारमा कसैले सुन हिराहरु छन् भन्छन्,कसैले गोप्य दस्ताबेजहरु छन् भनेका छन् । कसैले मान्छे मारेर राखेको हो कि भन्छन् । तर, यो रहस्यकै गर्भमा छ ।

banner3

उपहारको भवनः रहस्यको दराज

नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्ध स्थापना भएको सने १८१६ देखि हिसाब गर्दा २ सय वर्ष पुग्यो । तर, लण्डनमा नेपाली दूतावास भने सन् १९३४ मा स्थापना भएको हो ।

नेपाली दूतावास स्थापनाकालदेखि नै यही भवनमा रहँदै आएको छ । सन् १८६५ मा लण्डनका ठूला ब्यापारी तथा सांसद सामुयल मोर्ट पेटोका लागि बनाइएको यो भवन सन् १९३७ मा बेलायत सरकारले नेपाललाई उपहार दिएको थियो ।

गोर्खाली फौज मार्फत बेलायतलाई ठूलो गुन लगाए बापत उपहारमा प्राप्त भएको यो भवनमा राजदूत भएर जाने पहिलो नेपाली बहादुर समशेर जबरा थिए । त्यसयता २० जना राजदूत यही दूतावासमा बसे ।

फुटाउन किन सकिएन ?

यो दराजका बारेमा प्रायः सबै तत्कालीन राजदूतहरुलाई जानकारी भएर पनि कसैले खोल्न भने सकेनन् । एकपटक प्रवल समशेर जबरा राजदूत भएका बेला सन् २००६ तिर फुटाउन खोज्दा ठूलो पैसा खर्च हुने देखिएपछि रोकिएको दूतावासका कर्मचारीहरुले बताए ।

खिया लागेको दराजमा तेजबहादुर क्षेत्री कार्यवाहक राजदूत भएका बेला सेतो रंग लगाइएको छ । दराज कुनै सन्दर्भमा फुटाउने वा ताला खोल्ने प्रयास भएको देखिन्छ । तर, नसकेर त्यतिकै छाडिएको अनुमान सहजै लगाउन सकिन्छ ।

दुई/चारजना मान्छेले बल लगाउँदा पनि यो दराज हल्लाउन सकिँदैन । यसको हृयाण्डिल भाँचिएको छ । दूतावासको बेसमेन्टमा रहेको यो दराजको साँचो कसले लग्यो होला, वा हरायो ? कसैसँग जवाफ छैन ।

हिरा मोति कि ऐतिहासिक लिखत ?

लण्डन दूतावासमा पुग्ने सबै राजदूतहरुले यसबारे चासो राख्छन् तर खुलाउनका लागि मन्त्रालयबाट निर्णय भने गराएका छैनन् । ‘कुनै बहुमूल्य सामान भए उहिल्यै फोरि सक्थे, केही नभएर चासो नदिएका होलान्’ दूतावास स्रोतले भन्यो ।

ambassy.
तस्वीरः डेलीमेल

यो दराजमा के होला ? हामीले लण्डन दूतावासका पुराना कर्मचारीदेखि बेलायतमा रहेका गोर्खाली सैनिकका पहिलो पुस्ताका व्यक्तिहरुलाई पनि सोध्यौं । तर, सबैका भिन्न-भिन्न अनुमान छन् ।
धेरैजसोले गर्ने अनुमान भनेको यो दराजमा राणा शासकले हिरा मोति जस्ता जवाहरतहरु लुकाएका हुन सक्छन् । त्योबेला नेपालमा नोटको विकास नभएकाले सम्पत्ति भनेकै गरगहना थिए ।

एउटाले लुकाएको गहना यसबीचमा सत्तापलट हुँदा लैजान नपाएकाले यही दराजभित्र रहेको हुन सक्ने अनुमान केहीको छ । यद्यपि गरगहना भए त्योबेलै जो राजदूत भए, उनैले फुटाएर लगिसक्नुपर्ने हो ।
राणाकालमा राजदूत भएर लण्डन बस्ने भनेको श्री ३ महाराजका अत्यन्त विश्वासपात्र र क श्रेणीका राणामात्रै हुने गर्थे । उनीहरुले यो दराजमा महत्वपूर्ण धन सम्पत्ति नै राखेको हुन सक्ने अनुमान यसकारण गरिएको हो ।

अर्काथरिको आशंका चाहिँ यो दराजमा दोस्रो विश्वयुद्धताका गोप्य र महत्वपूर्ण दस्ताबेज लुकाइएको हुन सक्ने भन्ने छ । त्यसबेला हिटलरको जर्मनीले बेलायतमाथि बमबारी गर्दा महत्वपूर्ण दस्ताबेज नष्ट नहुन् भनेर यस्तो दराजमा राखिएको हुन सक्ने अनुमान कतिपयको छ ।

लण्डनमै एकथरी यस्ता मान्छे पनि भेटिए, जो यो दराजभित्र भुत वा मान्छे मारेर राखिएको हुन सक्ने पनि अनुमान गर्छन् । यद्यपि यो अनुमान भने अपत्यारिलो छ । तर, दराजमा केही न केही छ भन्नेमा सबै सहमत छन् ।

दराजजस्तै ‘भुत कोठा’

यो दराजसँगै अर्को एउटा रहस्यमय कोठा पनि छ दूतावास भवनमा । त्यो कोठा पनि कसैले खोल्न सकेका छैनन् । ढोका कताबाट खोल्ने भन्ने पनि छैन । दराजजस्तै यो कोठा पनि खोल्ने हिम्मत कसैको छैन ।

कोठाको साँचो नहुनु र कतैबाट पनि निकास नहुनुले दूतावासभित्रको एउटा कोठासमेत भुत कोठाका रुपमा लिएर जो कोही त्यता छिर्न पनि डराउँछन् । ‘यो कोठाभित्र के छ भन्ने पनि थाहा छैन, यतातिर आउन पनि डर लाग्छ’ दूतावासका सहयोगी हरि थापाले भने ।

विश्वकै महँगो र भीआइपी ठाउँ

बेलायतस्थित नेपाली दूतावास रहेको ठाउँ विश्वकै सबैभन्दा महँगो हो । बेलायतका युवराजको केसिङटन प्यालेस र हेलिप्याड नेपाली दूतावासको ठीक पछाडिपट्ट छन् ।

नेपाली दूतावास रहेको क्षेत्रमा विश्वका सबैभन्दा धनाड्यभित्र पर्ने लक्ष्मी मित्तल लगायत ठूला-ठूला व्यवसायीहरुको आवास रहेको छ । नेपालले एकपटक यो दूतावास बेच्न सबै तयारी गरे पनि गोर्खाहरुको विरोधका कारण स्थगित भएको थियो ।

बेलायतस्थित नेपाली दूतावासमा बीसौं राजदूतका रुपमा परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाबहादुर क्षेत्री लण्डन जाँदैछन् । उनको पालामा भूत बसेको भनिएको दराज र कोठा फोर्न मन्त्रालयमा प्रस्ताव पठाउँछन् कि पठाउँदैनन् ? मन्त्रालयले निर्णय गरेमात्र यो रहस्यको भाँडो फुट्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment